Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश


सुर्खेत : हुम्लाकाे चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७९ बैशाखमा भएकाे निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयाेजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शाहीले हुम्लामा कांग्रेस मजबुत रहेकाे बताउँदै अझ पार्टीलाई सुदृढ गर्दै जानुपर्ने बताए । उनले कांग्रेस पार्टीमा शाहीकाे भूमिका महत्वपूर्ण भएकाे बताउँदै आगामी दिनमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य शाहीले राम्रो काम गर्दा पार्टी कार्यकर्ता र जनताले मूल्यांकन गर्ने बताए । `जनतासँग नजिक भएकै कारण तपाईंले स्वतन्त्र उम्मेदवारी दिएर पनि बिजयी हुनु भएकाे हाे,´ उनले भने, `अब संगठन निर्माणमा पनि साेही अनुसार लाग्नुहाेला ।´ पार्टी प्रवेश गर्दै शाहीले नेपाली कांग्रेसलाई मजबुत बनाउन लागिपर्ने बताए । उनले पार्टीको विधि, विधान र अनुशासनमा रहेेर काम गर्ने बताए ।