कांग्रेसमा कचिंगल
काठमाडौं : सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो। ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए। सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं।’
उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु। अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता। पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म पुगेको छ।
सोमबारदेखि नै बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ। बैठकको उद्देश्य पनि यो किचलोलाई अन्त्य गर्ने भएको नेताहरू बताउँछन्। तर, उनीहरूले भनेजस्तो सहज रूपमा यो समस्या समाधान भएको छैन। यता धर्नामा बसेका नेताहरूको अडान पनि उस्तै छ। धर्नामा सहभागी कांग्रेसका नेता जगदीश नरसिंहकेसी भन्छन्, ‘हामी पार्टीको विरुद्धमा छैनौं। हामीले मौन विरोध जनाएका छौं। त्यसैले हामी प्ले–कार्ड बोकेर नाराबाजी गरेनौं एकदमै मौन अवस्थामा अघि बढेका हौं।’
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकालाई चुनावमा टिकट नदिने नीति लिएर एकलौटी रूपमा अघि बढेको आरोप इतर पक्षको छ। उक्त समूहले पार्टीको महाधिवेशन देखिनै छुट्टाछुट्टै भेला र बैठक गर्दै आएको थियो। उक्त गुटको छलफल, भेला र बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चितता नभए संघर्ष गर्ने निर्णय गरेको पनि केसीले बताए। भने, ‘हामी अहिले सिम्बोलिक आन्दोलनको चरणमा छौं। त्यसैले शान्त भएरै पार्टीभित्र अधिकार मागेका छौं। बिहीबार पनि अनुपम फुडल्यान्डमा छलफल राखेका छौं। हेरौं अवस्था कस्तो हुन्छ।’
सोही समूहका अर्का नेता भुपेन्द्रजंग शाहीले भने समानुपातिकको सूची तयार गर्दा इतर समूहसँग छलफल भएको भनेर हल्ला पनि छलफल नभएको दाबी गरेका छन्। उनले भने, ‘त्यस्तो सहमति भएको होइन। सूची हेर्दै पनि थाहा हुन्छ। सल्लाह छलफल भएको भए यस्तो सूची आउने थिएन। हाम्रो पक्षका साथीहरूका नाम समावेश भएकाको नाम पनि पछाडि राखिएको छ।’
महाधिवेशनमा आफूलाई मत नदिएको आधारमा सभापतिले अहिलेसम्म बदलाको व्यवहार गरेको भन्दै पार्टीभित्र न्याय र समान अवसरका लागि अहिलेको दबाबपूर्ण कार्यक्रम गरिएको शाहीले बताए। थपे, ‘एकलौटी निर्णय गर्ने बानी सभापतिजीमा देखिएको छ।’
इतर समूहले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन्। अर्कोतिर प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन्। हाल निर्वाचन आयोगमा कांग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेको उनीहरूले बताउँदै आएका छन्।
आन्दोलन गर्ने पक्षका एक नेताका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जनामध्ये १३ जना इतर पक्ष र बाँकी संस्थापन पक्षका छन्। जसमध्ये केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ। समानुपातिकमा करिब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापनलाई दबाब दिन पार्टी कार्यालय सानेपा, ठमेल, र बत्तीसपुतलीमा भेला गर्दै आएका छन्। शेखर समूहले अहिले ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ।
स्थानीय तहको निर्वाचनमा पनि सत्तागठबन्धन दलबीच समीकरणलाई लिएर कांग्रेसभित्रै दुईथरी मत थियो। संस्थापन समूह समीकरणको पक्षमा थियो भने इतर समूह विपक्षमा थियो। दुवै समूहले आ–आफ्नो स्वार्थलाई केन्द्रमा राखेर पार्टीभित्र जनमतमा लागेका थिए। अन्ततः स्थानीय तहमा समीकरणमै कांग्रेस गएको थियो।
स्थानीय निर्वाचनमा संस्थापन समूहका लागि सत्ता गठबन्धन जोगाउने प्रमुख स्वार्थ थियो। अहिले आसन्न निर्वाचनमा पनि गठबन्धन जोगाएरै निर्वाचनमा जाने र आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा सत्ताको चाबी लिने दाउमा संस्थापन पक्ष छ। आसन्न निर्वाचनमा पनि इतर समूह गठबन्धन नगर्ने भनेर अन्तिम समयसम्म पनि गठबन्धन नगर्ने भन्दै आएका थिए। यद्यपि गठबन्धन गरेर जाने विषयमा देउवाले इतर समूहलाई सहमतिमा ल्याउन सफल भएका थिए। सिट बाँडफाँटमा भने उनलाई चित्त बुझाउन सकस भएको छ।
