Loading... आजः १५ आश्विन २०७९, शनिबार

राष्ट्रिय प्रशारणमा जोडिदै कालिकोटका बस्तिहरु

कालिकोट -जिल्लाको अति विकट गाँउपालिका महाँवै राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । महाँवै गाँउपालिका अध्यक्ष खेमबहादुर सिंहको पहलमा जिल्ला सदरमुकाम मान्मबाट जुम्ला लिएको लाईनबाट महाँवै गाँउपालिकाको पादमघाटमा राष्ट्रिय प्रशारण लाईन जडान गरी गाँउमा बिद्युत सेवा पुगेको हो ।

गाँउको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, बिद्युत र रोजगारी पहिलो प्राथमिक्ता दिनु पर्नेछ । गाँउपालिका अध्यक्ष सिंहले भने, राष्ट्रिय प्रशारण लाईनबाट बिजुली गाँउपालिकाको केन्द्र पादमघाटमा पहिलो पटक पुगेको छ । अब हामी सबै वडामा लाईन बिस्तार गरी उज्यालो गाँउपालिका बनाउदैछौँ । यसबाट धेरै कामहरु गर्न सहज हुनेछ । गाँउपालिकाको केन्द्रमा बत्ति नभएकै कारण इन्टरनेटको समस्या थियो । इन्टरनेटकै कारण गाँउपालिकाका अत्याबश्यक कामहरु जिल्ला सदरमुकामबाट गर्नुपर्ने समस्या थियो । गाँउपालिकाका सेवाहरु अब थप व्यवस्थित रुपमा संचालन हुनेछन् ।

उनले भने, हामीले चालु आर्थिक बर्षको बजेटलाई पनि शिक्षा, स्वास्थ्य, सडक, बिद्युत र रोजगारी केन्द्रीत गरेका छौँ । चालु आर्थिक बर्षभित्रै गाँउपालिकाका सबै वडामा सडक, सबै घरमा शुद्ध खानेपानी र बिजुली, एक घर एक रोजगारी, सबैको पहुँचमा गुणस्तरीय शिक्षा, सबै वडामा आधारभुत स्वास्थ्य सेवाको लक्ष्य पुरा गर्नेछौँ । स्थानिय सरकार भनेको जनताको आँगनको सरकार भएकाले जनताका आबश्यकताहरु क्रमश ः पुरा गर्ने लक्ष्य राखिएको छ । उनले थपे, जनप्रतिनिधिले लिने सुविधा भन्दा जनताले लिने सुविधाका बिषयमा हामी गम्भीर छौँ । अबको दुई बर्ष भित्र हरेक नागरिकलाई गाँउमै बसौँ बसौँ भन्ने बताबरण बनाउछौँ ।

कालिकोटवासीको माग अनुसार एक बर्ष अगाडी जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकामा राष्ट्रिय प्रशारण लाईन पुगेको थियो । पुर्व उर्जा मन्त्री तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा झण्डै तीन बर्ष लगाएर दैलेखबाट कालिकोट राष्ट्रिय प्रशारण लाईन तानिएको हो । त्यसपछि स्थानिय सरकारको पहलमा जिल्लाका अन्य स्थानिय तहमा पनि यसको बिस्तार गर्ने कार्य भईरहेको छ ।

यस्तै जिल्लाको तिलागुफा नगरपालिका पनि राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । जुम्लाको सिमानामा रहेको तिलागुफा नगरपालिका बिद्युत सेवा अभावकै कारण टेलिफोन सेवा बिहिन समेत थियो । सोलार बत्तिबाट संचालनमा आएको टेलिफोन टावर दिनमा आउने राती जाने समस्या थियो । तिलागुफा नगरपालिका उप प्रमूख महेन्द्रबहादुर शाहीले भने, नगरपालिकामा राष्ट्रिय प्रशारण लाईन पुगेको छ । यसलाई गाँउ गाँउ बस्ती बस्तीहरुमा बिस्तारको काम भईरहेको छ । अब गाँउ पनि उज्याला हुनेछ । टेलिफोन सेवा पनि चौबिसै घण्टा नियमित बन्नेछ ।

यस्तै जिल्लाका अन्य रास्कोट नगरपालिका, पलाँता गाँउपालिका, पचालझरना गाँउपालिका, सान्नीत्रिवेणी गाँउपालिका र नरहरीनाथ गाँउपालिकामा पनि राष्ट्रिय प्रशारण लाईन बिस्तारको लागि काम अगाडी बढिरहेको छ । जिल्लाको एक मात्र पोत्मारा साना जलबिद्युत आयोजना बाढीले बगाएपछि अन्धकार बनेको कालिकोट राष्ट्रिय प्रशारण लाईनले फेरी उज्यालो बन्ने अपेक्षा गरिएको छ । तर उक्त लाईनबाट आउने बत्ति पनि जाने आउने समस्या रहेको स्थानिय नरेश शाहीले बताए । उनले भने, जिल्लामा राष्ट्रिय प्रशारण लाईन जोडिएपछि नियमित बित्तको अपेक्षा गरेका थियौँ । तर अहिले राष्ट्रिय प्रशारण लाईनबाट आएको बिद्युत पनि झिलिक्क मिलिक्क हुन्छ । नियमित बत्ति आउदैन् ।

अन्नपुर्णबाट साभार ।