Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

धर्तिकोे भु–स्वर्ग कालिकोटको त्रिबेणी पाटन

कालिकोट- जिल्लाको सान्नीत्रिबेणी गाउँपालिमा पर्ने त्रिबेणी पाटनले पर्यटकको मन लोभ्याने गरेको छ । त्रिबेणीको काखमा रहेका दर्जनौ सुन्दर पाटनहरुले पर्यटकलाई मोहोनी लगाएको हो । त्रिबेणी आउने पर्यटकले धर्तिको भु–स्वर्गको अनुभुति गर्दछन् । पछिल्लो समय त्रिबेणी पश्चिम नेपालकै सुन्दर धार्मिक, ऐतिहासिक तथा धर्तिको भु–स्वर्ग बनेको छ । मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिबेणी पाटनमा पर्यटकहरुको चहलपहलले कालिकोटमा पर्यटन व्यवसायमा केही आशा जोगाएको छ । प्राया ः सिजन अनुसार नै पर्यटकहरुको त्रिबेणी पाटनमा ओहोरदोहोर हुने गरेको पाइन्छ । त्रिबेणी पाटन समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको उचाइमा रहेको छ ।

त्रिबेणी पाटन मात्र नभएर त्रिबेणी धामको रुपमा परिणत भएको छ । नेपालको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका हजारौ थिर्तालु भक्तजनहरु त्रिबेणी पाटन भएर बडिमालीकाको दर्शन गर्छन् । कालिकोट र बाजुराको सिमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिबेणी धाममा बास बसेर भक्तजनहरु जाने गरेका छन् । पाटनबाट तीन वटा मुहान फुटेर तिन वटा खोला बनेपछि तिन खोलाको संगम हुँदा यसको नाम त्रिबेणी राखिएको जानकारहरु बताउँछन् । कर्णालीका सवै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, वैतडी र अछामको संगमस्थलको रुपमा त्रिबेणी धामलाई लिन सकिन्छ ।


त्रिबेणी क्षेत्रमा पुग्न लामो पैदल यात्रा गर्नु पर्छ । डोरेटो बाटो गाह्रो छ तर, पुगेपछि भने पर्यटकका मनहरु पनि रोमाञ्चित हुन्छन् । प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र भनिए पनि त्रिबेणी अत्यान्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहक प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछन् । विशाल–विशाल गलैंचा ओछ्याइएका जस्तै लाग्ने ठूला–साना पाटनले घेरिएको त्रिबेणी हेर्न आएका आगन्तुकको मनै लोभ्याउछ । त्रिबेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिबेणीलाई पृथ्वी–तलको स्वर्ग जस्तै कन्चन बनाएको छ । त्रिबेणीले कर्णालीकोे धार्मिक–सांस्कृतिक आयाम निकै थपेको छ ।

त्रिबेणीमा विभिन्न प्रजातिका वनस्पति रहेका छन् । करीब १ सय ४० भन्दा बढी जातका फूल, सयौ जातका जडिबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना घोडा भेडाहरु चराउनका लागि उपयुक्त स्थान, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम, मुलुकका दर्जनौँ जिल्लालाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रींखलाहरुले यसको थप महत्व दर्साएको छ । अपार पर्यटकीय सम्भावनासहितको त्रिबेणी पाटनको विकासमा सरकारको ध्यान भने पुगेको पटक्कै छैन । सिजन अनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा बास र खानपिनकोे पनि प्रबन्ध छैन ।


बिहिबार कालिकोटका सुरक्षा निकायका प्रमूख सहित सिम्रिक ईयरको हेलिकप्टरमार्फत बढिमालिका जान त्रिबेणी ओर्लिएका कालिकोटका प्रमूख जिल्ला अधिकारी रामहरी शर्माले त्रिबेणीमा टेक्दा आफुलाई नदेखेको स्वर्ग पुगेको अनुभुती भएको बताए । उनले भने, आहा त्रिबेणी, अनुपम दृश्य, प्राकृतिक आनन्दमय छ । यो धेरैले देखेकै छैनन् । आन्तरिक पर्यटकहरु मात्र आउने रहेछन् । तर सबैको नजर पुग्यो भने आन्तरिक तथा बाह्र पर्टकको गन्तव्य बन्ने निश्चित छ । त्रिबेणी जानका लागि सुविधाजन सडक र एक दिनको ट्रेकिङ रुट र ठाँउ ठाँउमा होटेलको पनि व्यवस्था गरेपछि पुग्छ । मलाई खप्तड, मुक्तीनाथ गए भन्दा बढी आनन्द त्रिबेणीमा भयो । यो साच्चै कालिकोट चिनाउने ठाँउ हो । बढिमालिका र त्रिबेणीमा सिम्रिक इयर मार्फत अन्य स्थानिय नागरिकहरु पनि हवाई यात्रामा गए । पछिल्लो समय सिम्रिक इयरले कर्णालीको सुर्खेतबाट यहाँका बिकट जिल्लाहरुमा आकस्मिक हवाई सेवा दिदै आएको छ ।

