Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

आयुर्वेद औषधालय कालीकोटले थाल्योऔषधि उत्पादन

कालीकोट। जिल्ला आयुर्वेद औषधालय कालीकोटले आयुर्वेदिक औषधि उत्पादन गर्न थालेको छ ।औषधालयले जिल्लामा पाइने स्थानीय जडीबुटीबाट विभिन्न रोगप्रतिरोधी औषधि उत्पादन गर्न थालेको हो ।

 

जिल्लालाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ औषधि उत्पादन थालिएको औषधालयले जनाएको छ ।

 

बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको औषधालयका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बतए ।

 

‘स्थानीय तहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँगो मूल्यमा आयुर्वेदिक औषधि किन्न बाध्य कालीकोटवासीहरूको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ,’ उनले भने ‘हामीले स्थानीय जडीबुटीको प्रयोग गरेर नै आयुर्वेदिक औषधि उत्पादन गरेका हौँ ।’

 

अहिले औषधालयले गुर्जाे, अमला, काफलको बोक्रा, जामुनजस्ता स्थानीय जडीबुटीबाट दमका रोगीहरूलाई र कोरोनाका बिरामीहरूलाई लक्षित गरी औषधि उत्पादन भइसकेको वरिष्ठ वैद्य बताए ।

 

उनले भने, ‘उत्पादित औषधिमा कोभिड अस्पताल मान्मामा बिरामीले प्रयोगसमेत भइरहेको छ । जडीबुटीको प्रचुर सम्भावना रहेको कर्णालीमा यहीँको आयुर्वेद औषधि प्रयोगमा ल्याउनुपर्छ ।’

 

संघीय सरकारले स्थानीय जडीबुटीबाट औषधि उत्पादन गर्न केही बजेट पठाएपछि उत्पादन सुरु गरेको पाण्डेले बताए । यो वर्षबाट व्यवस्थित रूपमा आयुर्वेदिक औषधि उत्पादन गर्न थालिएको उनको भनाइ छ ।

 

औषधालयले अश्वगन्धा बनाउन अश्वगन्धालगायतको सम्मिश्रण गरी बनाउँछ भने, अमलाबाट आमलकी, हर्रो–बर्रो तथा अमला मिसाएर त्रिफला बनाउँदै आएको छ । यस्तै, हिम्वास्टक औषधि बनाउन हिङ, मरिच, सुठोलगायतका कच्चा पदार्थ मिसाइन्छ । अविपतिकरमा निशोथ, त्रिफला, तेजपत्ता, अलैँची र ल्वाङ मिसाउने गरिएको छ ।

 

कुरिलोबाट शतावरी तथा घोडमर्चा, गन्नाइनो, तुलसी, लेमन ग्रास, अलैँची, गुर्जो आदि मिसाएर अमृत पेय र देवदारु, धुदेलो, अर्डर तेल आदिबाट बेदनाशामक तेल बनाउने गरिएको छ ।

 

औषधालयले निम, चिराइतो आदिबाट पित्तहर तथा हर्रो, कालो नुन आदिबाट विरेचक र बेल, धाइँरोको फूल, ज्वानो, धनियाँ, जिरा आदिबाट विल्वपाक, तेजपत्ता, अलैँचीलगायतबाट सित्तोपलादि औषधि बनाउँदै आएको छ ।