Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

चमेरा पालिएको पुस्तकालय : पोर्चुगलबारे केही रोचक तथ्यहरु

काठमाडौं । पुस्तकालयमा पुस्तक लगायतका पाठ्यसामाग्रीहरु हुनुपर्ने हो । मुसाले किताब नष्ट गरिदिने डरका कारण बिरालो पनि पाल्न सकिएला । तर युरोपेली मुलुक पोर्चुगलको एउटा पुस्तकालयमा चाहिँ चमेरा पालिएको छ ।

युरोपको सबैभन्दा पुरानोमध्येको एक देश पोर्चुगलको स्थापना सन् ११२८ मा भएको हो । यो ऐतिहासिक मुलुकमा दर्जन बढी विश्व सम्पदा स्थलहरु रहेका छन् ।

इतिहासका चर्चित भौगोलिक अन्वेषक भास्को डि गामा, जसले भारत पत्ता लगाएका थिए, उनी पनि पोर्चुगलकै हुन् । पोर्चुगलको राजधानी लिस्वनमा भास्को डि गामा नामको एक पुल छ, त्यसलाई युरोपकै सबैभन्दा लामो पुल मानिन्छ । उक्त सामुद्रिक पुलको कूल लम्बाइ १७ किलोमिटर छ ।

पानीमुनि बनेको विश्वको सबैभन्दा ठूलो कृत्रिम पार्क पनि पोर्चुगलमै छ । जसको नाम ओशियन रिभाइबल अण्डर वाटर पार्क हो ।

विश्वको सबैभन्दा ठूलो अमलेट बनाउने विश्व रेकर्ड पनि पोर्चुगलकै नाममा छ । त्यहाँका एकजना शेफले सन् २०१२ मा विश्वको सबैभन्दा ठूलो अमलेट बनाएका थिए । त्यसको वजन ६ हजार ४ सय ६६ किलो थियो ।

पोर्चुगलको कोयंबरा विश्वविद्यालय विश्वकै पुराना विश्वविद्यालयमध्येको एक हो । यसको स्थापना सन् १२९० मा लिस्बन सहरमा भएको थियो । उक्त विश्वविद्यालयको पुस्तकालय निकै चर्चित र ऐतिहासिक छ ।

सो पुस्तकालय निकै अनौठो कारणले पनि चर्चित छ । उक्त पुस्तकालका भित्ताहरुमा सुन लेपन गरिएको छ । साथै पुस्तकहरुलाई धमिराबाट जोगाउनका लागि निकै अनौठो प्रयोग गरिएको छ । अर्थात् पुस्तकालयमा चमेरा पालन गरिएको छ । चमेराले पुस्तक नष्ट गरिदिने धमिरा खाइदिन्छन् । उक्त पुस्तकालयमा रहेका कतिपय किताबहरुमा सुनकै गाता रहेको छ ।

–एजेन्सी