Loading... आजः १५ आश्विन २०७९, शनिबार

कर्णालीका सामाजिक मन्त्री बिसीद्धारा अस्पतालको निरीक्षण

कालिकोट- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले जिल्ला अस्पताल कालिकोटको निरीक्षण गरेका छन् । कोरोनाको संक्रमण फेरी बढ्ने संकेत देखिएको र जिल्ला अस्पतालका सेवा प्रबाह थप प्रभावकारी बनाउन सामाजिक बिकास मन्त्री बिसी आफै अस्पतालको निरीक्षणमा पुगेका हुन् ।
कर्णाली प्रदेशबाट बजेट बिनियोजित भएर निर्माण भईरहेका शिक्षा तथा स्वास्थ्य क्षेत्रका भौतिक संचनाको अवस्था तथा जिल्ला अस्पतालको सेवा प्रबाहका बिषयमा आएको नागरिकको गुनासोलाई मध्य नजर गर्दै सामाजिक विकासमन्त्री बिसी आफै कालिकोट आएर निरीक्षणमा जुटेका हुन् । उनले जिल्ला अस्पतालको बिभिन्न बिभागिय पक्षहरुको निरीक्षण गर्दै दुर्गमका बिपन्न नागरिकहरुलाई सहज, सुलब र गुणस्तरीय स्वास्थ्य सेवा प्रबाहका लागि अस्पतालमा कार्यरच सबै चिकित्सकहरुलाई निर्देशन दिए । उनले भने, प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिक्तामा राखेको छ । कालिकोटका नागरिकले कालिकोटमे बिशषेज्ञ स्वास्थ्य सेवा पाउनु पर्छ । त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने कामहरु सबै गर्छ । तर अस्पताल प्रशासन र यहाँ कार्यरत चिकित्सकहरु यहाँको सेवा प्रभावकारी बनाउन जिम्मेबार बन्नुस ।

आकस्मिक रुपमा अस्पतालको निरीक्षणमा गएका सामाजिक बिकासमन्त्रीले मुख्यगरी अस्पतालमा रहेको प्रसुतिगृह, अप्रेशन कक्ष, इमरजेन्सी लगायतका पक्षहरुको चासो लिए । अस्पतालभित्र बिरामीहरुसँग भेटेर उनीहरुको अवस्थाका बिषयमा पनि जानकारी लिए । बिरामीहरुसँग अस्पतालले बिरामीहरुसँग गर्ने, यहाँको सेवा लगायतका बिषयमा आफै सोधे । निर्माणाधिन अस्पतालको ३५ शैयाको भवनको पनि निरीक्षण गरे । कर्णालीका विकट जिल्लाहरुमा बिशषेज्ञहरुलाई बसौँ बसौँ भन्ने बाताबरण बनाउन पनि सबैले सहयोग गर्नुपर्ने बताए ।

अस्पतालमा बिशषेज्ञ पठाईदिन माग


कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीसँग जिल्ला अस्पताल कालिकोटले बिशेषज्ञ पठाई दिन माग गरेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक कटकबहादुर महतले अस्पतालमा बिशषेज्ञहरुको अभावले सेवा प्रबाहमा समस्या भएको बताए । उनले प्रदेश सरकारबाट बिशेषज्ञहरु पठाई सहयोग गरिदिन मन्त्री बिसीलाई माग पत्र नै पेश गरे ।
जनस्वास्थ्य अधिकृत महतले भने, हाम्रो अस्पतालमा विगतमा ३ जना बिशषेज्ञ सहित ९ जना डाक्टरहरु कार्यरत थिए । अहिले अस्पतालमा ४ जना डाक्टरहरु मात्र कार्यरत छन् । यसले अस्पतालको सेवा प्रबाहका लागि समस्या भएको छ । हाल १० औँ तहको स्वास्थ्य सेवा व्यवस्थापक, कन्शलटेन्ट गाईनाक्लोजिष्ट, कन्शलटेन्ट जनरल फिजिसिएन, कन्शलटेन्ट जनरल सर्जन र हाडजोर्नी बिशषेज्ञ गरी पाँच जना बिशषेज्ञहरुको अभाव छ । यसले अस्पतालको सेवा प्रबाहमा कमी भएको छ । अस्पतालमा कार्यरत डाक्टर अप्सरा हमालले भनिन्, यहाँ धेरै बिरामीहरुलाई रिफर गर्नुपर्ने समस्या छ । हामीलाई बिशषेज्ञ सेवाका लागि रिफर गरिदिन बिरामीहरुका आफन्तहरुले नै आग्रह गर्छन् । नागरिकहरुले बिशषेज्ञ सेवा पाउनु उनीहरुको अधिकार हो । जसका कारण हामीले सक्ने केसहरु पनि रिफर हुने गरेका छन् । मन्त्री बिसीले आफुले जिल्ला अस्पतालमा रहेको बिशषेज्ञ अभावलाई तत्काल पुर्ति गर्न पहल गर्ने बताए ।