Loading... आजः २२ मंसिर २०७९, बिहीबार

कालिकोटमा काँध सेवा

नेताका घोषणा पत्रमा सडक कालोपत्रे, जनताका दुख जिउका तिउ

कालिकोट- सधैजसो निर्बाचनका बेला राजनीतिक दलका नेता तथा तीनका उम्मेद्वारहरु मिठा भाषण र जनताका दुख समाधान गर्ने एजेण्डाहरु लिएर गाँउ जान्छन् । उनीहरुका घोषणा पत्र हेर्दा सायद जनताले भोगेका समस्याहरु अब फेरी बोग्नु पर्दैन् जस्तो लाग्छ । घोषणा पत्रमा सडक कालोपत्रे हुन्छन् । घर घरमा पानीका धार हुन्छन् । गाँउ गाँउमा सुविधा सम्पन्न अस्पताल हुन्छन् । जातिय छुवाछुत मुक्त समाज, बिभेद रहित समाज, सामाजिक न्याय र समृद्धिका सपनाहरु प्रसस्त हुन्छन् । तर कालिकोट जिल्लाको पलाँता क्षेत्र र अन्य बिकट क्षेत्रका मानिसहरुले दशकौँदेखी उदारो आस्वासन मात्रै पाएका छन् । उनीहरुले साच्चै गाँउको विकास र समृद्धिको सपना पुरा भएको अनुभुति गर्न पाएका छैैनन् ।
केही दिन अगाडी मात्र जिल्लाको पलाँता गाँउपालिका वडा नं. १ की छिउकला हमाल भीरबाट लडेर सक्त घाईते भईन् । उनलाई अस्पताल लिन गाँउमा यातायात सेवा थिएन । गाँउबाट आफन्तहरुले स्टेचरमा बोकेर थिर्पु पुगाए । गम्भीर घाईते भएकी हमाललाई थप उपचारका लागि ३ दिन स्टेचरमै बोकेर राकम पुगाईयो । राकमबाट गाडीमा मध्यपहाडी राजमार्गबाट सुर्खेत लगियो । कर्णाली करिडोर पनि बाढी र पहिरोका कारण अबरुद्ध भएकाले आफन्तका काँधमै उनलाई अस्पताल लगियो । जहाँका मानिसहरुले २०६४ सालमै पलाँतामा गाडी गुडाउने र विकासका मुल फुट्ने आस्वासन पाएका थिए ।
२०६४ सालमा तत्कालिन नेकपा माओबादी केन्द्रका नेता तथा पहिलो सम्बिधान सभा सदस्यका उम्मेद्वार खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड चुनावी अभियानमा पलाँता क्षेत्रमा पुगे । उनले एक चुनावी सभामा बिभिन्न उदाहरण दिदै यस क्षेत्रमा चिल्लो सडक र यातायात सेवा नपुग्नु सामान्ति राज्यको बिभेद भएको बताए । भारतको सिम्ला क्षेत्रमा चिल्लो सडकमा गाडी गुड्ने, हाम्रो पलाँतामा किन नगुड्ने भन्ने प्रश्न गरे । आफ्नै कार्यकालमा पलाँतालाई यातायात सेवामा जोड्ने प्रतिबद्धता गरे । उनले पलाँतामा गाडी पुगाउनु त कहाँ २०७० सालको दोस्रो संबिधान सभा निर्बाचन पहिलेनै पार्टीबाट बिभाजित बैद्ये समुहमा लागेर चुनाव बिथोल्ने अभियानको नेतृत्व गरे ।
२०७० सालको दोस्रो संबिधान सभाको निर्बाचनका बेला उही माओबादी केन्द्रका तर्फबाट जनमुक्ति सेनाका ७ औँ डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही चुनाव प्रचारमा पलाँता पुगे । उनले पनि आफ्नै कार्यकालमा पलाँतामा यातायात सेवाका साथै अन्य विकासले गति लिने उद्घोष गरे । उनको कार्यकालमा पनि पलाँता यातायात सेवासँग जोडिएन् । २०७४ सालको स्थानिय तहको निर्बाचनमा पलाँता माओबादी केन्द्रले नै जित्यो । संघियता पछिको पहिलो प्रदेश तथा प्रतिनिधि सभा निर्बाचमा संघिय