Loading... आजः ४ बैशाख २०८१, मंगलवार

स्वरुप बदलियो, बिभेद उस्तै

कालिकोट- गत भदौ २६ गते जिल्लाको पलाँता गाँउपालिका वडा नं. ९ ठुके स्थित दलित बस्तिमा रहेको भवानी धल्पुराको थानमा आईतबार पैठमा पुरानो संस्कार नमानेको भन्दै दलितहरुको पैठ रोकियो । पलाँता गाँउपालिका वडा नं. ९ ठुके स्थित दानबहादुर बिकको घरमा रहेको भवानी धल्पुराको थानको पैठ थियो । दलित बस्तीको पैठमा बमका धामी काँप्न (पतुर्न) का लागि दलितका धामीले मुखमा घाँस र पछाडी गोबर च्यापेर बमका धामीका दौरा(धामीले लगाउने कपडा)को खुटा फुकाल्न लगाईयो । त्यहाँका दलित समुदायहरुले उक्त कु–संस्कार मानेन् । त्यो प्रथा नमान्दा दलित समुदायका धामीहरुले पनि काँप्न पाएनन् । अन्तत पैठ नै रोकियो ।

गत बर्ष पुजाकै बेला जिल्लाको शुभकालिका गाँउपालिका वडा नं ८ निवासी पदम कामीको २२ बर्षिया छोरा पंख बिकलाई जातिय बिभेद गरी कुटपीट गरियो । शुभकालिका गाँउपालिका वडा नं. ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दीरमा साउन २६ गते पुजा थियो । उक्त पुजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भनेर स्थानिय ठकुरीहरुले दुव्र्यवहार गरी कुटपीट गरे । दुई बर्ष अगाडी जिल्लाको सान्नीत्रिवेणी गाँँउपालिका वडा नं. ६ का वडा अध्यक्ष रंगराज सार्की नै जातिय बिभेदको शिकार भए । उनलाई वडा सचिवले नै दुव्र्यवहादुर गरे ।

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ४ लुवारगाँउ निवासी आदी विक ६२ बर्षका भए । उनी ७ बर्षको हुँदा गाँउमा जुन किसिमको जातका नाममा हुने बिभेद जस्तो थियो । आज पनि उस्तै छ । उनले मुलुकमा भएका बिभिन्न राजनीतिक परिवर्तनहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी पनि भए । २०५२ सालमा तत्कालिन बिद्रोही माओबादीले सुरु गरेको सशष्त्र द्धन्द्धको समयमा पनि उनी सदरमुकामसँग जोडिएको गाँउको भएकाले निकै त्रसित भएर बसे । गाँउमा जातका नाममा हुने कुनै पनि बिभेद गरिनु हुँदैन भनेर नारा लगाउने कयौँ अभियानहरुमा पनि सहभागी भए । तर जुन बिभेद विगतमा थियो । त्यही बिभेद अहिले पनि सहदै आएका छन् ।

६२ बर्षिया विकले भने, पहिले सिधै बिभेद हुन्थ्यो, अहिले नदेखिने गरी बिभेद हुने गरेको छ । गाँउमा हुने विकासी योजनाको उपभोक्ता समिति बन्दा अध्यक्षमा स्वीकार्दैनन् । अहिले पनि धारामा पानी भरेर दलित फर्किदा धारो पखालेर चोखा जातका भन्नेहरुले पानी खान्छन् । हामी गाँउमा जाँदा पहिले आँगनको डिलमा बस्थ्यौँ । अहिले पनि गाँउमा जाँदा ढोकामा राख्छन् । मर्दा पर्दा हामी दलित समुदायका मान्छेहरु माथिल्ला जातका मान्छेहरुको सहयोगी बन्छौँ । तर उनीहरु हाम्रा राम्रा नराम्रा कामहरुमा सहभागी नै हुदैनन् । उनले भने, जातिय बिभेद मुक्त बनाउने नारामा मात्र सीमित छ । बिभेदको स्वरुप बदलिएको छ, अवस्था उस्तै छ ।

यस्तै लुवार गाँउकी भुरु कामीको अनुभव पनि उस्तै छ । कामीले भनिन्, गाँउमा बिभेद गर्नु हुँदैन भन्नेहरुबाटै बिभेद हुने गरेको छ । जातिय बिभेद नभएको जस्तो चुनावका बेला मात्र हुन्छ । जति वेला गाँउमा भोट माग्नका लागि बाहुन, ठकुरी, क्षेत्री समुदायका नेताहरु आफ्ना घर आउछन् । खाना खान्छन र बिभिन्न सपनाहरु बाँडेर जान्छन् । तर चुनाव सकिएपछि फेरी फर्किदैनन् । लुवारगाँउकै ३२ बर्षका खड्क बिकले आफुसँग पढ्ने साथीकै घरमा पस्न नपाउने गरेको बताए । उनले भने, जातिय बिभेद अहिले पनि उस्तै छ । गाँउमा हुने सामुहिक भोजमा दलित र गैर दलित एकै ठाँउमा हुँदैन् । देउताको कुल देवताको पुजामा दलितको मन्दीरमा सबै पुजारीको नजीकमा बस्न आउछन तर पाण्डे र ठकुरीको टोलमा कुलदेवता पुज्न जाँदा मन्दीर भित्र प्रवेश गर्न रोक लगाईन्छ । जनयुद्धको बेला दलितको घरमा बस्नेहरु अहिले परिवर्तन भए । उनीहरुले पनि अहिले दलिलतको घरमा पस्दैनन् ।

