Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

गठबन्धनकै पक्षमा सत्तारुढ दल

काठमाडौं : स्थानीय चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल गर्ने सहमति भएको थियो। तर, मधेसका १ सय २६ पालिकामध्ये वीरगन्ज, सिमरा, जनकपुरलगायत स्थानमा गठबन्धन थियो। यद्यपि त्यो पनि सफल भने हुन नसकेको नेताहरू बताउँछन्।

यति बेला सत्ता गठबन्धनमा पूर्वसहमतिअनुसार भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बार्गेनिङ चलिरहेको छ। ३२ सिट दाबी गरेको  जसपाले कम्तीमा २२ सिट पाउने अपेक्षा राखेको जनाइएको छ। अन्य दल भने १४ सिटसम्ममा मनाउन लागेका छन्। यो प्रस्तावमा जसपा अध्यक्ष यादव सहमत भएका छैनन्। यादवले सम्मानजनक भाग नमिले गठबन्धनबाट चुनाव नलड्ने चेतावनी पटक–पटक दिएका छन्।

अहिले गठबन्धनमा भए पनि चित्तबुझ्दो सिट पाइएन भने जसपाले केही विकल्प पनि राखेको यादव बताउँछन्। ‘सकेसम्म चित्तबुझ्दो सिट पाउँदा गठबन्धनबाटै निर्वाचनमा जाने हो। नत्र अरू विकल्प पनि राखेका छौं’, यादव भन्छन्।

महन्थ ठाकुर नेतृत्वको लोसपाले सत्ता गठबन्धनमा मिल्न प्रयास गरेको थियो। ठाकुरको पार्टी आएको खण्डमा जसपा निस्कने भनेपछि गठबन्धनका शीर्ष नेताले गठबन्धनमा ल्याएका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले भने कांग्रेसको भागमा परेको सिटबाट केही दिएर भए पनि लोसपालाई भागबन्डा गर्ने तयारीमा रहेको गठबन्धनकै एक नेता बताउँछन्।

कांग्रेस सकेसम्म मधेसी दललाई थुम्थुमाएरै लैजाने रणनीतिमा देखिन्छ। किनभने, मधेसमा कांग्रेसको प्रतिस्पर्धा यिनै दलसँगै हुने हो। मधेसकेन्द्रित नेताहरू भने जसपा, लोसपा र सीके राउतको जनमत पार्टीलाई मिलाएरै लैजान चाहन्छन्। राउतले हालै तालमेल गरेर जाने संकेत काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेका थिए। कांग्रेससँग जसपाको कुरो मिलेन भने यो विकल्पमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष यादव तयार रहन सक्ने जनाएको छ।

मधेसमा तीन ध्रुव बन्न सक्ने विश्लेषक बताउँछन्। जसमध्ये कांग्रेस पहिलो, एमाले दोस्रो र मधेसी गठबन्धन तेस्रो ध्रुवमा उभिने सम्भावना पनि रहेको मधेस प्रदेशकै नेता बताउँछन्। मधेस प्रदेशसभामा जसपा ३९, कांग्रेस १९, लोसपा १५, एमाले र माओवादी ८÷८ सिटमा थिए। लोसपा कार्यकारिणी सदस्य तथा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल तत्काल जसपासँग मिलेर जाने सम्भावना नरहेको बताउँछन्। भन्छन्, ‘राजनीतिमा असम्भव भन्ने त केही हुँदैन। यद्यपि मिल्ने सम्भावना कम छ।’

अहिलेको गठबन्धनलाई यथावत् राख्ने प्रयासमा पनि गठबन्धनका नेताहरू छन्  उपेन्द्र यादवले यसका लागि यादवले मागेका ३२ सिट नै प्राप्त नगरे पनि न्यूनतम चासो सम्बोधन गर्न कांग्रेस, माओवादी र एकीकृत समाजवादी तयार हुनुपर्ने सरोकारवाला बताउँछन्।

जसपा नेता रामसहायप्रसाद यादव मधेसमा सबैभन्दा धेरै मत ल्याउने आधार भएको पार्टी पाएको बताउँछन्। ‘हामीले मधेस प्रदेशमा मात्र सिट माग गरेका छौं। त्यहाँबाट बाँकी रहेको लुम्बिनी र १ नम्बर प्रदेशमा १–२ सिट मागेका छौं। त्यसमा अरू पार्टीभन्दा जसपाको नै आधार क्षेत्र बलियो छ। बलियो भएका कारण हामीले दाबी गरेका छौं’, नेता यादव भन्छन्, ‘अहिले जति पनि जनता अर्को पार्टीहरूमा प्रवेश गरेका छन् ती सबै मधेसवादी दलमा नअटेका कारणले भड्किएर हिँडेका हुन्। यो सामान्य कुरा हो यसले कुनै प्रभाव पार्दैन।’

लोसपा नेता केशव झा सत्तारुढ गठबन्धनसँग समन्वय गरेर जाने अवस्था नरहेको बताउँछन्। ‘हामीले मधेसमा लोसपाको स्थिति अभैm सुधारेका छौं। समग्रमा नराम्रो स्थिति छैन। यद्यपि निर्वाचनमा एक्लै जान सक्ने अवस्था छैन’, नेता झा भन्छन्, ‘सत्तारुढसँग गठबन्धन नहुँदा अर्कोे दलसँग अवश्य हुन्छ।’

मधेसी दलको अवस्था मधेसमै बलियो हुँदाहुँदै एक अर्कोसँग समन्वय नहुँदा कमजोर देखिएको उनी स्वीकार गर्छन्। ‘यर्थाथमा मधेसमा मधेसका पार्टी बलिया छन्। निर्वाचनको मुखमा पार्टी प्रवेशका कार्यक्रम चलिरहन्छन्’, उनी भन्छन्। गठबन्धनका कारण कुन पार्टी कति बलियो भनेर तौलिने बेला नभएको उनी बताउँछन्। पाँच पार्टी मिल्दा एउटा पार्टीलाई समस्या हुने उनको ठहर छ।

कांग्रेस नेता अरविन्द महतो मधेसमा कांग्रेसले कोहीसँग पनि गठबन्धन गर्नुको आवश्यकता नरहेको बताउँछन्। ‘मधेसी दल एकजुट भएर आउँदा पनि मधेस प्रदेशमा कांग्रेस भारी छ’, महतो भन्छन्, ‘कांग्रेसलाई हिजो पनि गठबन्धनको आवश्यकता थिएन। आज पनि मधेस प्रदेशमा कांग्रेसलाई गठबन्धनको सहारा लिनुपर्दैन।’