Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

कालिकोटमा रैथाने बालीको संरक्षण गरिदै

कालिकोट- जिल्लामा लोपउन्मुख बाली चिनुको संरक्षण गर्न थालिएको छ । झण्डै दुई दशक पहिले कालिकोटमा उल्लेख्य रुपमा उत्पादन हुने रैथाने बालीहरु, चिनु, कागुनु, फापर, कोदो अहिले लोभ हुने अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियान युवाहरुले सुरुवात गरेका हुन् ।
जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ निवासी जिबन गिरीले यो बर्ष एक रोपनी जग्गामा चिनु खेती गरे । चिनुको माग काठ्माण्डौका ब्यपारीहरुबाट आएपपिछ गाँउमा उनले खेतीको सुरुवात गरेका हुन् । जिल्लाको सुन्तला गाँउ भनेर चिनिने बराँतुका युवा किसान गिरीले भने, परापुर्वकालमा गाँउमा चिनु, कागुनुको ब्यापक रुपमा खेती हुन्थ्यो । तर झण्डै १५ बर्ष अगाडीदेखी गाँउमा यसको खेती हुन छाड्यो । सदरमुकाम नजिकको गाँउ भएकाले गाँउका सबै व्यवसायीक तरकारी खेतीमा लागे । अन्नबालीको खेती हुनै छाड्यो । तर पछिल्लो समय काठ्माण्डौबाट ब्यपारीहरुले चिनुको माग गरेका कारण आफैले फेरी यसको सुरुवात गरे ।
परिक्षणका रुपमा यो बर्ष एक रोपनि जग्गामा सुरु गरिएको चिनु खेती निकै राम्रो फल्यो । बारीमा हेर्दा निकै रोचक छ । यो चिनु अहिले प्रति किलो एक हजारका दरले बिक्रि हुन्छ । यो डाईभेटिज, प्रेसर, सुगर लगायतका रोगहरुको औषधि पनि हुन्छ । यसको भात र खीर निकै मिठो हुन्छ । यो लोपउन्मुख बाली भित्र पर्छ । उनले यो बर्षको परिक्षण उत्पादन राम्रो भएकाले आगामी बर्षदेखी यसको खेती बढाउने बताए । आफुले खेती सुरु गरेपछि गाँउका अन्य किसानहरु पनि यस प्रति थप आकर्षित भएको बताए ।
जिल्लामा स्थानिय सरकारहरुले पनि रैथाने बाली संरक्षणका लागि पहल लिएका छन् । जिल्लाको तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले चिनु, कागुनु, फापर, जनालो जस्ता लोपउन्मुख रैथाने बालीहरु संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको बताए । उनले भने, हामी किसानहरुलाई रैथाने बाली उत्पादन गर्नका लागि अनुदान दिन्छौँ । उत्पादित बालीहरुको बजारको सुनिश्चितता गर्छौँ । नगरभित्र उत्पादित रैथाने बालीहरु नगरले नै खरीद गरि बजारीकरण गर्ने योजना छ ।
यस्तै जिल्लाको पलाँता गाँउपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाले रैथानी बाली संरक्षणका लागि गाँउपालिकाले पनि पहल गरेको बताए । उनले भने, पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँको उत्पादित रैथाने बालीहरु बिगतमा आफैलाई मात्र प्रयोग गरिन्थ्यो । अब किसानहरुलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ । पलाँतामा उत्पादित रैथाने बालीहरु अन्य क्षेत्रको तुलनामा बढी स्वादिष्ट हुने गरेको उनले बताए ।
जिल्लाको खाँडाचक्र नगरपालिका प्रमूख कमलबहादुर शाहीले कालिकोटमा उत्पादन हुने रैथाने बालीहरुको सहज बजारको लागि कोशेली घर स्थापना गरिने बताए । उनले भने, जिल्ला सदरमुकामको नगरपालिका भएकाले मान्म बजारका साथै आसपासका बजारहरुमा कालिकोट आउने पाहुँनाहरुलाई नासो लिनका लागि यहाँका सबै किसिमका रैथाने बालीहरु पाउने कोशेली घर निर्माण गर्ने योजना छ । जसले यहाँका उत्पादनहरुको प्रचार पनि हुन्छ । यहाँको चिनो बाहिर पनि जान्छ । यहाँका किसानहरुको आयआर्जन पनि हुन्छ ।