सांसद दुर्गबहादुर रावत, प्रदेश सांसद महेन्द्रबहादुर शाही पुन त्यसै पलाँता पुगे । प्रदेशमा महेन्द्रबहादुर शाहीले जिते कर्णाली प्रदेशको मुख्यमन्त्री हुने र साधन श्रोतमा सहज पहुँच पुग्ने भएकाले पलाँतालाई यातायात सेवासँग जोड्ने आस्वासन दिए । पलाँता गाँउपालिकाले थिर्पुदेखी राडुनेटासम्म सामान्य ट्याक खोलेर पुल नहुँदा नहुँदै कर्णाली नदीमा ड्म लगाएर दुई वटा जीपहरु तारेर केही महिना यातायात चलायो । तर पछि त्यही बनेको सडक पनि भत्किएर नदी तारेका गाडीहरु पनि बिग्रीएर थन्किए । पलाँता यातायात सेवाबाट बन्चित नै बन्यो ।
आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनका लागि सत्ता गठबन्धनका साझा उम्मेद्वार बनेका महेन्द्रबहादुर शाही र प्रदेश सांसदका उम्मेद्वार हिक्मतबहादुर बिष्ट पुन चुनाव प्रचारमा पलाँता जाँदा हिडेरै जानु प¥यो । पुन विगतकै आस्वासन दिएर फर्किए । स्थानिय नन्दलाल न्यौपानेले भने, हरेक निर्बाचनका बेला नेताहरुबाट विकास र समृद्धिका सुन्दर नाराहरु सहित आस्वासनका पोका पाँउछौँ । तर हाम्रो दुख ६० सालकै जस्ता छन् । मुलुकमा तेत्रो द्धन्द्ध भयो । जनआन्दोलन भयो । व्यवस्था बदलियो । संघियता आयो । तर हाम्रो अवस्थामा खासै सुधार आएको छैन् । हामीले सुख सुविधा अनुभुती गर्न पाएका छैनौँ । अहिले पनि गाँउमा प्रयाप्त खानेपानी छैन् । अस्पताल जाने यातायात सेवा छैन् । थाप्लोको भारी बोक्नुपर्ने बाध्यता टरेको छैन् ।
स्थानिय धर्म न्यौपानेले भने, पलाँताको राडुनेटामा सत्ता गठबन्धनका उम्मेद्वारका साथै नेकपा एमालेका उम्मेद्वार नगिन्द्र शाही नेशनल र बिरेन्द्र बोगटी पनि आए । सबै उम्मेद्वारहरुले भरपुर आस्वासन दिए । पलाँतावासीलाई गाँउमा यातायात सेवा, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, प्रयाप्त स्वच्छ खानेपानी लगायतका धेरै मिठा सपनाहरु बाँडे । अब त हामीलाई विस्वास लाग्न पनि छाडिसक्यो । यि कोही कसैले पनि कही गर्दैनन् । खाली आस्वासन दिनु बाहेक भनेर । हामीलाई कुरा भन्दा बढी काम गरेर देखाउने नेतृत्व चाईएको छ । समृद्धिका सपना बाँड्ने भन्दा पनि समृद्धि गाँउमा भएको अनुभुति गराउने नेतृत्व आवश्यकता छ ।
जिल्लाको कान्छो पलाँताका रुपमा चिनिने नरहरीनाथ गाँउपालिकाका रुप्सा, माल्कोट लगायतका विकट बस्तीहरुको अवस्था पनि उस्तै छ । महाँवै, शुभकालिका गाँउपालिकाका अधिकांश वस्तिहरुको अवस्था पनि उस्तै छ । जहाँ यातायात सेवा छैन् । अन्य भौतिक पुर्वाधार पनि छैन् । मानिसहरु बिरामी पर्दा अस्पताल आउन यातायात सेवा नहुँदा काँध सेवा नै गर्नु पर्छ । नागरिक समाजका अगुवा अधिवक्त दमनराज बमले भने, संघियता पनि प्राय स्थानिय तहका केन्द्रसम्म यातायात सेवा पुगाउन सडकका ड्याकहरु खोल्ने प्रयास भयो । तर उक्त सडक पनि न्यूनतम मापदण्डहरु पुरा नगरी सडक निर्माण गर्दा यातायत सेवा संचालन हुन सकेका छैनन् । कतिपय बनेका सडकहरु पनि गाडी गुडाउन सकिने अवस्थाका छैनन् । गाँउका नागरिकहरुको पहुँचमा यातायात सेवा पुगेन् । यसले नागरिकलाई परिवर्तनको अभास हुन सकिरहेको अवस्था छैन् ।
