Loading... आजः ८ बैशाख २०८१, शनिबार

धरातल हेरेर गठबन्धन

काठमाडौं : संघीय र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे सत्तागठबन्धनमा गृहकार्य सुरु भएको छ। गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने तय भएको छ। गठबन्धनभित्र कुन मोडालिटीमा सिट बाँडफाँट गर्ने र निर्वाचनमा कसरी जाने भन्ने विषय भने टुंगिन सकेको छैन। त्यसका लागि सत्तारूढ दलले कार्यदल गठन गरेको छ।

गठबन्धन दलमा सिट बाँडफाँटका विषयमा दुईवटा मोडेलमा छलफल सुरु भएको छ। पहिलो, स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यहीअनुसार अघि बढ्ने। दोस्रो, ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने। स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेस एक्लैले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने भन्दै कांग्रेसका केही नेताहरू गठबन्धनबिरुद्ध पनि बोल्न थालेका छन्। तर, कार्यदल नै बनिसकेकाले गठबन्धनका दलहरू बढीभन्दा बढी सिट आफूले कसरी लिने भन्ने ध्याउन्नमा छन्।

कांग्रेस सह–महामन्त्री किशोर राठोर जहाँ मत ट्रान्सफर गर्न सजिलो हुन्छ त्यहाँ गठबन्धन दलले सिट बाँडफाँट गर्नुपर्ने बताउँछन्। ‘स्थानीय धरातल हेरेर जित्न सक्ने स्थानलाई मूल्यांकन गरेर सिट दिनुपर्छ भन्ने कांग्रेसको कुरा हो।’

यसअघि २०७४ मा गठबन्धन दलको निर्वाचनको नतिजा हेर्दा संघीय निर्वाचनमा प्रत्यक्षमा माओवादी कांग्रेस भन्दा अगाडि थियो। त्यतिबेला माओवादीले ३६ सिट ल्याएको थियो। कांग्रेस भने २३ सिटमा सीमित थियो। राष्ट्रिय जनमोर्चाले भने १ एक सिट जितेको थियो। नेकपा एकीकृत समाजवादी भने त्यतिबेला एमालेमा थियो। उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टीले १० सिट जितेको थियो।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा भन्छन्, ‘स्थानीय तहको निर्वाचनले नै कांग्रेसको बलियो उपस्थिति देखाइसकेको छ। एउटा भ्रम के छरियो भने गठबन्धनबाट कांग्रेसले मात्र फाइदा लिएको छ भन्ने कुरा नै गलत हो। कांग्रेसका धेरै ठाउँमा संगठन बलिया भएका छन्। अब गठबन्धन गर्दा स्वभाविक रूपमा कांग्रेसले बढी भाग खोज्छ। यद्यपि सबै पार्टीको स्थानीय धरातल हेरेर गठबन्धन हुन्छ।’

सिट बाँडफाँट गर्दा १ सय ६५ सिटमध्ये कांग्रेसको भागमा १०० सिट हुनुपर्ने पक्षमा कांग्रेसका अधिकांश नेताहरू छन्। माओवादी केन्द्रले दोस्रो ठूलो दलका रुपमा दाबी गरेको छ। स्थानीय तहको निर्वाचनबाट कांग्रेस मात्र नभई माओवादी केन्द्र पनि हौसिएको छ। माओवादी नेता देव गुरुङ पनि स्थानीय तहको निर्वाचनमा आएको नतिजा र २०७४ सालको जुन नतिजा थियो त्यसको आधारमा गठबन्धन गर्दा जित्न सहज हुने बताउँछन्। ‘आगामी प्रदेश र संघको निर्वाचनमा स्थानीय तह निर्वाचनको जनमत हेरेर तालमेल गर्दा कांग्रेस पहिलो र माओवादी पार्टी दोस्रो हुने देखिन्छ, गुरुङले भने, ‘त्यसैले आफूले जितेका स्थानमा दाबी गर्नु स्वाभाविक पनि हो।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि एउटा कार्यक्रममा बोल्दै यो निर्वाचन अन्तिम हुने भन्दै अर्कोतिर प्रधानमन्त्री हुने इच्छा देखाएका थिए। प्रचण्डको उक्त प्रतिक्रियाले पनि उनले माओवादी पार्टी बलियो भनेर देखाउन खोजेको स्पष्ट हुन्छ।

