Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

डाक्टर र कर्मचारीको झगडाले प्रतिष्ठान ठप्प

आकस्मिक बाहेकका सबै सेवा बन्द, सेवाग्राहीलाई सास्ती

 

कालिकोट- डाक्टर र कर्मचारीको झगडाका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प भएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर करण शाह र प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाहीबीचको झगठाका कारण प्रतिष्ठान नै ठप्प भएको हो ।
भदौ २ गते ओपिडी असिस्टेन्ट शाही आफ्ना ६ वर्षीय छोराको बिद्यालय ड्रसमा उपचार गराउनका लागि ९ बजे प्रतिष्ठानमा पुगे । उनको छोराको टाउकोमा चोट लागेर टाँका लगाइएको थियो । त्यो टाँका खोल्नु थियो । टाँका खोलेर बालकलाई बिद्यालय पठाउने तयारी थियो । ओपिडी नखुलिसकेकोले उनले छोरालाई सिधै आकस्मिक कक्षमा उपचारका लागि लिए । उनले त्यहाँ भएका डाक्टर शाहसँग छोराको सामान्य पेट दुखेको र टाउकोमा टाका लगाइएकोले त्यसलाई काट्नुपर्ने बताए । डाक्टरले उनलाई यस्तो सानोतिनो कुराको लागि इमरजेन्सी वार्डमा उपचार नगरिने र ओपिडी खुलेपछि उपचार गर्न जान सुझाव दिए ।
धनबहादुर छोरालाई लिएर ९ बजेर १३ मिनेटमा आकस्मिक कक्षमा पुगे । त्यहाँ भएका डाक्टरलाई छोराको उपचारका लागि आग्रह गर्छन् । उनले बारम्बार अग्रह गर्दा पनि उपचार गर्न नमानेपछि उनी प्रतिष्ठानमै कार्यरत साथी अखिल गौतमलाई ल्याएर आए । गौतमले पनि डाक्टरसँग बालकलाई हेर्दिन आग्रह गरे । तर डाक्टरले उनको कुरा पनि अस्वीकार गरे । करीब ९ बजेर १८ मिनेटमा गौतमको अनुरोध पनि अस्वीकार गर्दै डाक्टर शाह ढोकाबाहिर निस्के । धनबहादुरले बाहिर निस्किएर डाक्टरमाथि हात हाले । धनबहादुरले शाहलाई धकेलेर एक पटक हानेपछि डाक्टर बस्छन् । त्यसपछि पनि धनबहादुरले छोराको उपचार गर्न नमानेको आवेकमा दुई पटक हातले हानेका छन् भने एक पटक लात्तिले हानेका छन् । यो दृश्य सिसीटिभी फुटेजमा देखिएको छ ।
डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि ओपिडी सेवा समेत बन्द गरेका छन् । जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर शाहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन् । जुम्लाका नागरिक समाजका अगुवा गोरख थापाले भने, यो त अति नै भयो । कर्णालीका जुम्ला, मुगु, कालिकोट, बाजुरा लगायतका धेरै बिकट जिल्लाका सक्त बिरामीहरुले उपचार सेवा पाउने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला एक जना कर्मचारी र डाक्टरको लफडाले ठप्प हुदा आम सेवाग्राहीहरुले सास्ती खेपिरहेका छन् । दुई जना प्रतिष्ठानकै कर्मचारीले आ–आफ्नो अधिकार हनन् गरेको अर्थात अन्याय गरेको भनेर दाबी गरिरहदा यहाँ उपचार गर्न आउने बिरामीहरुको अधिकार हनन् भयो की भएन् । यो कुरा बुझ्नु पर्छ । प्रतिष्ठानका सबै डाक्टर र कर्मचारहिरुले आन्दोलन फिर्ता गरेर सेवा प्रबाहमा लाग्नुपर्छ ।
आइतबार डाक्टर शाहमाथि बालहिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो । प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी ग¥यो । डाक्टर शाह जुम्ला बाहिर भएकाले पक्राउ गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ । डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर त्यही दिनदेखि जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा छन् । आफ्ना बालक छोरामाथि हिंसा गरेको भन्दै धनबहादुरकी श्रीमती आशा हमाल शाहीले गत सोमबार प्रहरीमा जाहेरी दिएकी थिइन् । बिरामी बालककी आमा आशाले भनिन्, ‘अलिकति पहिला टाउकोमा सानो चोट पनि लागेको थियो, त्यसमा टाका लगाइएको थियो, त्यो दिन बिहानैदेखि छोराले पेट दुख्यो भनिरहेको थियो,’ टाँका पनि खोल्नु थियो । ‘ उनको बाबाले म हस्पिटल लिएर उपचार गराएर स्कुल पु¥याउँछु र म अफिसमा जान्छु भनेर बाबुलाई लिनभएको हो । उनका अनुसार धनबहादुरले आफू पनि प्रतिष्ठानकै कर्मचारी हो भनेपछि पनि डाक्टर शाहले बिरामी हेर्न इन्कार गरेका थिए । झगडा भएपछि आफुले छोरालाई