Loading... आजः ८ बैशाख २०८१, शनिबार

माथिल्लो तामाकोसीको जलाशय खाली गराइदै

काठमाडौं, ५ असार । तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ ।पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो ।

 

कुनै पनि वेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो ।जस्तोसुकै बाढी आए पनि डेढ घण्टा तामाकोसीको बाँधले थेग्नसक्ने उहाँको भनाइ छ ।

 

उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानसक्ने भएकोले जलासय खाली गरिएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको छ ।

 

तामाकोसीको बाँधले ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिन्छ ।शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहयाक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको र जुनसुकै बेला फुट्नसक्ने जानकारी चिनियाँ अधिकारीहरुले गराएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

 

 

खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको छ । लप्ची नजिकै ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको र बाढी आउन सक्ने भनेर चिनियाँ पक्षले भनेकोले नदीतटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन सूचित गरिएको घिमिरेले बताउनुभयो ।बाढी आउन सक्ने नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले बताए । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तामाकोसी नदीको बहाव निरीक्षण गरिरहेको छ ।