 

  •     गठबन्धनका दलहरूबीच प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने तय ।
  •     स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यही अनुसार अघि बढ्ने।
  •     ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने।

नेकपा एकीकृत समाजवादीले भने सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने भन्दै आएको छ। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘स्थानीय तहको निर्वाचनले नतिजा रामै्र आए पनि केही असन्तुष्टि भए। गठबन्धनको नेतृत्वबाट अलिक ठूलो मन बनाएर टिकट वितरण गरियोस्। हाम्रो पार्टी नै नयाँ हो। तथापी स्थानीय तहको निर्वाचनमा महानगर उपमहानगरसम्म जित हात पारेका छौं। ती सबै कुरालाई ध्यान दिएर टिकट बाँडफाँट होला। अर्को कुरा कांग्रेसले सम्मानजनक सिट बाडँफाँट नगरे बाम मोर्चा बनाएर निर्वाचन लड्ने विकल्प अगाडि सारेका छौं।’ गठबन्धनभित्र कांग्रेसले ६० प्रतिशत छोड्न नमान्ने हो र अन्य दलले सम्मानजनक सिट चाहियो भन्दै ४० प्रतिशत भागमा बस्न नमान्ने हो भने गठबन्धन धरापमा पनि पर्न सक्छ।

सत्तागठबन्धनको सहाराबिना नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई निर्वाचनमा जित हात पार्न सकस भने देखिन्छ। अर्कोतिर कांग्रेसलाई पनि गठबन्धन भित्रकै कम्युनिष्ट दलहरूको सहारा बिना राम्रो सिट ल्याउन सकस हुने प्रष्ट छ। कांग्रेसका नेताहरूले प्रतिनिधिसभाको निर्वाचनमा स्वभाविक चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन्। सोमबार बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक, वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने बताएका थिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूसँग कसरी जाने भन्ने छलफल गर्न बोलाएका थिए। व्यावहारिक र स्वाभाविक प्रकृतिको चुनावी तालमेल कसरी सम्भव छ भन्ने विषयमा छलफल भएको कांग्रेस नेता गोपालमान श्रेष्ठले बताए, ‘गठबन्धन अस्वभाविक छ भने नगरौं। अहिले कांग्रेसको जनमत देशभर भएका अन्य दललाई पनि स्वभाविक रूपमा जानकारी छ। गठबन्धनका साथीहरूले पनि त्यहीअनुसार बुझ्नुहुन्छ।’ कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बेले यतिउति प्रतिशत भन्ने माग नभई गठबन्धनलाई कसरी जोगाएर आफ्नो क्षेत्र बलियो बनाउन सकिन्छ भन्नेतिर ध्यान दिनुपर्ने बताउँछन्।

‘टिकट वितरण गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने छ,’ उनले भने, ‘सकेसम्म कांग्रेसको प्रयास बढी लिने नै हुन्छ। यद्यपि जित्ने सम्भावना बोकेका साथीहरूलाई टिकट दिन बाट छुटाउन हुँदैन।’ यसअघि जितेको भनेर मात्र नहुने भन्दै आङदम्बेले भने, ‘जिल्ला र स्थानीय निर्वाचनको धरातललाई पनि हेर्नु जरूरी छ।’

कार्यदलको संयोजकमा सिटौला

सिट बाँडफाँट गर्न बनेको सत्तागठबन्धनको कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला बनेका छन। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले सिटौलालाई संयोजक बनाउने निर्णय गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ। कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई–दुई जना सदस्य छन्।

गठबन्धनले पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो। जसमा महामन्त्री गगन थापा, शीर्ष नेता कृष्णप्रसाद सिटौला र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। कार्यदलको अर्को बैठक साउन २६ मा बस्ने भएको मन्त्री कार्कीले बताए।

अन्नपुर्णबाट सभार ।