दलका घोषणा पत्रमा विकासै विकास
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि जिल्लामा दलका उम्मेद्वारहरुले सार्बजानिक गरेका घोषण पत्रहरुमा विकासै विकास छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रबहादुर शाही, प्रदेश सभा क का उम्मेद्वार दुर्गबहादुर रावत, प्रदेश सभा ख का उम्मेद्वार हिक्मतबहादुर बिष्टले बाम लोकतान्त्रीक गठबन्धन संघियता कार्यन्वयनको आधार, समृद्ध कालिकोट र सुखी कालिकोटवासी हाम्रो सरोकार भन्ने मुख्य नारा सहित ५ बर्षमा कालिकोटको मार्गचित्र नामक साझा प्रतिबद्धताहरु सार्बजानिक गरेका छन् ।
उनीहरुले सार्बजानिक गरेका प्रतिबद्धताहरुमा जिल्ला सदरमुकामबाट सबै पालिकाका केन्द्र हुँदै वडासम्म सडक, लालु लफु हुलाकी राजमार्ग निर्माण, जारकोट, थिर्पु, धौलागोह, खीन हुँम्दै जुम्मासम्मको सडक, शेरी पान्तडी सडक, दुल्लु, ब्याउल्योदखी हाउडीसम्म सडक निर्माण लगायतका २० वटा सडकहरु निर्माण गर्ने उल्लेख गरेका छन् । पान्तडी तिला नदी, जारकोट कर्णाली नदी, फुगाड खोला लगायत झण्डै १६ वटा मोटरेवल पुन निर्माण गर्ने उल्लेख छ । पलाँता भतेरा, चुली पिठारा, रुप्सा कुमालगाउ लगायतका १५ वटा सचिाई आयोजनाहरु निर्माण गर्ने उल्लेख छ । विगतमा संचालन भएका सिचाई आयोजनाहरुको ममर्त गर्ने उल्लेख छ । जिल्ला भरी नै एक घर एक खानेपानी धार निर्माण, स्वास्थ्य बिमा र सबैका लागि आधारभुत स्वास्थ्य सेवा निशुल्क व्यवस्था गर्ने, आयुबेर्दिक स्वास्थ्य सेवामा पनि जोड, प्रत्यक पालीकामा १५ शैया अस्पताल, प्रत्यक वडामा प्रसुतिगृह सहित प्राथमिक स्वास्थ्य केन्द्र, रास्कोट नगरपालिकामा ५० शैया अस्पताल संचालन गर्ने उल्लेख छ । यस्तै पष्हिलो बर्षमै ३७ बर्षदेखी निर्माणाधिन सुनथराली बिमानस्थल संचालन गर्ने, सबै स्थानिय तहमा बिद्युतिकरण गर्ने, विकट क्षेत्रमा समेत फाईबर ईन्टरनेट सुविधा पुगाउने लगायतका संकल्प गरेका छन् ।
यस्तै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार नगिन्द्र शाही नेशनल, प्रदेश क का उम्मेद्वार कुर्मराज शाही र प्रदेश ख का उम्मेद्वार बिरेन्द्रबहादुर बोगटीले पनि सुन्दर र समृद्ध कालिकोटको आधार भनेर आफ्ना प्रतिबद्धताहरु सार्बजानिक गरेका छन् । उनीहरुका प्रतिबद्धतामा बिपदका कारण समस्यामा रहेका नागरिकको पुनरवासको व्यवस्था, मृतक परिवारलाई राहत प्याकेज, जिल्लाका सबै पालिकामा बहुआयामीक प्रशासकिय भवन, सबै वडा कार्यालयका सुविधा सम्पन्न भवन, सबै पालिकादेखी वडातहसम्म सडक निर्माण, सडक निर्माणमा डोजर प्रयोगलाईै राक लगाउने, युवाहरुलाई गाँउमै रोजगारी सिर्जना गर्ने उल्लेख छ ।