खाँडाचक्र नगरपालिका वडा नं. ४ का निबर्तमान वडा अध्यक्ष धनसिंह कामीले माथिल्ला जातका मानिसहरु सेवा लिन वडा कार्यालय आएपछि नमस्कार समेत नगर्ने गरेको बताए । उनले आफ्ना समकक्षि वडा अध्यक्षले आफ्नो ब्रत रहेको भन्दै हात मिलाउन समेत नमालेको अनुभव सुनाए । उनले भने, गाँउमा जातिय बिभेदको खाडल पुरीनसक्नु छ । जातिय बिभेद सम्बन्धि सचेतनाका कार्यक्रमहरु पनि गरेका छौँ । बिभिन्न अभियानहरु पनि चलाएका छौँ । बिभेद गर्ने र सहनेको अवस्था उस्तै छ । गाँउमा दलित समुदायहरु बिभेद भयो भनेर कानुनी उपचारका लागि संम्बन्धित निकायमा पनि जाँदैनन् । बिभेद हुने बित्तिकै कानुनी निकायमा उजुरी दिनका लागि दलित समुदायलाई उत्प्रेणा दिने कार्यक्रमको खाँचो छ ।

दलितले पाउदैनन् जन्ती र मलामी

जिल्लाका अधिकांश समुदायमा माथिल्लो जात भन्नेहरुको अवहेलना दलित समुदायले निरन्तर भोग्दै आएका छन् । जातकै आधारमा बिभिन्न खालका बिभेद सहदै आएका दलित समुदायहरुमा मान्छे मर्दा उपल्ला जातिका मानिसहरु जन्ती र मलामी समेत नजाने गरेको दलित अगुवा बताउछन् ।

ब्रामण, क्षेत्री, ठकुरी लगायतका उपल्ला जातहरुको बिबाह, ब्रतबन्ध, छैटी पैठी लगायतका शुभ कार्य तथा मर्दाका मलामी जाँदा दलित समुदायका नागरिकहरु जाने गरेपनि दलितको बिबाह, ब्रतबन्ध, छैटी पैठी लगायतका शुभ कार्य तथा मान्छे मर्दा मलामी समेत उपल्ला जातीहरु नजाने गरेको जिल्लाको नरहरीनाथ गाँउपालिका लालु निवासी रतनसिंह दर्जीले बताए । उनले भने, हाम्र गाँउमा मान्छे मर्दा मलामी आउदैनन् । बिबाहमा जन्त पनि जाँदैनन् । हामीले उपल्ला जातिका मर्दा, पर्दा र शुभ काममा जानै पर्छ ।

पंचालयतकालदेखीको अनुभव संगालेका ६२ बर्षया बृद्ध दर्जीका अनुसार गाँउमा हुने विकास निर्माणका आयोजनाको उपभोक्ता समितिको नेतृत्वमा पनि दलितलाई स्वीकारर्दैनन् । बिद्यालयमा हाम्रा बालबालिकाहरुले बिभिन्न खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागीता जनाउन पाउदैनन् । उनले भने, पहिले पहिले आफुहरुलाई छेएपछि छिटो हाल्थ्ये । अहले छिटो हाल्न छाडे । छुवाछुत कायमै छ । उनले भने, अहिले पनि उपल्ला जातका उमेर र नातामा सानो मान्छेहरुलाई पनि दलित समुदायका जेष्ठ नागरिकले ढोक्नु पर्ने, आदर गर्नु पर्ने परम्परा पनि कायमै छ । धारामा पानी भर्ने कामदेखी बाटोमा हिड्ने बेला पनि आफुहरुले पछाडी पर्ने गरेको अनुभव सुनाए ।

गाँउमै मिल्छन् जातिय छुवाछुतका मुद्धा

जातिय छुवाछुतका मुद्धा गाँउमै मिल्ने गरेका छन् । प्राय ः न्यायमा पहुँच नहुनु र दलित समुदायका मानिसहरुमा सचेतनाको अभावका कारण बिभेदका घटनाहरु गाँउमै समाधान गरिन्छ । जिल्ला प्रहरी कार्यालय कालिकोटको तीन बर्ष अगाडीदेखी हालसम्मको मुद्धा दर्ताको तथ्यांक हेर्दा जातिय छुवाछुतका मुद्धा एउटा मुद्धा दर्ता भएको छ । प्रहरीका अनुसार आर्थिक बर्ष ०७७÷०७८ मा एउटा बिभेदको मुद्धा दर्ता भएको छ । त्यो बाहेक विगत ५ बर्ष अगाडी एउटा पनि बिभेदको मुद्धा प्रहरीमा आएको छैन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी जयस्वर रिमालले जातिय छुवाछुतका मुद्धाहरु प्रहरीकहाँ आउनै नदिई गाँउमै मिल्ने गरेको बताए । उनले भने, उजुरी नै आउदैनन् प्रहरीमा । विगत पाँच बर्षको अभिलेख हेर्दा जातिय बिभेदको उजुरी प्रहरीमा आएको छैन् । आर्थिक बर्ष ०७७÷०७८ मा एउटा बिभेदको मुद्धा दर्ता भएको पाईयो । बिभेदमा परेका नागरिकहरुलाई हामीले कसरी न्याय दिने । पलाँता ९ स्थित पैठमा भएको घटनाको बिषयमा म थिर्पु प्रहरीसँग सोध्छु । अन्याय गर्नेलाई प्रहरीले उन्मुक्ति दिदैन् । पीडित नागरिकहरुले कानुनी प्रक्रियामा आउनु पर्छ । उनले भने, दलित समुदाय आर्थिक, सामाजिक, सास्कृतिक लगायतका हिसवले पछाडी छन् । पीडितहरुले उजुरी गर्न आउने आँट मात्र गर्ने हो भने बिभेद कम हुन्छ ।