कर्णालीको ऐना ‘प्रकाश’
नेपालगन्ज : कर्णाली प्रदेशको भाषा, लवज र गीत धेरै चलचित्रको पर्दामा अटाए। नेपाली खस भाषाको उद्गम थलो जुम्लालाई फिर्चड गरिएको त्यहींको माटो, ठेट भेषभूषा र भाषामा फिल्म ‘प्रकाश’ बनेको छ। जुम्लाको एक युवा शिक्षक बन्ने सपना देख्छन्। शिक्षक बन्न उसले गरेको संघर्षलाई चलचित्रमा उतारिएको छ। फिल्ममा नायक प्रदीप खड्का र दिया मास्केको मुख्य भूमिका रहेको छ।
बिहीबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र निर्माण टिम र कलाकारले जुम्ला सुटिङको अनुभव सुनाएका थिए। जुम्ली युवा प्रकाशको भूमिका निर्वाह गरेका चकलेटी नायक प्रदीप खड्काले फिल्म सफल हुने दाबी गरे। फिल्ममा गाउँले परिवेशमा उनको जिवन्त अभिनय छ। आफूले यसअघिका चलचित्रभन्दा प्रकाशमा निर्वाह गरेको भूमिका निकै सशक्त भएको बताए।
‘मैले सुनेको स्क्रिप्टभन्दा यो सबैभन्दा स्टोङ लागेको छ’, उनले भने। उनले यसअघिको भन्दा निकै नयाँ तर फरक भूमिकामा अभिनय गरेका छन्। नायक खड्काले फिल्म सफल हुने दाबी गरे। कर्णाली बुझ्ने अर्गानिक ऐनाको रुपमा फिल्म बनेको निर्माण टिमले दाबी गरेको छ। नायक खड्काले कर्णाली प्रमोट गर्न पनि प्रकाश फिल्म बनेको बताए। ‘फिल्मले कुनै न कुनै रुपमा कर्णाली प्रमोट गर्छ। जसरी रारा प्रमोट भयो। मनाङ मुस्ताङ प्रमोट भयो। फिल्मले जुम्लालाई पनि प्रमोट गर्नेछ’, उनले दाबी गरे।
नाट्य मञ्चबाट ठूलो पर्दामा उक्लिएकी नायिका दिया मास्के साधारण जुम्ली महिलाको पहिरनमा जमेकी छन्। उनी नायककी आमा बनेकी छन्। उनले चलचित्रमा छोरा प्रकाशलाई शिक्षक बनाउन गरेको संघर्ष देखाइएको छ। दियाको अभिनय पनि जिवन्त छ। उनले भनिन्, ‘योे सिनेमा पहिचानको खोजी हो। जहाँ महिला सशक्तिकरण पनि देखाइएको छ।’
लेखक विकास सुवेदीले चलचित्रको स्क्रिप्ट लेख्दा पाँच महिना जुम्लामा बस्दा त्यहाँको वास्तविकतालाई सिनेमाको माध्यमबाट प्रस्तुत गरेको बताए। उनले प्रस्ट पारे, ‘झन्डै ७० वर्षपछि कर्णाली र मध्यपश्चिमलाई कर्णालीले समेटेको छ।’
अन्नपुर्ण पोष्टबाट साभार ।
ई-कर्णाली खबर
२७ श्रावण २०७९, शुक्रबार ०३:४४