Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

गाँउमै शाखा रहित बैंकिङ सेवा

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकाले बैंकिङ सेवा नपुगेका बिकट बस्तीहरुमा शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बाल पोषण, जेष्ठ नागरिकले पाउने बृद्ध भत्ता, एकल भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बितरण गर्न लगायतका आर्थिक कारोवारहरुलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा गाँउमै शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।


बैंकिङ सेवा लिनका लागि नगरपालिकाको केन्द्र गाल्जे जाँदा सेवाग्राहीका चापका कारण लाईन कुर्नु पर्ने, घण्टौँ पैदल बाटो हिड्नु पर्ने, कहिलेकाँही नेटमा खराबी हुँदा काम नहुने, सामान्य कागजपत्र छुट्दा काम नभएर घर फर्किनुपर्ने जस्ता समस्याहरु खेप्दै आएका तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ वडाका लागि पाईक पर्ने चिल्खाया ठिन्के बजारमा शाखा रहित बैंकिङ सेवा सुरु भएपछि यहाँका नागरिकहरुलाई ठुलो राहत भएको छ । तिलागुफा नगरपालिका वडा नं. ९ चिल्खायाका स्थानिय लालसिंह खत्रीले भने, अब त ढुक्क भयो । गाँउमै बैंकिङ सेवा सेवा पाउने भयौँ । पहिले सामाजिक सुरक्षा भत्तादेखी हरेक आर्थिक कारोवार गर्न गाल्जे जानु पथ्र्यो । धेरै झन्झट पनि खेपिरहेका थियौँ । उनले नगरपालिकाले पहल गरेर गाँउमै बैंकिङ सेवा बिस्तार गरेर नागरिकलाई सेवा लिन निकै सहज बनाएको बताए ।
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले बैंकिङ सेवामा नगरवासीको सहज पहुँच पुगाउन शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको बताए । उनले भने, हाम्रो नगरेको गर पालिका हो । यो नगरपालिका बन्न आबश्यक आधारभुत पुर्वाधार विकास नगरी बनाएको नगर हो । यहाँका नागरिकहरुलाई नगरपालिका केन्द्रमा बैंकिङ सेवा सेवा लिन आउन पनि सहज छैन् । जोखिमयुक्त पैदल बाटो, सेवाग्राहीको चाप लगायतका धेरै समस्या थियो । त्यसलाई कम गर्न नगरपालिकाका वडा नं. १, २, ३ र ४ लाई पाएक पर्ने गरी नाग्ममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा सेवा लिने, ५, ६, ७ र ८ लाई नगरपालिका केन्द्रमा रहेको बैकको शाखाबाट सेवा लिने र ९, १० र ११ लाई ठिन्के बजारमा स्थापना गरिएको यही शाखा रहित बैंकिङ सेवाबाट सेवा लिने गरी ब्यवस्था मिलाएका छौँ । यसो गर्दा नगरवासी सबैले सहज तरिकाले बैंकिङ सेवा पाउने भएका छन् ।


जिल्लाका सबै पालिकाहरुमा बैंकिङ सेवा भरिलो छैन् । जिल्लाका ९ वटै पालिकाका केन्द्रहरुमा बैकहरुले शाखा बिस्ता गरेका छन् । तर त्यहाँ भौतिक पुर्वाधार तथा इन्टरनेट सेवा प्रभावकारी नहुँदा बैंकिङ सेवा प्रबाहमा पनि समस्या छ । पालिकामा बैंक शाखाबाट जारी भएको चेक साट्न सदरमुकाम जानु पर्छ ।