Loading... आजः ४ बैशाख २०८१, मंगलवार
जनगणनाको क्रममा प्रदेश २ मा विवाद

भाषा,धर्म र जातिका विषयमा जथाभावि लेख्दा गणक लखेटिए

जनकपुर – देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ ।

सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको छ भने कतिपय ठाउँमा गणकहरू लखेटिएका छन् ।

सप्तरी, सिराहा र धनुषामा विशेष गरी स्थानीय गणकले कसैको बहकाउ वा दबाबमा आएर भाषा र धर्मका सवालमा तथ्याङ्क संकलन गर्दा नसोधिकनै लेख्ने गरेको आरोप छ । यस्तो आरोपमा दुई जना गणक कारबाहीमा परेका छन् भने एक जनालाई सचेत तुल्याइ छाडिएको प्रदेश २ जनगणना कार्यालयका प्रमुख विमलकुमार यादवले बताए ।

जनकपुरधाममा स्थानीयवासीले लखेटे गणकलाई

जनगणनाको क्रममा जनकपुरधाम उपमहानगरपालिकामा स्थानीयले गणकलाई लखेटेका छन् । जनगणनामा गणकले जात र धर्म नै उल्लेख नगरेको भन्दै जनकपुरधाम वडा नम्बर १३ स्थित रानीबजारमा स्थानीयले गणकलाई लखेटेका हुन् ।

फारममा धर्म उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका थिए । बिहीबार गणना गर्न पुगेको बेला उनले फारममा सबै उल्लेख गरे पनि जात र धर्म स्पस्ट उल्लेख नगरेपछि विवाद सुरु भएको थियो ।

गणक आलोक देव साहले समयाभावका कारण र आफू स्थानीय भएको हुनाले सबै कुरा थाहा भएकाले घरमै गएर जात र धर्म लेख्ने योजना बनाएको बताए । रानीबजारमा मुख्यगरी हिन्दु र मुस्लिम धर्मका मानिसको बस्ती छ । मुस्लिम र हिन्दु छुट्याउन आफूलाई समस्या नपर्ने हुनाले फारममा जात र धर्म नभरेको उनको भनाइ छ ।​ गणकले जात र धर्म उल्लेख नै नगरेपछि स्थानीयवासीले प्रहरीलाई बोलाएर यसबारे जानकारी गराएका थिए । तर प्रहरीले कुनै कारबाही नगरेको भन्दै स्थानीयवासीले गणकलाई नै लखेटेका थिए ।

जनगणना कार्यालय प्रदेश २ ले तालिम तथा अभिमुखीकरण दिएर क्षेत्रानुसार सुपरभाइजरको निगरानीमा गणकलाई खटाएको छ । तर पनि गणकले तालिममा लिएका सिपभन्दा भिन्न ढङ्गले तथ्यांक संकलन गर्दा विवादमा पर्दै आएका छन् ।

सप्तरीमा एक गणकले भाषाको सवालमा स्थानीयलाई नसोधि आफ्नै मनले जथाभावीमा चिन्ह लगाउँदा कारबाहीमा परेका थिए । त्यस्तै सिरहामा समेत एक गणकले भाषाको सवालमा नसोधिकनै अन्य भाषामा चिन्ह लगाएको प्रदेश २ प्रदेश जनगणना कार्यालयले फेला पारेपछि कारबाही गरेको थियो ।

धनुषाको बटेश्वर गाउँपालिकामा गणक कृष्णदेव महतोले आफूखुसी फारममा चिन्ह लगाएपछि सचेत गराउँदै छाडिएको छ । धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकामा गणकले धर्मको सवाल नसोधिकनै आफुखुसी चिह्न लगाएका थिए ।

प्रदेश २ प्रदेश जनगणना कार्यालयका प्रमुख विमलकुमार यादव सबै गणकलाई तालिम दिएको बताउँछन् । उनी भन्छन्, ‘केही गणकले कसैको दबाबमा आएर वा बहकाउमा लाग्दा यस्तो समस्या आएको हो ।’