सुनार खोलामा सास्ती, हरेक दिने सडक अवरुद्ध
कालिकोट : वर्षायाम सुरु भएसँगै बर्सेनि कर्णाली राजमार्गमा यात्रुहरूले सास्ती पाउने गरेका छन्।
कर्णाली राजमार्गको कालिकोट खण्डको सुनार खोलाका कारण यात्रुलाई सास्ती भएको हो।
पानी परेपछि सडक अवरुद्ध हुन्छ। जीर्ण सडकमा ट्रक फस्छ। सडक बन्द हुन्छ। धेरै मानिसहरू सदरमुकाम पुग्न पाँच किलोमिटर यात्रा गर्छन्।
सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यो सडकमा यात्रा गर्ने यात्रुहरूले हैरानी खेप्दै आएका छन्। खोला माथिको स्थानीयको जग्गा पनि बगेर सकिन लागेको छ।
जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी जयस्वर रिमाल भन्छन्, ‘सुनार खोलाले प्रहरीलाई पनि हैरान बनाएको छ। हरेक दिन सडक अवरुद्ध हुन्छ। यात्रुहरूले फोन गरिरहन्छन्। प्रहरीको टोली गएर पहिरो पन्छाउने र फसेका गाडीहरू तान्ने काम गर्छन्।
कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्र दर्जनौँ ठाउँमा पहिरो खस्छ। जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्ली लगायतका वर्षाको समयमा पहिरो खस्ने समस्या छ। तर अन्य ठाउँहरूमा कहिलेकाही पहिरो आउँछ।
एक पटक पहिरो पन्छाए केही समय समस्या हुँदैन। तर सुनार खोलामा भने समस्या समाधान हुँदैन। यही खोलाका कारण प्रहरीले बेलुका ६ बजेपछि हुल्मबाट गाडीहरू अगाडि बढ्न दिँदैन्। राति सडक अवरुद्ध हुँदा यात्रुहरूलाई खान बस्न समस्या हुने भएपछि प्रहरीले राति गाडी हुल्म बजारमै रोक्छ।
सुर्खेतदेखि कालिकोट जीपमा आएका यात्रु मीम बुढाले सुनार खोलाको पहिरोले सडक अवरुद्ध गर्दा सडकको पेटीमै पाँच घण्टा बिताएको बताए।
उनले भने, ‘सुर्खेतबाट आफूहरू ५ बजे सुनार खोला पुगेका थियौँ। सामान्य पानी परिरहेको थियो। माथिबाट पहिरो बगेर सडक अवरुद्ध थियो। पहिरो पन्छाउदा पनि निरन्तर बगेको बगै भयो। पहिरो रोकिएपनि अगाडि ट्रक फस्दा राति १० बजे मात्र सडक खुल्यो।’
ट्रक चालक उमेश थापाले सुर्खेतबाट दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ल्याएर कालिकोट हिँड्दा गन्तव्यमा पुग्नै मुस्किल हुने गरेको बताए।
उनले हिउँदको समयमा एकै दिन सुर्खेतबाट कालिकोट पुग्ने भएपनि वर्षायाम लागेपछि त्यही सडकमा चार दिनसम्म लाग्ने गरेको बताए।
सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर राजिब श्रेष्ठले सुनार खोला र गगने खोलाको पहिरोको रोकथामका लागि सडक विभागका टोलीले अध्ययन गर्ने बताए। उनले यी दुई खोलामा पहिरो रोक्न ठेक्का भइसकेको बताए। टोलीको अध्ययन र सुझावका आधारमा काम अगाडि बढाउने उनको भनाइ छ।
कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा पहिरोको जोखिम छ। कालिकोटका प्रमूख जिल्ला अधिकारी रामहरि शर्माले भने, ‘यसका विषयमा डिभिजन सडक कार्यालय जुम्लासँग निरन्तर समन्वय भइरहेको छ। विगतका वर्षहरूमा हप्तौँसम्म सडक अवरुद्ध हुने समस्या थियो। यो वर्ष भने सडक अवरुद्ध हुन दिएका छैनौँ। डिभिजन सडकको डोजर स्टेन बाई राखेका छौँ। जहाँ समस्या आउँछ त्यहाँ पठाउछौँ।’
राजमार्ग सञ्चालनमा आएको १५ वर्ष बित्तिसक्यो। यो सडक सञ्चालन हुँदा जुन अवस्थामा थियो। अहिले पनि जस्ताको त्यस्तै छ।
अन्नपुर्णबाट साभार ।
ई-कर्णाली खबर
२७ भाद्र २०७९, सोमबार ०९:१४