Loading... आजः ६ असार २०७८, आईतवार

ढुंगा, गिट्टी, बालुवाको तथ्य बुझौं, सत्य चिनौं- शान्ता चाैधरी

( निवर्तमान सांसद् शान्ता चौधरीसँगको वार्तामा आधारित )

ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोत निकाल्दा तराई मरुभूमि बन्छ भनेर अहिले अतिरञ्जित र तथ्यहिन विचार आइरहेको देख्छु । ढुंगा, गिट्टी, बालुवा तथा खानी उत्खनन् सम्बन्धी म विज्ञ होइन तर यो विषयसँग धेरै वर्षसँग गासिएको छु । त्यसैले यसको सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे म केही जानकार छु ।

 

ढुंगा, गिट्टी, बालुवा निकासी भनेको के हो भन्ने पहिले बुझ्नुपर्छ । ढुंगा, गिट्टी, बालुवा नेपालमा दुई तरिकाले संकलन गर्न सकिन्छ । एउटा तरिका हो– नदीनालाबाट संकलन गर्ने । दोस्रो तरिका हो खानीबाट उत्खनन् गर्ने । व्यवस्थित र वैज्ञानिक तरिकाले निकाल्ने हो भने नेपालका नदीनालाबाट वर्षेनी दशौं अर्ब रुपैयाँको ढुंगा, गिट्टी, बालुवा तथा माटो निकाल्न सकिन्छ ।

 

नेपाल पानीको धनी देश हो भनिन्छ । मेरो भनाई छ– नेपाल ढुंगा, गिट्टी, बालुवा र माटोमा पनि धनी छ । नेपालका नदीनालाबाट हरेक वर्ष बगेर जाने माटो बालुवाले बंगालको खाडीमा टापु सिर्जना हुन्छ । त्यति ठूलो परिमाणमा माटो बालुवा बगेर जान्छ । बगेर नगएका माटो बालुवा नेपालमै रहन्छ ।

 

 

वर्षा याममा नदीमा माटो, बालुवा, ढुंगा, गिट्टी थुप्रिनु प्राकृतिक प्रकृया हो । हरेक वर्ष थुप्रन्छ । त्यसको सदुपयोग गर्न हामीले सकेका छैनौं । सदुपयोग नगर्दा समस्या सिर्जना भएको छ ।

दस वर्ष अघि म प्रतिनिधि सभाको प्राकृतिक स्रोत समितिकी सभापति थिएँ । त्यसबेला हामीले ढुंगा, गिट्टी, बालुवा उत्खनन् बारे विस्तृत अध्ययन गरेका थियौं । व्यवस्थित रुपमा ढुंगा, गिट्टी, बालुवा झिक्नुपर्छ, अव्यवस्थित झिक्नु हुँदैन भनेर हामीले खानी सञ्चालनमा रोक लगाएका थियौं । हाम्रो भनाई थियो– व्यवस्थित रुपमा ढुंगा, गिट्टी, बालुवा झिक्ने हो भने त्यसबाट देशले अपार फाइदा पाउन सक्छ ।

 

 

अहिलेको समस्या के हो भने तराईमा राजमार्गको छेउछाउमा, पूल छेउछाउमा ढुंगा, गिट्टी, बालुवा निकाल्ने गरिन्छ । सरकारले तोकेको मापदण्ड मिचेर उत्खनन् गरिन्छ । जसले गर्दा वस्तीमा बाढी पस्छ, प्राकृतिक सन्तुलन खल्बलिन्छ । राजमार्ग छेउछाउबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नदिँदा पनि समस्या आउँछ । अहिले तराईका कैयन ठाउँका पुलको सतहसम्मै ढुंगा, गिट्टी, बालुवा भरिएको छ । सानो बाढी आउँदा पनि वस्ती र खेतीमा बाढी पस्छ ।

 

 

ढुंगा, गिट्टी, बालुवा निकाल्ने, निकासी गर्ने कुरा र तराईको मरुभूमिकरणको कुनै सम्बन्ध छैन । ढुंगा, गिट्टी, बालुवा मुख्य रुपमा चुरेको फेदबाट निकालिन्छ । चुरे भनेको कमलो पहाड हो । पृथ्वीको कान्छो पहाड पनि भनिन्छ यसलाई । चुरेबाट वर्षेनी ठूलो परिमाणमा ढुंगा, गिट्टी, बालुवा, माटो निस्कन्छ र तराईका नदीको सतहलाई माथि उठाइदिन्छ । सतह माथि उठेको नदीबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नदिँदा वस्ती र खेतीमा बाढी पस्ने गरेको छ ।

 

 

निश्चय पनि चुरेको संरक्षण मुख्य सरोकार हो । ढुंगा, गिट्टी, बालुवा निकाल्ने, निकासी गर्ने भन्नसाथ सारा चुरे मास्न लागेको जसरी अतिरञ्जित प्रचार गरिएको छ । भ्रम फैलाइँदै छ । अरु राजनीति सकिएपछि अहिले ढुंगा, गिट्टी, बालुवाको राजनीति थालिएको छ । पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले समेत भ्रामक प्रचार गरिरहनुभएको छ । उहाँहरु तथ्यमा उभिएर बोलिरहनुभएको छैन, राजनीति गरिरहनुभएको छ ।

