Loading... आजः १९ मंसिर २०७८, आईतवार

बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबाट दुई लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकार निर्णय

कालिकाेट– बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बिमाबाट दुई लाख रुपैयाँ कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बिमाबाट तत्तकाल दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारले प्रदेशका नागरिकको सामुहिक विपद् दुर्घटना बिमा गरेको छ । राहत स्वरुप तत्काल बिमाबाट रकम उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सिता कुमारी नेपालीले जानकारी दिइन ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।

यस्तै विपद्मा परी घाइते भएका व्यक्तिहरुको उपचार व्यहोर्ने पनि बैठकले निर्णय गरेको छ । विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने उनले बताइन ।

खेतीबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपुर्तीको व्यवस्था गर्ने, पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने, विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।


error: Content is protected !!