Loading... आजः ६ असार २०७८, आईतवार

आवागमन नरोकिँदा संक्रमण भित्रियो

पर्सामा दैनिकरूपमा संक्रमितको संख्या बढी रहेको छ। दुई महिनाको शिशुदेखि ८६ वर्षसम्मका वृद्धवद्धामा कोरोना संक्रमण देखिएकाले समुदायस्तरमै संक्रमण फैलिएको हो कि भनेर स्थानीय चिन्तित बनेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायसँग क्रान्ति साहले गरेको कुराकानी :

पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको हो ?

पर्सामा दैनिकरूपमा संक्रमितको संख्या बढी देखिँदैमा समुदायस्तरमै संक्रमण फैलिसकेको अहिल्यै भन्न गाह्रो छ। हामीले गरेको परीक्षण कन्ट्याक्ट ट्रेसिङकै वरिपरि छ। त्यसले समुदायस्तरमा भन्दा पनि क्लस्टरमा संक्रमण फैलिएको भन्न सकिन्छ। समुदायमा मासट्रेसिङ गरे परीक्षणपछि मात्रै भन्न सकिन्छ। संक्रमण समूह–समूहमा पुगेको छ। एउटा उद्योगधन्दामा परीक्षण गर्दा त्यहाँका काम गर्ने कर्मचारीमा पोजिटिभ आयो। अस्पतालमा गर्दा त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीमा पोजिटिभ आयो। कुनै एउटा वडामा कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दा संक्रमितको घरपरिवार र छरछिमेकका व्यक्तिमा पोजिटिभ आयो। यसले संक्रमण समूहगत रूपमा फैलिएको छ। समुदायस्तरमा अझै पुगिनसकेको भन्न सकिन्छ।

हाल पर्सामा कोरोना संक्रमितको संख्या कति छ ?

साउन ३१ गते बिहानसम्म कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ।

उपचाररत संक्रमितको संख्या कति छ ?

वीरगन्जमा नारायणी अस्पतालको मातहत दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन्। गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन्। तीमध्ये १० जना आईसीयूमा छन्। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा १०३ जना संक्रमित भर्ना भएका छन्। तीमध्ये २६ जना आईसीयूमा छन्। नारायणी अस्पतालको आइसोलेसनमा पाँचजनाको उपचार भइरहेको छ। यसबाहेक वीरगन्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ। ३७४ जना संक्रमित भने होम आइसोलेसनमा छन्। संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन्। ३६ जना आईसीयूमा छन्। आईसीयूमा राखिएका बिरामीको त्यति धेरै जटिल अवस्था छैन। तर उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

उपचारका लागि बेड, भेन्टिलेटर, स्वास्थ्यकर्मीलगायतका पूर्वाधारको अवस्था कस्तो छ ?

संक्रमणको दर हेर्दा अवस्था जटिल छ। हामीसँग सञ्चालनमा रहेका एक सय ५० बेडको दुईवटा कोभिड अस्पतालका आइसोलेसन भरिभराउ छन्। दुवै कोभिड अस्पतालमा भएका ३६ वटा र नारायणी अस्पतालका पाँचवटा गरी ४१ आईसीयू बेड पनि खाली छैन। भएका १६ वटा भेन्टिलेटरमा पनि बिरामी छन्। त्यसैले अहिले हामीसँग अस्पतालमा संक्रमितलाई राख्ने बेड खाली छैन। आईसीयू र भेन्टिलेटर पनि भरिभराउ छन्। थप आईसीयू सञ्चालन गर्ने स्रोतसाधन हामीसँग छैन। बिरामीको उपचार गर्ने दक्ष जनशक्तिको पनि अभाव छ। पर्साका सरकारी र निजी अस्पतालका गरी एक सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भई आइसोलेसनमा छन्। प्रयोगशालामा पनि त्यस्तै चाप छ। महानगरले जनस्तरबाट रकम उठाएर पीसीआर मेसिन दिएपछि नारायणी अस्पतालको प्रयोगशालामा दैनिक पाँच सय हाराहारीमा नमुना परीक्षण हुन सक्छ। तर ल्याबमा आठजना मात्र कर्मचारी छन्। अतिन्यून जनशक्तिमा काम गरिरहेका छौं। जुन आवश्यकता र मागभन्दा एकदमै कम हो।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्नुको कारण के होला ?