संरक्षित क्षेत्रको बनाईने

त्रिबेणीलाई संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नीत्रिबेणी गाउँपालिका अध्यक्ष महेस केसीले कताए । त्रिबेणी पाटन मात्र नभइ त्रिबेणी धाम रहेकाले यसको महत्व थप बढेको उनले बताए । उनले भने, यस क्षेत्रलाइ आगामी दिनमा संरक्षित क्षेत्रको रुपमा घोषणा गर्ने र थप पर्यटकिय सम्भावनाहरुका लागि आबश्यक पुर्वाधार निर्माण गरिनेछ । यो हाम्रो गाँउपालिकाको मात्र नभई देशकै ठुलो सम्पतीको रुपमा लिन सकिन्छ । यस क्षेत्रमा कस्तुरी, बाघ, घोरल जस्ता बन्यजन्तु र दुर्लव पंक्षि रहेका छन् ।


त्रिबेणी जाने चलनचल्तीको बाटो कालिकोटको सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान्छ । विमान वा बसबाट बाजुरा लगाएतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिंड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ । त्यस्तै दोस्रो दिनमा त्रिबेणी पुगिन्छ । मालीवनदेखि बिहानीको शीतलमा ठाडो उकालो वाटो भएर बिचविचमा पानी र खानपिन गरेर मध्प दिउसो तिर त्रिबेणी पुगिन्छ । असोजमा त्रिबेणी पुग्नेहरूले पाटनहरूमा बादल तथा कुहिरो नलाग्ने र मौसम सफा रहने भएकाले रहर मज्जाले पूरा गर्न सक्छन् । बढिमालिकामा जनैपूर्णिमाका अघिल्लो दिन धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिबेणी भएर भक्तालु जाने गर्दछन । जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिबेणी आउँने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए । उनले भने ‘त्रिबेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन् ।’

त्रिवेणीमा नुहाएर बढिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ । रोगव्याध नाश हुन्छ र पदोन्नति हुने विश्वास छ । शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै पूजा गरिन्छ पुजारी धमालाले सुनाए । त्रिबेणीमा दुइटा खोला छन, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ । त्रिबेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि धार्मिक बिश्वास छ ।


मनरोञ्जनका लागि मात्र होईन प्रकृतिको धनि मानिएको त्रिबेणी पाटन र त्यस आसपासका क्षेत्रको बर्णन गरी साध्यै छैन । प्राकृतिक सम्पदाको क्षेत्रमा स्मरणिय क्षेत्रहरु मध्ये त्रिबेणी पाटन एक महत्वको धार्मिक क्षेत्र तथा मनोरञ्जनको क्षेत्रका रुपमा लिन सकिन्छ । जिल्लामा पछिल्लो समयमा धार्मिक तथा प्राकृतिक सम्पदाका क्षेत्रमा संरक्षणको अभियानमा चासो बढे पनि यि क्षेत्रहरु प्रचारमा आउन नसकिरहेको सान्नीत्रिबेणी गाँउपालिका उपाध्यक्ष पार्बति सिंहले बताईन् । बढिमालिका जाने तिर्थालुहरुका लागि निशुल्क स्वास्थ्य शिविर सहित त्रिबेणी पुगेकी उपाध्यक्ष सिंहले त्रिबेणीलाई सिजनमा मात्र नभई बाह्रै महिना आउने गन्तब्यका रुपमा विकास गरिने बताईन् । प्रकृति सम्पदाको क्षेत्रमा त्यति चासो नदिएकै कारण कर्णालीका प्राृकतिक संम्पदाहरु ओझेलमा परेका छन् । उनले भनिन्, अब गाँउपालिकाले प्रदेश सरकार हुँदै संघिय सरकारको ध्यनाकर्षण गराउने र सुविधा सम्पन्न पर्यटकिय गन्तब्यका रुपमा विकास गरिनेछ ।