नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई हराए
काठमाडाैँ-फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्यो ।
अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो । गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।
३५ औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।
७७ औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरी बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे ।
जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए । उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन् ।
नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
ई-कर्णाली खबर
१५ माघ २०७८, शनिबार १४:२०