जुम्लाको निजी ओम पोलिक्लिनिक लिएर उपचार गराएको उनले बताईन् । प्रहरीले धनबहादुरलाई पक्राउ गरेपछि यो विषयलाई भित्रै सहमति गरी मिलाउन पनि आफूले उच्चस्तरका पदाधिकारीसँग आग्रह गरेको उनले बताइन् । तर डाक्टरले नमानेपछि सहमतिको प्रयास नै गरिएन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले भने, छानबिन समितिले काम गर्दै थियो । सत्यतथ्य घटनाका बिषयमा समितिले प्रतिबेदन दिएपछि कारबाही गर्ने नै थियौँ । बीचमा डाक्टरलाई नै पक्राउ पुर्जी जारी भएपछि यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरु कसैले पनि इमरजेन्सीबाहेकका काम नगर्ने भनेका छन् । यसले थप समस्या सिर्जना भयो । उनले भने, ‘एक त कर्णालीमा डाक्टर ल्याउनै समस्या छ, त्यसैमाथि डाक्टरहरुलाई हातपात गरियाृ, अपमानित गरियो भने कसरी डाक्टरहरु आउने बाताबरण बन्छ । सबैले सोच्नु पर्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर कमल पन्थीले भने, डाक्टरलाई अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज गर्नुपर्छ । ‘हाम्रा साथीमाथि भएको अन्यायविरूद्ध अनिश्चितकालीन आन्दोलन सुरू गरेका छौं,’ माग पुरा नभए आन्दोलन जारी रहन्छ । जुम्लाका प्रमूख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले अदालतमा गईसकेका दुबै पक्षका मुद्धाहरु कानुनी प्रक्रिया अनुसार अगाडी बढ्ने भएकाले प्रतिष्ठानमा सेवा नियमित बनाउन प्रयास भईरहेको बताए । उनले भने, डाक्टर तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई छलफलबाटै रोक्नका लागि पहल गरिएको छ । बुधबार प्रशासनमा सर्बदलिय र सर्बपक्षिय छलफल गरेर समाधानको प्रयास गरियो । तर दुबै पक्षले आफ्ना बिषयहरु राखे । आ–आफ्नै अठान राखेका छन् । तर पनि हामीले आन्दोलन रोकेर सेवा सुरुवात गर्न दुबै पक्षहरुलाई दबाब गरेका छौँ । चाँडै नै समाधान हुने अपेक्षा गरेका छौँ ।
सामुहिक राजिनामाको घोषणा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । उनीहरुले शान्ति सुरक्षा नभएका कारण आफुहरुले काम गर्ने बाताबरण नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको घाषणा गरेका हुन् ।
उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएका छन् । डाक्टर र कर्मचारीको झगडाको बिषयमा अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर छानबिनसमेत चलिरहेको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुले पीडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला केही व्यक्तिहरुले नाबालकलाई प्रयोग गरेर डाक्टरलाई मुद्धा लगाई फसाउन खोजिएको भन्दै डाक्टरलाई लगाएको मुद्धा फिर्ता नगर्दासम्म सेवा दिन नसक्ने जनाएका छन् ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपकुलपति डा. रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा. साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ । जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं ।’ यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुट्टो मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास भइरहेको प्रति दुःख व्यक्त गरिएको छ ।
’शान्ति सुरक्षाको प्रत्याभूति नभएको अवस्थामा हामी सेवा दिन असमर्थ छौं,’ पत्रमा भनिएको छ, ‘कानुनी राज्यको आभाष नभएकोले विरोधको नयाँ स्वरुपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं ।’ उनीहरुले डा शाहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा शाहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन् । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डाक्टर शाहलाई पक्राउ पुर्जी जारी गरेको छ । डा. शाह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही गर्न माग गरिएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुव्र्यवहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाा जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।