Loading... आजः १३ बैशाख २०८१, बिहीबार

कोरोनामै एन्फामा तलब वृद्धि

काठमाडौं ।  कोरोना भाइस (कोभिड–१९) का कारण विश्वभरको खेलकुद गतिविधिमा धक्का लागेको छ। कोरोनाले ठप्प भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू भर्खर सुरु हुने क्रममा छन्।

कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण फुटबलका हस्ती देशको राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीको तलबभत्तामा समेत व्यापक कटौती गरिएको छ। खेलकुदसँगै अन्य क्षेत्रमा रोजगारीको अवसर गुमेको अवस्था छ। विश्व फुटबलमा राम्रो आम्दानी गरिरहेका क्लब र खेलाडी पनि आर्थिक हिसाबले मारका परेका छन्।

तर, अन्तर्राष्ट्रिय सफलताका हिसाबले शून्य बन्दै गएको नेपाली फुटबललाई कोरोनाले कत्ति पनि नछोएको भान भएको छ। कोरोना संक्रमणकैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाका कर्मचारी र खेलाडीको तलबभत्तामा वृद्धि गर्ने तयारी गरेको छ।

एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता वृद्धि गर्न लागेपछि महिला खेलाडीलाई पनि पुरुष खेलाडी सरह तलबभत्ता दिनुपर्ने माग उठेको छ। एन्फाले कर्मचारी र खेलाडीको तलबभत्ता बढाउन लागेकाले एन्फाअन्तर्गत महिला समितिले महिला फुटबल खेलाडीको सुविधा पनि पुरुष खेलाडी सरह हुनुपर्ने माग अगाडि सारेको छ।

एन्फाका सचिव एवं प्रवक्ता किरण राईले कर्मचारी र खेलाडीको तलबभत्तालगायत सुविधा बढाउने विषयमा एन्फा सचिवालयले गृहकार्य सुरु गरेको बताए। ‘एन्फा सचिवालयले कर्मचारी र खेलाडीको तलबभत्ता बढाउने तयारी गरेको हो। एन्फाको आर्थिक अवस्था र अन्य आयस्रोतलाई समेत मध्यनजर गरेर के कति बढाउने भन्ने निक्र्योल गर्दैछौं। यो विषय अहिले छलफलकै क्रममा छ। सचिवालयले गृहकार्य गरेर कार्यसमितिमा निर्णयका लागि लैजानेछ,’ राईले अन्नपूर्ण पोस्ट्सँग भने।

बाहिर आएजस्तो कर्मचारीको मात्र तलब बढ्ने भन्ने हल्ला निराधार भएको पनि राईले बताए। ‘तलब बढ्दा कर्मचारी, पुरुष र महिला खेलाडी सबैको बढ्ने हो। एन्फा महिला खेलाडीलाई पनि पुरुष खेलाडी सरहकै सुविधा दिने तयारीमा छ। तर अहिले नै सबै निर्णय गरिसकेको अवस्था भने होइन,’ राईले भने।

प्रवक्ता राईले कर्मचारीको तलब सुविधाका लागि ग्रेड र बेसिक तलब निर्धारण गर्ने काम भइरहेको पनि बताए। एन्फाले हाल सिनियर राष्ट्रिय पुरुष टोलीका खेलाडीलाई मासिक १५ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ। पुरुषको तुलनामा महिलाको तलब झन्डै आधाले कम छ। एन्फाले कर्मचारीको तलब र सुविधा भने मनोमानी ढंगले प्रदान गर्दै आइरहेको छ।