Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

प्रतिष्ठानका डाक्टर र स्वास्थ्यकर्मीहरुद्धारा आन्दोलन फिर्ता

कालिकोट- डाक्टर र कर्मचारीको झगडाका कारण आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई लगाईएको मुद्धा फिर्ता लिन तयार भएपछि आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आफ्नो आन्दोलन फिर्ता लिएका हुन् ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्रबहादुर महतले जुम्लामा बुधबार र बिहिबार प्रशासनमा भएको सर्ब पक्षिय सर्बदलिय छलफलमा सहमति भएपछि प्रतिष्ठानका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आफ्नो आन्दोलन फिर्ता लिएर शुक्रबारदेखी नियमित सेवा प्रबाह गर्न तयार भएको जानकारी दिए । उनले भने, प्रतिष्ठानमा कार्यरत डाक्टर करण शाह र प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाहीबीचको झगठाका कारण भदौ २ गतेदेखी यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरु आन्दोलित थिए । जसका कारण सेवा प्रबाहमा समस्या भएको थियो । दुई दिन अगाडीदेखी आकस्मिक बाहेकका सबै सेवा ठप्प थिए ।
उनले भने, प्रशासनमा बुधबार र बिहिबार जुम्लाका सबै राजनीतिक दल, नागरिक समाज, प्रशासन र प्रतिष्ठानका पदाधिकारीहरुका बीचमा समिक्षा सहितको गम्भीर छलफल भयो । छलफल पछि प्रतिष्ठानका सबै डाक्टर तथा स्वास्थ्यकमीृहरुलाई सुरक्षित रुपमा सेवा प्रबाह गर्न सबैले सहयोग गर्ने प्रतिबद्धता जनाईयो । डाक्टर करण साहलाई लगाईएको बाल हिंसाको मुद्धा पीडक धनबहादुर शाहीकी पत्नी आशा हमाल शाहीले फिर्ता लिनका लागि निबेदन दिईन् । श्रीमानलाई मुद्धा लगाईएकाले आवेशमा आएर अर्को मुद्धा दिएको स्वीकार गरिन् । त्यसपछि सर्बपक्षिक सहमति भएर अब प्रतिष्ठानले शुक्रबारदेखी नियमित सबै सेवा दिने भएको छ ।
भदौ २ गते ओपिडी असिस्टेन्ट शाही आफ्ना ६ वर्षीय छोराको बिद्यालय ड्रसमा उपचार गराउनका लागि ९ बजे प्रतिष्ठानमा पुगेका थिए । उनको छोराको टाउकोमा चोट लागेर टाँका लगाइएको थियो । त्यो टाँका खोल्नु थियो । टाँका खोलेर बालकलाई बिद्यालय पठाउने तयारी थियो । ओपिडी नखुलिसकेकोले उनले छोरालाई सिधै आकस्मिक कक्षमा उपचारका लागि लिएका थिए । उनले त्यहाँ भएका डाक्टर साहसँग छोराको सामान्य पेट दुखेको र टाउकोमा टाका लगाइएकोले त्यसलाई काट्नुपर्ने बताए । डाक्टरले उनलाई यस्तो सानोतिनो कुराको लागि इमरजेन्सी वार्डमा उपचार नगरिने र ओपिडी खुलेपछि उपचार गर्न जान सुझाव दिए । धनबहादुरले बारम्बार अग्रह गर्दा पनि उपचार गर्न नमानेपछि डाक्टरमाथि नै हातपात गर्न पुगेका थिए । डाक्टर र कर्मचारी बीचको उक्त लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको थियो ।
जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर शाहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरूद्धमा संस्थाका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका थिए । आइतबार डाक्टर शाहमाथि बालहिंसा गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो । प्रहरीले जाहेरीका आधारमा चलाएको प्रक्रियाअनुसार अदालतले उनलाई सोमबार पक्राउ गर्न पुर्जी जारी ग¥यो । डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर शाहीलाई पनि बिहिबार जुम्ला अदालतले तीन लाख धरौटीमा रिहा गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले भने, छानबिन समितिले काम गर्दै थियो । सत्यतथ्य घटनाका बिषयमा समितिले प्रतिबेदन दिएपछि कारबाही गर्ने नै थियौँ । बीचमा डाक्टरलाई नै पक्राउ पुर्जी जारी भएपछि यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरु कसैले पनि इमरजेन्सीबाहेकका काम नगर्ने भने । बिहिबार डाक्टर माथि लगाईएको बाल हिंसाको मुद्धा फिर्ता लिनका लागि सहमति भएकाले आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरु पनि शुक्रबारदेखी काममा फर्किने भएका छन् । उनीहरुले दिएको सामुहिक राजिनामा पनि फिर्ता लिने सहमति भएको छ । उनले भने, ‘एक त कर्णालीमा डाक्टर ल्याउनै समस्या छ, त्यसैमाथि ६० जना डाक्टरहरुले एकै पटक राजिनामा दिदा प्रतिष्ठान बन्द हुने अवस्था आयो । त्यसैले मैले सबैलाई आफ्नो राजिनामा फिर्ता लिन आग्रह गरेको थिए । सबैले मानिदिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डाक्टर कमल पन्थीले भने, डाक्टरमाथि लगाईएको मुद्धा फिर्ता हुने भएपछि आफुहरुले आन्दोलन फिर्ता लिएर नियमित सेवामा फर्किने भएको बताए । उनले भने, ‘हाम्रा साथीमाथि भएको अन्यायविरूद्ध अनिश्चितकालीन आन्दोलन सुरू गरेका थियौँ । हाम्रो माग पुरा हुने भएपछि आन्दोलन फिर्ता लिएर सेवा दिन तयार भयौँ । यहाँका सबै सरोकारवालाहरुले आफुहरुलाई काम गर्ने उचित बाताबरण बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकाले पनि हामी विस्वस्त छौँ । यस्ता घटनाहरु फेरी दोहोरीने छैनन् । नेपाली कांग्रेस जुम्लाका सचिव गोल्डेन कठायतले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न जुम्लामा क्रियाशील सबै राजनीतिक दलहरुले चासो देखाएर डाक्टरहरुलाई अनुरोध गरिएको बताए । उनले भने, हामी सबैले बृहत छलफल गरेर सहमति गरेका छौँ । सबै पक्षले सहमति कार्यन्वयन गरेर प्रतिष्ठानबाट प्रबाह गर्ने सेवाहरु नियमित गर्ने र डाक्टरलाई लगाईएको मुद्धा फिर्ता गर्ने सहमति गरेका छौँ । यसमा सबै पक्षले सहमति जनाएका छन् ।