कतिपय कारण हामीले पनि पत्ता लगाउन सकेका छैनौं। यो अनुसन्धान र अध्ययनको पाटो छ। एउटा कारण संक्रमणको लक्षण चाँडै बिग्रिएर जटिल अवस्थामा पुग्छ। सघन उपचार कक्षमा लग्नुपर्छ। सुरुमा यसको सामान्य लक्षण देखिन्छ तर बिरामीको अवस्था यति छिटै बिग्रन्छ कि आईसीयूमा लगेर राख्न नपाउँदै ज्यान गएको घटना पनि छन्। सुरुवाती दिनमा लक्षण नभएका बिरामी मात्र थिए। तर ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिने गरेको छ। त्यसकारण पछिल्लो समय यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको हो कि अथवा अलि कडा खालको भाइरस आएको हो कि भन्ने आंशंका छ। मृत्युको कारण कोरोना नभई अन्य दीर्घरोगले पनि भएको छ। मृत्युको कारणबारेमा अनुसन्धान र अध्ययन आवश्यक छ।

कुन उमेर, समूह र कस्तो अवस्थाका संक्रमितको बढी मृत्यु भइरहेको छ ?

पर्सामा कोरोनाको संक्रमण दुई महिनाको शिशुदेखि ८६ वर्षसम्मका वृद्धवद्धामा देखिएको छ। मृत्यु भएकाहरूको उमेरको कुरा गर्ने हो भने त्यो पनि फरक–फरक छ। सबै उमेर समूहको मृत्यु भएको छ। बालबालिका र वृद्धवृद्धाभन्दा बढी युवा उमेर समूहका मृत्यु भएको देखिन्छ। मृत्यु भएका २६ जनामा ६० प्रतिशत पुरुष छन् भने महिला ४० प्रतिशत छन्। दीर्घ रोग भएका जस्तै– मुटु, मधुमेह, उच्च रक्तचाप, थाइराइड, मिर्गौलाजस्ता बिरामीको बढी मृत्यु भएको छ।

मृत्युपछि मात्र संक्रमण पुष्टि हुने अवस्था किन आइरहेको छ ?

मृत्युपछि स्वाब परीक्षण गर्छौं र रिपोर्ट पोजेटिभ आउँछ। मृत्यु हुने कारण कोरोना मात्र नभई अन्य थुप्रै कारण हुन सक्छन्। तर ती कारणको हामीले अध्ययन र अनुसन्धान गर्न सकेका छैनौं। जब कुनै कोरोना शंकास्पद बिरामीको मृत्यु हुन्छ अनि हामीले स्वाब संकलन गरी जाँच गर्छौं। रिपोर्ट पोजिटिभ आएपछि कोरोनाले मरेको भन्छौं तर उसको मृत्यु कोरोनाले मात्र नभई अरू कुनै रोगका कारण पनि भएको हुन सक्छ। तर अरू रोगको जाँच न मृत्युअगाडि हुन्छ न मृत्युपछाडि नै हुन्छ।

संक्रमण न्यूनीकरणका लागि कस्तो कदम चाल्नुपर्ने देखिन्छ ?

संक्रमण न्यूनीकरणका लागि तीनचारवटा काम गरिहाल्नुपर्छ। पहिलो काम भारतसँग जोडिएको सीमा पूर्णरूपमा सिल गरेर मानिसको आवागमन ठप्पै पार्नुपर्छ। दोस्रो जनता स्वयं पनि सचेत बन्नुपर्छ अब। किनकि अझै पनि जनतामा केरोनाको डर देखिएको छैन। चैतदेखि असारसम्मको पहिलो फेजमा लक्षण नभएका बिरामी मात्रै देखिए। कसैको मृत्यु पनि भएन। जनताले कोरोनालाई हल्का रूपमा लिए। मास्क लगाउन छाडे। भौतिक दूरी पालना गरेनन्। सरसफाइमा पनि ध्यान दिएनन् र आज यो अवस्था आयो। त्यसैले जनता स्वंय पनि सचेत बन्नैपर्छ। अर्को चार महिनाको लकडाउनलाई तीन तहको सरकारले सदुपयोग गर्न सकेनन्। लकडाउनको अवधिमा पूर्वतयारी गरिएन। आइसोलेसन, क्वारेन्टाइनको व्यवस्थापन हुन सकेन। परीक्षणको दायरा बढाउन सकिएन। त्यसैले अब ढिला भइसकेको भए पनि यी काम गरिहाल्नुपर्छ अनि मात्र संक्रमण न्यूनीकरण हुन सक्छ नत्र अवस्था झन् भयावह हुने निश्चित छ।

अबका चुनौती केके हुन् ?

संक्रमितको संख्या दिनहँु बढ्ने क्रममा छ तर अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ छैन। थुप्रै संक्रमित घरकै होम आइसोलेसनमा छन्। आईसीयू र भेन्टिलेटरको अभाव छ। यो ठूलो चुनौती हो। स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित भइरहेका छन्। बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव छ। अस्पतालमा आवश्यक स्रोतसाधन पर्याप्त छैन। अब यसको व्यवस्थापन र पूर्ति कसले गर्ने ?

संघीय सरकारबाट कस्तो सहयोग र सहकार्य भइरहेको छ ?

