Loading... आजः १६ चैत्र २०८०, शुक्रबार

लिभरपुलको सुखद सुरुआत

लन्डन । मोहमद सलाहले ह्याट्रिक गरेको खेलमा साबिक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुलले नवप्रवेशी टोली लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो।

लिभरपुलको जितमा सलाहको ह्याट्रिकसँगै भर्जिल भान डिकले एक गोल गरे। लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक वामफोर्ड र माचेज क्लिचले गोल गरेका थिए। रोचक खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत खाता खोलेको थियो। चौथो मिनेटमा सलाहको प्रहारलाई डीबक्सभित्र लिड्सका रोबिन कक्कोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सलाहले सदुपयोग गरेका थिए।

त्यसपछि १२औं मिनेटमा लिड्सका ह्यारिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएको खेलको २०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाएका थिए। भान्डाइकले एन्ड्रयु रोबर्टसनको कर्नर पासमा हेड गोल गरेका थिए। ३०औं मिनेटमा भान डाइकले बचाउन नसकेको बलमा लिड्सका प्याट्रिक वामफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको ३३औं मिनेटमा सलाहले रिबाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए।

पहिलो हाफमा पछि परेको लिड्सले दोस्रो हाफको पुनः खेललाई बराबरीमा ल्याएको थियो। ६६औं मिनेटमा माचेज क्लिचले हेल्डर कोस्टाको पासमा बराबरी गोल गर्दै लिड्सको उत्साह जगाएका थिए। त्यसपछि ८७औं मिनेटमा लिभपुलले पेनाल्टीमार्फत निर्णायक गोल गरेको थियो। लिड्सका रोड्रिगो मोरेनोले डीबक्सभित्र फाबिन्होलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाहले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

सलाह यस सिजनको प्रिमियर लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी पनि बने। १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई खेलको अन्तिमसम्म कडा टक्कर दिए पनि हार टार्न भने सकेन। पहिलो जितसँगै तीन अंक बनाएको लिभरपुल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। समान तीन अंक बनाएको आर्सनल शीर्ष र न्युक्यासल युनाइटेड दोस्रो स्थानमा छ।

शनिबार साँझ भएको खेलमा आर्सनलले फुलहामलाई उसकै मैदानमा ३–० गोलले हरायो। एकपक्षीय खेलमा आर्सनललाई जिताउन अलेक्सान्द्रे लाकाजेट्टीले चौथो, ग्याब्रियलले ४९औं र कप्तान पिर्रे इमरिक ओवामियाङले ५७औं मिनेटमा गोल गरेका थिए।

अर्को खेलमा न्युक्यासलले वेस्टहाम युनाइटेडलाई उसैको मैदानमा २–० गोलले हरायो। न्युक्यासलको जितमा कलुम विल्सनले ५६औं र जेफ हेन्ड्रिकले ८७औं मिनेटमा गोल गरेका थिए। अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो। क्रिस्टलको कठिन जितमा विलफाइड जाहाले गोल गरेका। जाहाले १३औं मिनेटमा गरेको गोल नै टोलीका लागि पर्याप्त बनेको थियो।