प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने भन्ने हिसाबले अहिले दबाब सिर्जना गरिएको उनीहरूले बताउँदै आएका छन्। त्यसो त पछिल्ला दिनमा हुँदै आएका गुटका भेला र छलफलमा पदाधिकारी तहका शीर्ष नेता कोही सहभागी छैनन्। विरोध गर्नेमा दोस्रो तहका नेताहरू छन्।
काठमाडौंमा नै बुधबार आफ्नो निर्वाचन क्षेत्रको एक कार्यक्रममा सहभागी भएका पार्टीका महामन्त्री गगन थापाले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थापन गर्न नजान्दा पार्टीमा झन् समस्या बढ्दै गएको बताएका छन्। उनले भने, ‘पार्टी चलाउन सभापतिले पनि जान्नु भएको छैन। हामीले पनि कता कता ढंग पुर्याउन सकिएन।’
कांग्रेसले वडा देखिनै चुनावमा जाने कोसिस राम्रो गरे पनि केन्द्रीय नेतृत्वमा आइराख्दा कताकता नमिलेको देखिने थापा बताउँछन्। ‘त्यसमा सभापतिजी पनि अलमलमै हुनुहुन्छ। हामीले पनि जानेनौं अहिलेको सभापतिज्यूले पनि जानिराख्नु भएको छैन। मैले पनि जानेको छैन। हामी कसैले पनि ढंग पुर्याएका छैनौं। तरिका पुर्याइरहेका छैनौं जसको कारणले गर्दा पार्टीभित्र ठूलो असन्तुष्टिहरू देखिएको छ,’ थापाले भने, ‘पार्टीभित्र गुट र उपगुटका कारण पनि संगठन परिचालन र सञ्चालनमा समस्या आएको छ।’
कांग्रेसका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने गठबन्धनमा हुँदा सबैको आकांक्षाहरू पूरा हुन सहज नहुने भन्दै कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै लाग्नुपर्ने बाध्यता रहेको बताए। भने, त्यसो हुँदा कांग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ। त्यसको लागि त्याग गर्ने हो।’ उनले समानुपातिकको सूची निर्णय पदाधिकारी पूर्वपदाधिकारी संसदीय बोर्ड, प्रदेशका सभापति आमन्त्रित सदस्यहरू, सातै प्रदेशका नेताहरू सहभागी भएरै बनाइएको बताए। महतले पार्टीभित्रै एउटा पक्षलाई पक्षपोषण गर्ने अर्कोलाई नगर्ने केही पनि नभएको भन्दै छलफल सहमति भएरै निर्णय लिइएको बताए। महतले भने, ‘यस्तो गर्छु उस्तो गर्छु भन्ने अभिव्यक्ति आएको छ। बन्दसूची बनाउँदा पक्ष विपक्ष हेरर बनाइएको होइन। गठबन्धनका कारणले पनि कतिपय साथीहरूलाई समावेश गर्न नसकिएको हो।’
‘के–के न भएको जस्तो गरेर बाहिर केही साथीहरू बोलिरहनु भएको छ। अहिले पार्टीकै साथीहरूले अनावश्यक बखेडा गरेको राम्रो देखिएको छैन। सर्वसम्मति निर्णय भइसकेको छ। यो सबै निर्णयहरू विधि विधानअनुसार भएको छ। बहुमतमात्रै होइन सर्वसम्मतिबाट भएको हो। अभिव्यक्ति दिनेहरू सबैलाई पार्टीले मूल्यांकन गर्छ।’
सभापति देउवालाई कोइरालाको चिठी
यसैबीच कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति देउवालाई पत्र लेख्दै पनि खबरदारी गरेका छन्। उनले समानुपातिक सिट अंश, वंश, अर्थ प्रेरित, पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन्।
समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने उनको भनाइ छ।
समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मविपरीत पहुँचवाला, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरूलाई प्रस्ताव गरिएको उनको टिप्पणी छ। समानुपातिक सिट आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने भन्दै उनले ध्यानाकर्षण पत्रमार्फत ६ बुँदे सुझाव दिएका हुन्। जसमा पहिलो बुँदामा भनिएको छ, ‘संघ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पतीबाट एक जनाभन्दा धेरैलाई अवसर नदिइयोस्।’
अन्नपुर्ण पोष्टबाट साभार ।
ई-कर्णाली खबर
१३ आश्विन २०७९, बिहीबार ०४:०४