Loading... आजः १ बैशाख २०८१, शनिबार

रंगशाला निर्माणमा बजेट अभाव

सुर्खेत : कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुने भएको छ। उक्त प्रतियोगिता कर्णालीमा हुने घोषणासँगै खेलकुद पूर्वाधार निर्माण गर्न संघीय सरकारले चासो नदिएपछि बजेटको अभाव हुने भएको हो।

२०८१ साल मंसिर २ गतेबाट सञ्चालन हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेको छ। हाल कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक न्यूनतम पूर्वाधारहरूको पनि उपलब्धता छैन।

प्रदेश खेलकुद परिषद्ले बजेट अभावका कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि चुनौती रहेको बताउँदै आएको तथा खेलकुदको पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ।

कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनकै लागि आवश्यक पूर्वाधार निर्माण गर्न डेढ अर्ब बजेट आवश्यक रहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले बताए। उनका अनुसार अहिले प्रदेशमा गौरवको रंगशाला निर्माणको काम धमाधम भइरहेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा बनिरहेको उक्त रंगशालामा हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशालाको शिलान्यास २०७८ कात्तिकमा गरेका थिए। त्यसयता हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ भनेल २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ। परिषद् सदस्यसचिव सन्ज्यालले भने, ‘१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमता छ। जसमा भलिबल, बास्केटबललगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, स्विमिङ पुल, पार्किङलगायतका संरचना निर्माण भइरहेका छन्। डिजाइनको काम सम्पन्न भएकाले भौतिक संरचनाको काम द्रुत गतिमा भइरहेको छ।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरू खेलाइएको थियो। तर, कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ती सबै खेलहरू खेलाउने सकिने अवस्था छैन। सदस्यसचिव सन्ज्यालले भने, गण्डकीमा भएका केही खेल कटौती गर्नुपर्ने अवस्था छ। यहाँको होटल, खेल मैदान तथा अन्य पूर्वाधारका कारण प्रतियोगिता व्यवस्थित बनाउन निकै चुनौती छ। पूर्वाधार निर्माण तत्काल बनाउन नसकिने खेलहरू अन्यत्र खेलाउनुपर्ने अवस्था छ। परिषद्ले कर्णालीका १० वटै जिल्लामा खेलकुद सञ्चालन गर्ने तयारी गरेको छ। बासकै लागि सुर्खेतका होटल, सरकारी क्वाटर, निजी घरका गेस्टरुम, सरकारी तथा निजी विद्यालयका होस्टेलसमेत प्रयोग गर्नुपर्ने अवस्था छ।

परिषद्का अनुसार प्रतियोगिताकै लागि डेढ अर्ब बजेट संघीय सरकारले व्यवस्था गरिदिँदा सहज हुने अनुमान छ। हुम्लामा हक्की खेलको मैदान र कबर्डहल, मुगुमा साइक्लिङ ट्र्याक र कबर्डहल, जुम्लामा रक्बी मैदान र कबड्डी खेलको मैदान, कबर्डहल स्तरोन्नति, कालीकोटकोमा भलिबलको कबर्डहल निर्माण, दैलेखमा कबर्डहल मर्मत गर्नुपर्ने अवस्था छ। जाजरकोट र डोल्पामा कबर्डहल निर्माण गर्नुपर्ने अवस्था छ। रुकुममा चौरजहारीमा ८५ करोड लागतमा ५ हजार दर्शक क्षमताको रंगशाला बन्दैछ। सल्यानमा कबर्डहल निर्माणका लागि जग्गा नै प्राप्त भएको छैन। यी पूर्वाधार निर्माणका लागि संघीय सरकारले बजेटको व्यवस्था तत्काल गर्नुपर्ने अवस्था छ।

सबैभन्दा पहिला खेलाडीहरूका लागि पूर्वाधार आवश्यक भएकाले परिषद्ले कर्णालीका सबै स्थानीय तहमा ‘एक वडा, एक खेल मैदान’ भन्ने अवधारणा अगाडि सारेको छ। कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो कार्यकालमा खेल क्षेत्रलाई महत्त्व दिएको थियो। कर्णाली प्रदेशले अहिलेसम्म जति खेलमा भाग लिएको छ, धेरैजसो खेलमा प्रशिक्षणबिना नै खेलाडीहरू सहभागी भइरहेका छन्। त्यसैले, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्थापन गरी खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्य राखेको छ।

अन्नपुर्ण पोष्टबाट साभार ।