Loading... आजः ३० चैत्र २०८०, शुक्रबार

खाद्यान्न निर्यातमा कडाइ गर्दै भारत, नेपालमा महँगी बढ्ने

वीरगन्ज : भारतले धान तथा चामल निर्यातमा कर लगाएर कनिका निर्यात बन्द गरेको छ। शुक्रबारदेखि लागू हुनेगरी बासमती र उसिनाबाहेकको चामल र धान निर्यातमा २० प्रतिशत कर लगाएको छ। यसले नेपालमा महँगी बढ्ने व्यवसायीले बताएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले उक्त निर्णय फिर्ता गराउन पहल गर्न नेपाल सरकारसँग माग गरेका छन्।

यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा कर शून्य थियो। पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण यो वर्ष धान उत्पादनमा ७० प्रतिशतले कमी बताइएको छ। त्यसबाट पर्ने असरको सामना गर्न धान र चामलको निर्यातमा कर लगाउने निर्णय गरेको हो। विश्वमा धान उत्पादनमा भारत, चीनपछिको दोस्रो ठूलो मुलुक हो।

भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको महँगी बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने भन्दै निजी क्षेत्रले विरोध जनाएको हो।
यसले नेपालमा खाद्यान्नको महँगी अझ बढ्ने मात्र नभई नेपालका खाद्यान्न उद्योग नै धराशायी हुने संघका अध्यक्ष डा. सुबोध गुप्ताले बताए। ‘तस्करी झन् मौलाउने र यसले नेपाल सरकारको राजस्व संकलनमा पनि कमी आउँछ,’ उनले भने ‘त्यसैले नेपाल सरकारले यो निर्णय सच्याउन पहल गर्नुपर्छ।’

गुप्ताका अनुसार देशभर साना ठूला गरी २५ सय चामल उद्योग छन्। तीमध्ये बारा, पर्सा औद्योगिक करिडोरमा मात्रै झन्डै ७ सयभन्दा बढी चामल उद्योग छन्। यी उद्योगले स्वदेशी उत्पादनले नपुगेर भारतबाट धान आयात गर्दै आइरहेका छन्। अब यहाँका चामल उद्योगमा ताला लगाएर बन्द नै गर्नुपर्ने अवस्था आएको अध्यक्ष गुप्ताले बताए।

  •     चामल र धान निर्यातमा २० प्रतिशत कर, कनिकामा प्रतिबन्ध
  •     नेपालमा महँगी बढ्ने मात्र नभई खाद्यान्न उद्योग नै धराशायी हुने

नेपालमा चामलको कुल खपत वार्षिक १८ लाख मेट्रिकटन छ। त्योमध्ये १० लाख मेटन मात्रै यहाँका उद्योगले उत्पादन गर्छन्। बाँकी भारतबाट आयत हुने गरेको छ। यस्तै धान पनि स्वदेशको उत्पादनले नपुगेर वार्षिक करिब १७ लाख मेटन भारतबाटै आयात हुने गरेको छ।

भन्सार विभागका अनुसार २०७८÷०७९ मा भारतबाट ५ लाख मेट्रिकटन धान, ५ लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिकटन कनिका आयात भएको थियो। उक्त तथ्यांकअनुसार गत वर्ष मात्रै कुल ४७ अर्ब ३५ करोड रुपैयाँ मूल्यको धान र चामल आयात भएको हो। गुप्ताले भने, ‘नेपालीले खाने चामल (भात) को जुन स्वाद छ त्यो जातको धान (सोनामन्सुली, बासमती, जिरा मसिनो इत्यादि) को उत्पादन भारतबाहेक अन्य देशमा हुँदैन। त्यसैले ती जातका धान वा चामल अन्य देशबाट ल्याउन सम्भव छैन।’

यस्तै भारतले शुक्रबारदेखि लागू हुने गरी कनिकाको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका बियर, ह्विस्की लगायतका मदिरा र पशु दाना उत्पादन गर्ने उद्योग पनि बन्द हुने अवस्थामा पुग्ने गुप्ताले बताए।
कनिकाको प्रयोग बियर, ह्विस्की र पशुदाना उत्पादनमा प्रयोग हुने गर्छ। उनले आइतबार काठमाडौं पुगेर प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र भारतीय राजदूतलाई भेटेर निर्णय सच्याउनका लागि आग्रह गर्ने बताए।

अन्नपुर्णबाट साभार ।