Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

अतिसले छुटायो कालापहाड

जुम्ला । तीन बर्ष अघि सम्म जुम्ला तिला गाउँपालिका–७ का परबहादुर रोकाया निरन्तर कालापहाड जान्थे। उनी महिनौँ सम्म शरीर घोटेर पनि पचास हजार रुपैयाँ सम्म कमाई हुदैनथ्यो। त्यो कमाइले परिवार चलाउनै मुस्किल हुन्थ्यो। उल्टै ऋण गरेर गुजारा चलाउनु परिरहेको हुन्थ्यो। तर पछिल्लो समयमा व्यवसायिक रुपमा अतिस खेति गरेपछि उनको कालापहाडको यात्रा रोकिएको छ। उनी भन्छन्, ‘अतिस खेतीले कालापहाड छुटायो। रोजगारी दिएर आत्मनिर्भर हुन प्रोत्साहित ग¥यो।  अहिले घरमै परिवार संगै बसेर खेती गर्न व्यस्त भएको छु।’

तिला गाउँपालिका ७ पोखरी गाउँको धनिगाडमा एक हेक्टर क्षेत्रफलमा अतिस खेती गरेका छन्। अतिसको बीउ र जरा बेचेर वार्षिक तीन देखि चार लाख रुपैयाँ आम्दानी भइरहेको छ। उनी भन्छन्, ‘अतिस खेती गरेपछि पारिवारिक रुपमा समृद्धि छाएको छ। जरा र बीउ खरिदका लागि व्यापारी घरमै पुग्छन्। न बेच्नको लागि चिन्ता नत खेतिमा बढि नै दुख। यो व्यवसाय निकै फाइदाजनक छ। ’  गत बर्ष मात्रै तीन केजी बीउ बेचेको उनी बताउँछन्।

अतिसको बीउ प्रतिकेजी ५० हजार रुपैयाँ छ। जरा प्रतिकेजी एक हजार दुई सय रुपैयाँ सम्म। जंगलमा पाइने अतिस व्यवसायीक रुपमा खेती गर्न थालेपछि जीविकोपार्जनका लागि कसैसंग हारगुहार गर्नु नपरेको उनी बताउँछन्। उनी त्यो क्षेत्रको पहिलो जडिबुटी किसान हुन् ।अहिले अरुले पनि सिको गर्दै खेतिगर्न थालेका छन्। यो जडिबुटीमा रोग किरा लाग्दैन्, धेरै झंन्झटिलो पनि छैन्। परबहादुर भन्छन्,‘ जडिबुटीको संरक्षण पनि हुने र आयआर्जनमा समेत टेवा पुग्ने भएकोले व्यवसायीक रुपमा खेती गर्न थालिएको हो ।’

जडिबुटी खेतीबारे सुझाव सल्लाह लिनको लागि किसानहरु आउँछन्। कसैले अतिस खेतिका बारेमा चासो राख्छन्। कसैले बीउ किनेर लैजान्छन्। अतिस संरक्षणको तरिकाबारे जानकारी लिन्छन् ।गाउँकै मालिका सामुदायिक बनमा सामुहिक रुपमा अतिस खेती गरिएको छ। त्यो बीउ परबहादुरले उपलब्ध गराएका हुन् । उनले आगामी बर्षमा अतिसको जरा २० क्वीन्टल सम्म उत्पादन गर्ने लक्ष रहेको बताए। सिचाइँ र घेरबार नहुँदा संरक्षणमा समस्या छ, उनले भने, ‘बजार र मुल्यको कुनै समस्य नै छैन् ।’ अतिस नपाक्दै बीउको लागि माग आइरहेको छ।

पेस नेपालको सहयोगमा शुरु गरिएको अतिस खेती निकै फस्टाएको छ। बीउ र बजारको व्यवस्था समेत पेस नेपालले गरिदिन्थ्यो, उनले भने, ‘अहिले ब्यापारी घरमै पुग्छन्। फोनबाट बीउको माग गर्छन्। जरा राखिदिनको लागि पहिले पेस्की दिन आउँछन्। यहाँको पाटनमा पनि अतिस प्रयाप्त रुपमा पाइन्छ। तर नपाक्दै जरा निकाल्न थालेपछि लोप हुन थालेको छ। कालापहाड जाँदा जाँदा दिक्क भएका उनी विदेश जाने सोचमा थिए। तर अतिस खेतिले घरमै रोजगारी दियो। विदेश जान बाट रोक्यो। आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधि समेत हुने बताइएको छ।

अतिस पाटनमा जताततै देख्न सक्छौं। तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं। उनले भने,‘ जडिबुटीलाई गाईबस्तुको खानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं भने अर्काे तर्फ गुमेको तागत वा आलस्यता जस्ता समस्यालाई शरीरमा पालेर बसेका हुन्छौं। दाँत दुख्दा प्रयोग गर्ने औषधिको लागि हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छाैं। ’ रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि नै किन नहोस्। यो जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। तर, यसको प्रचुर मात्रामा प्रयोग हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् ।

नेपालको हिमालय क्षेत्रमा ३२०० देखि ३७०० मिटरसम्मको उचाईमा बढी अतिस पाइन्छ। यो झाडी बुट्यान भएको र घाँसे मैदानमा पाइन्छ।  गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ। यो धेरै व्यापार हुने पनि गरेको जडिबुटी पनि हो। गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ। गानोलाई संकलन गर्ने उपयुक्त समय भनेको फल पाकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो ।

चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। अतिसको माध्यमबाट उपचार गरिने उपचार पद्धतिलाई अतिभिसा चिकित्सा पद्धतिको नामबाट चिनाउने गरिन्छ। यो चिकित्सा पद्धतिमा बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिने ती दुई संहितामा उल्लेख गरिएको छ। यसका बाहेक यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा प्रयोग गरिने उल्लेख छ ।

प्रत्येक खण्ड अझ बढी फाटेको, ५ देखि १० से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ। माथि तिरको पातमा धेरै खण्ड हुँदैन। फूल हल्का झुस भएको, गाढा निलो रंगको हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन्। फूल जेठ असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ ।

यसको गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ। अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ। यो दाँत दुख्दा तथा रक्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ।  अतिस खेतिलाई बिस्तार गर्दै व्यवसायिक रुपमा अघि बढाउनको लागि प्रयाप्त लगानीको खाँचो रहेको किसान बताउँछन्।


error: Content is protected !!