Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

नेपालमा ५५ देशबाट वैदेशिक लगानी

काठमाडौं : नेपालमा ५५ देशबाट वैदेशिक लगानी भित्रिएको पाइएको छ। जसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा आएको छ। नेपालमा सबैभन्दा बढी लगानी भारतले गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतबाट ७५ अर्ब ८० करोड रुपैयाँ भित्रिएको छ।

चीनबाट ३३ अर्ब भित्रिएको छ। आयरल्यान्डबाट १६ अर्ब ५० करोड तथा सिंगापुरबाट १५ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो २०७८ असार मसान्तसम्मको तथ्यांक हो। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ।

चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २०२०/२१’ प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानीको अवस्थाबारे देखाएको छ।

नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानीको ६०.५ रकम औद्योगिक क्षेत्रमा गएको प्रतिवेदनले देखाएको छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रतिवेदन प्रकाशन गर्दै आएको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन्। अघिल्ला वर्षहरूको तुलनामा मुलुकभित्र रहेको एफडीआईको स्टक सन्तोषजनक नै रहेको छ।

समय सरकारले हेजिङ विनियमावली जारी गरेकाले अझै बढ्ने अपेक्षा गरिएको उनले बताए। तर एफडीआईलाई धेरै कुराले प्रभावित पार्ने भएकाले ढुक्क हुने अवस्था नरहेको उनले बताए। ‘अधिकांश लगानी जलस्रोतमै सम्भावना भएर हो। यसबाहेकका क्षेत्रमा एफडीआई भित्रिन नसक्नु नेपालमा त्यसको बजार सानो भएर हो,’ उनले भने, ‘छिमेकीको बजारमा छिर्न सजिलो छैन। अहिलेको बलियो सम्भावना  जलविद्युत् नै हो।’

ठूला परियोजनामा कानुनी सल्लाहकारका रूपमा काम गरेका कानुनविद् प्रा.डा. गान्धी पण्डित ठूला लगानी नेपाल भित्रिने वातावरण नै नभएको बताउँछन्।  अझ विदेशी लगानीमा हाम्रो सोच संकुचन भएको उनले औंल्याए।

अन्नपुर्णबाट साभार ।