 

 

नेपालले वर्षेनी दशौं अर्ब रुपैयाँको ढुंगा, गिट्टी, बालुवा निकासी गर्न सक्छ । अहिलेको प्राकृतिक सन्तुलनलाई कायम राखेरै निर्यात गर्न सकिन्छ । आम्दानीको यो स्रोतलाई किन उपयोग नगर्ने ? वातावरणको नाममा अतिरञ्जित हल्ला र भ्रम फैलाउँदा देशले धेरै क्षेत्रमा दुःख पाइरहेको छ । जस्तो कि वन पैदावारको कुरा गरौं । यो विषय अध्ययन गर्ने संसदीय समिति तथा उपसमितिमा पनि मैले काम गरेकी छु ।

 

 

नेपालमा अपार वन सम्पदा छ । नेपालले वर्षेनी अर्बाैं रुपैयाँको काठ निर्यात गर्न सक्छ । तर, वातावरण संरक्षणको नाममा यति अव्यवहारिक नीति बनाइएको छ कि नेपालको वनबाट काठ निकाल्न नसकिने भएको छ । नेपालमा अहिले विदेशबाट काठ आयात हुन थालेको देख्दा मेरो मन रुन्छ । भोलि हामीले ढुंगा, गिट्टी, बालुवा पनि आयात गर्ने दिन नआउला भन्न सकिन्न । वातावरण बिग्रन्छ, तराई मरुभूमि बन्छ जस्ता भ्रामक प्रचार गर्ने, भावनामा मानिसलाई बगाउने अनि देशको प्राकृतिक स्रोत प्रयोग गर्न नदिने प्रयास भइरहेको छ ।

 

 

ढुंगा, गिट्टी, बालुवा निकालिएन भने चाहिँ तराई मरुभूमि बन्ने अवस्था छ । राजमार्ग छेउछाउका दुईचार ठाउँलाई उदाहरण देखाएर हुँदैन । तराईका भित्री गाउँहरुमा पसौं, नदीको सतह उकासिएर विकराल समस्या आइसकेको छ । त्यहाँ तटबन्ध बनाइयो भने अर्काे वर्ष अरु ढुंगा, गिट्टी, बालुवा थुप्रिन्छ । वर्षेनी ढुंगा, गिट्टी, बालुवा नदीको सतहमा जम्मा हुँदा जति तटवन्ध बनाए पनि काम छैन । ढुंगा, गिट्टी, बालुवा निकालेर नदीको सतहलाई गहिरो पार्नैपर्ने हुन्छ । तराईका, खासगरी चुरेबाट निस्कने सयौं नदीनालाबाट ढुंगा, गिट्टी, बालुवा निकालिएन भने लाखौं मानिसले भविष्यमा दुःख पाउनेछन् । यही कारण तराईको मरुभूमिकरण हुनेछ ।

 

 

अहिले ढुंगा, गिट्टी, बालुवा निकाल्दा तराई मरुभूमि बन्छ भनेर प्रचार गरिरहनुभएका महानुभावहरुलाई म भन्छु– ढुंगा, गिट्टी, बालुवा निकालिएन भने चाहिँ मरुभूमि बन्छ । ढुंगा, गिट्टी, बालुवा निकाल्नमा गरिएको अव्यवहारिक कडाईका कारण अहिले निर्माण सामग्रीको मूल्य बढेको छ । व्यक्तिले बनाउने घर होस् या ठूला ठूलो विकास परियोजना होस्, लागत महंगो हुन थालेको छ । प्राकृतिक स्रोत चाहिँ थन्किएर बस्ने, देशले लाभ पनि नपाउने, महंगीको मार पनि झेल्नुपर्ने अवस्था छ । यो अवस्था सम्बोधन गर्न ढुंगा, गिट्टी, बालुवा उत्खनन्लाई अत्यन्त वैज्ञानिक र व्यवहारिक ढंगले व्यापक रुपमा गरिनु आवश्यक छ ।

 

 

हो, समस्या छ । निर्धारित मापदण्ड मिचेर ढुंगा, गिट्टी, बालुवा निकाल्ने गरेका छन् । अवैध उत्खनन् गर्ने गरेका छन् । ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने ठेकेदारहरु एउटाएउटा पार्टीको काखमा बसेका हुन्छन् । उनीहरुले सरकारलाई टेर्दैनन्, उनीहरुलाई खासखास नेताहरुको आशिर्वाद हुन्छ । नियम विपरित र मापदण्ड मिचेर उत्खनन् गर्दा विरोध भएको हो ।

 

 

सरकारले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने भनेको छ, यो अत्यन्तै राम्रो हो । यसको तथ्य बुझ्न म सबैसँग आग्रह गर्छु । अब नेपालले वन पैदावार पनि निर्यात गर्ने नीति लिनुपर्छ । वन पनि संरक्षण गर्ने र पैदावार पनि निर्यात गर्ने नीतिले नेपालको भलो गर्छ ।

 

 

ढुंगा, गिट्टी, बालुवालाई राजनीतिक हतियार नबनाउन, यसको व्यवहारिक र वैज्ञानिक पक्ष बुझ्न म सबैसँग आग्रह गर्छु ।


error: Content is protected !!