नारायणी अस्पताल संंघीय सरकारमातहतकै हो। यहाँ काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी संघीय सरकारकै हुन्। चैतदेखि कोरोना महामारी सुरु भएपछि संघीय सरकारकै निर्देशन र सहयोगमा काम भइरहेको छ। संघीय सरकारबाट कामै नभएको पनि होइन तर जुन स्प्रिटले हुनुपर्ने हो त्यसअनुरुपको भइरहेको छैन। थप जनशक्ति माग गरिएको छ तर पठाइएको छैन। आवश्यक स्रोतसाधनका लागि पटकपटक अनुरोध गरेका छौं। त्यो पनि आएको छैन। संघीय सरकारबाट कामै नभएको होइन तर जुन आवश्यकता र रफ्तारमा सहयोग हुनुपर्ने हो, त्यो भएको छैन।

सुरुका दिनमा सीमित संख्यामा संक्रमित देखिँदा किन नियन्त्रणमा ल्याउन सकिएन ? यसमा कोबाट कस्तो त्रुटि भयो ?

भारतसंँग जोडिएको सीमा सिल छ भनेर भनियो तर नाकाबाट आवागमन भइ नै रह्यो। संक्रमण ल्याउने र लैजाने काम भयो। चार महिनाको लकडाउनलाई तीनै तहको सरकारले सदुपयोग गर्न सकेनन्। लकडाउनको अवधिमा पूर्वतयारी गरिएन। आइसोलेसन, क्वारेन्टाइनको व्यवस्थापनमा कसैको ध्यान जान सकेन। तीन तहका सरकारले एकले अर्कालाई आरोप र औंला देखाएर चार महिनाको लकडाउन खेर फाले। नागरिकले पनि कोरोनालाई हल्का रूपमा लिए सचेतता अपनाएनन्। त्यहीकारण सुरुमै संक्रमण नियन्त्रणमा आउन नसकेको हो।

कोरोना संक्रमित अस्पताल आएपछि भर्ना नलिएको भन्ने गुनासो सुनिन्छ नि ?

यो गुनासो केही हदसम्म जायज नै हो। वीरगन्जमा दुईवटा अस्थायी कोभिड अस्पताल छन्। ती दुवै अस्पताल संक्रमितले भरिभराउ छन्। अस्पतालको आइसोलेसन वार्डमा राख्ने ठाउँ नभएर प्यासेज र बरन्डामा बेड राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ। संक्रमितहरू दिनहँु थपिँदै गएका छन्। यस्तो अवस्थामा चाहेर पनि संक्रमितलाई राख्न सकिएको छैन। होम आइसोलेसनमा बस्न भनिएको छ। तीन दिनयता वीरगन्जका धर्मशाला, होटल, विद्यालयहरूमा सेमी–आइसोलेसन स्थापना गरिएको छ। ती सेमी–आइसोलेसन पनि भरिन थालेका छन्। दुईबाहेक अन्य निजी अस्पतालले कोभिड अस्पताल सञ्चालन गर्न मानेका छैनन्।

कोरोनाको बहानामा अन्य रोगका बिरामीले उपचार नपाएको भन्ने गुनासो सुनिन्छ त ?

कोरोनाको बहानामा अन्य रोगका बिरामीले पनि उपचार नपाएको गुनासो समाचार र सामाजिक सञ्जालमा आइरहेको छ। दुईवटा निजी अस्पतालमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिएको छ। त्यहाँ कोभिड संक्रमितबाहेक अरू रोगका बिरामीको उपचार गर्ने कुरै भएन। नारायणी अस्पताललाई पनि सरकारले कोभिड अस्पताल बनाइदिएको छ। तैपनि अहिले हामीले इमरजेन्सी सेवा जारी नै राखेका छौं। नारायणी अस्पतालका मात्रै ५१ जना स्वास्थ्यकर्मी आफैं पनि संक्रमित भएर आइसोलेसनमा छन्। जनशक्ति नै छैन। यस्तो अवस्थामा निजी अस्पतालले कोरोनाका बहानामा अन्य रोगका बिरामी पनि भर्ना नलिएको गुनासो आइरहेको छ। यो समस्या सामधानका लागि सरकारले नै ध्यान दिनुपर्छ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कत्तिको सहज छ ?

कन्ट्याक्ट ट्रेसिङको काम नारायणी अस्पतालको जिम्मेवारीभित्र पर्दैन। कन्ट्याक्ट ट्रेसिङको काम जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र सहयोगमा महानगरपालिकाले नै गर्ने हो। नारायणी अस्पतालले त संकलन गरी ल्याइएका स्वाब प्रयोगशालामा परीक्षण गरिदिने हो।

भारतसँग सिमाना जोडिएका कारण आवतजावतले समस्या बढाएको हो कि ?

एक हदसम्म हो। हामीले बोर्डर पूर्णरूपमा सिल गर्न सकेनौं। आवागमन रोक्न सकेनौं। आवागमन नरोकिँदा संक्रमण भित्रिएकै हो।

अन्नपुर्णबाट साभार ।


error: Content is protected !!