यस्तै जिल्लाका दलित, सिमान्तकृत समुदाय तथा विपन्न परिवारलाई घर, सडक पुगेका जिल्लाका सबै खोला तथा नदीमा पक्की पुल, सबै बिदालयका सुरक्षित भवन, प्रयाप्त खानेपानी, शौचालय, खेल मैदान, मान्मदेखी नरहरीनाथ बिमानस्थल जोड्ने केबलकार, खप्तड, रामारोशन, रारा कनकासुन्दरी, डोल्पा सेफोक्सोण्डो ताल हुँदे पोखरा जोड्ने उच्च पहाडी लोकमार्ग निर्माण, हिल्सा सडकलाई धार्मिक लोक मार्गका रुपमा विकास गर्ने, लालु, माल्कोट, रुप्सा हुँदै बढिमालिका जोड्ने सडक निर्माण गर्ने उल्लेख छ । सुनथराली बिमानस्थल संचालन, कालिकोटलाई हाईड्रोको हव, जिल्लामा सुविधा सम्पन्न अस्पताल, एक पालिका एक सुविधा सम्पन्न अस्पताल, एक घर एक धारा, एक गाँउ एक सहकारी लगायतका लोकप्रिय योजनाहरु अगाडी सारेका छन् । हरेक घरमा एक रोजगारी, एक घर सय फलफुलका बिरुवा रोपप्न लगाएर फलफुल खेती, वन तथा बाताबरण संरक्षण र दिगो विकासका लागि मुख्य रुपमा पहल लिने उल्लेख छ ।
जिल्लामा मुख्य दलका प्रतिबद्धता पत्रहरु हेर्दा आगामी ५ बर्षमा जिल्लाको विकास निर्माणले निकै प्रगति हुनेछ । नागरिकहरुले धेरै सुविधाहरु पाउने छन् । नागरिक समाजका अगुवा भरतराज बिष्टले भने, दलका घोषणा पत्र कहिलै कार्यन्वयन हुँदैनन् । मत बटुल्न बनाईएका प्रतिबद्धता पत्रहरु चुनावी सकिएसँगै बाकसमा थन्किन्छन् । कन्ट्यानरमा जान्छन् । विगतमा पनि दलका उम्मेद्वारहरुले जनताका सामु कैयौँ सपनाहरु बाँडे । तर अर्को निर्बाचन आउदासम्म पनि घोषणा पत्रमा उल्लेख भएका एक काम पनि भएन । अहिलेका पनि पुरा होलान भन्ने विस्वास लाग्ने अवस्था छैन् । जनता झुक्याउने हतियार हुन् । मत बटुल्ने कोसेली हुन् । उनले थपे, बर्षौँ भयो, कर्णाली करिडोर दुई लेनको बनाउने भनेको अझै भएको छैन् । कर्णालीमा हवाईजहाज सेवा नभएको एक मात्र जिल्ला कालिकोट छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरको पनि हालत उस्तै छ । बर्षौँदेखी यिनै अनुहारहरु दोहोरीदै आएका छन् । जनताले कसरी पत्याउने की अब विकास हुन्छ भनेर ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेद्वार महेन्द्रबहादुर शाहीले अब विकासले गति लिने दाबी गरे । पुर्व उर्जा मन्त्री तथा कर्णाली प्देशका प्रथम मुख्यमन्त्री समेत रहेको शाहीले भने, विगतमा कालिकोटले राष्ट्रिय स्तरमा स्थापित नेतृत्व विकास गर्न सकेको थिएन् । यो पटक जितेर गएपछि चुनाव पछिको पहिलो सरकारमै कालिकोटको प्रतिनिधित्व हुन्छ । गठबन्धन दलका शीर्ष नेताहरुले बजेटलाई पनि कर्णाली केन्द्रीत बनाउने उद्घोष गरिसक्नु भएको छ । हामीले जनताका सामु गरेका बाचा ५ बर्षभित्र सबै पुरा गर्ने लक्ष्य लिएका छौँ । जनताले अनुभुती गर्ने गरी काम गर्छु । मेरो अभियान भनेकै अब विकास र समृद्धिको अभियान हुनेछ । चुनाव जित्न पनि समस्या छैन् । जनताले फेरी पनि मलाई नै अवसर दिनेका म ढुक्क छु ।