Loading... आजः १५ आश्विन २०७९, शनिबार

चालकलाई सडकमै ट्राफिक नियम सिकाउदै प्रहरी

कालिकोट -प्रहरीले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना अभियान थालेको छ । कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले आफ्नो माताहातका प्रहरी युनिटहरुलाई परिचालन गरी सडकमै गाडी चालकलाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना दिन थालेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अस्थायी प्रहरी पोष्ट हुल्मका इन्चार्ज तिलकबहादुर डाँगीको कमाण्डमा पाँच जनाको टोलीले हुल्म बजारमा कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्डमा गुड्ने गाडीहरुलाई हुल्म बजारमा रोकेर ट्राफिक नियम तथा स्वारी दुर्घटना न्यूनिकरण सम्बन्धि सोमबार अभिमुखीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख इन्सपेक्टर सुभराज बमले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकहरुलाई सचेत बनाउने कार्य भईरहेको बताए । उनले भने, हामीले राजमार्गसँगै जोडिएका प्रहरी युनिटहरुलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना जोगाउने र गाँउ बस्तीमा रहेका प्रहरी युनिटहरुलाई बिभिन्न सामाजिक बिकृतिहरुका बिरुद्ध सचेतना जोगाउने अभियानमा सक्रिय बनाएका छौँ । यसले सामाजिक अपराध र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तरगत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक समेत अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा विगतमा हुने सामाजिक अपराधहरुमा कमी आउनुका साथै नागरिक र प्रहरीको सम्बन्धमा सुधार हुदै गएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा नेपाल प्रहरीले जिल्लाका ९ वटै स्थानिय तहमा बिभिन्न सचेतनात्मक क्रियाकलापहरु संचालन गरिरहेको छ । जसले समाजमा हुने घरेलु हिंसा, बाल बिबाह, छाउपडी प्रथा, जातिय छुवाछुत, यौन हिंसा, लागुऔषध दुर्वेशन लगायतका सबै किसिमका सामाजिक अपराधहरु न्यूनिकरणका लागि सहयोग पुगेको छ ।

अन्नपुर्णबाट साभार ।