Loading... आजः १३ माघ २०७९, शुक्रबार

किशोर किशोरीलाई आत्मरक्षा तालिम


सुर्खेत- पछिल्लो समय समुदायमा बालबालिकाहरु माथि हुने हिंसा दिनानुदिन बढ्दै गएका छन् । नजीकको मान्छेबाटै बालबालिकाहरु बेचबिखन, बलत्कृत जस्ता जगन्य अपराधहरु भईरहेका छन् । घरबाट बिद्यालयसम्म पुग्न र बिद्यालयबाट घरसम्म नपुग्दासम्म किशोरीहरुले त्रसित बन्नुपर्ने अवस्था छ । यस्ता अपराधबाट किशोर किशोरीहरुलाई सुरक्षित बनाउन सुर्खेतका बिभिन्न बस्तिहरुमा किशोर किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिन थालिएको छ । किशोर किशोरीहरुलाई बालबिबाह, बहुबिबाह, यौनहिंसाका साथै अन्य जगन्य अपराधबाट सुरक्षित हुदै हिंसाको प्रतिकार गर्ने उपाय सिकाउन आत्मरक्षा तालिम दिइएको हो ।
सुर्खेतको आवाज संस्थाले बिभिन्न बस्तिमा पुगेर कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोर किशोरीहरुलाई आत्म रक्षा तालिम सञ्चालन गरेको हो । तालिममा गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे, आक्रमण प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने पाँचवटा उपाय सिकाई प्रयोगात्मक अभ्यास गर्ने गरिएको छ । बीरेन्द्रनगर नगरपालिका वडा नं. २ कोल्डाँडाका ३० जना किशोर किशोरीहरुले प्रभात माविमा दुई दिने आत्मरक्षा तालिम लिए । तालिममा सहभागी फलाँटे किशोरी समुहकी सदस्य नन्दा रेग्मीले हिंसाका बिरुद्ध प्रतिकार गर्न र बालबिबाह, बहुबिबाह, घरेलु हिंसा जस्ता सामाजिक बिकृतिहरुका बिरुद्धमा आवाज उठाउन तालिम लिएको बताईन् । उनले भनिन्, हामीलाई तालिममा कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा प्रशिक्षण र प्रयोगात्मक रुपमा सिकाईयो । यो निकै उपयोगी लाग्यो ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको आवाजले बिद्यालय उमेरका गाउँका किशोर किशोरीहरुलाई हिंसाका बिरुद्ध जागरुप बनाउन आत्मरक्षा तालिम दिन थालिएको संस्थाकी कार्यक्रम संयोजक संगिता वलीले बताईन् । उनले भनिन्, किशोर किशोरीहरुले यो तालिम लिएपछि हिंसाको प्रतिकार गर्न आत्मविश्वास बढेको छ । उनीहरूले सुरक्षित महशुस गर्नेछन् । गाँउमा तालिमप्राप्त किशोर किशोरीहरुको समुह हिंसा र सामाजिक बिकृति बिरुद्धको समुह निर्माण भएको छ । यसले समाज र बिद्यालयलाई हिंसा, बिकृतिमुक्ता बनाउने छ । उनीहरूले गाँउमा अन्य किशोर किशोरीहरुलाई पनि सिकाउनेछन् ।
यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा पनि २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम दिईएको छ । पंचपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापाले पञ्चपुरी नगरपालिकामा महिला बालबालिकाहरु माथिहुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कम्जोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरको डर हटाई आत्मविश्वासी बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिम निकै उपयोगी रहेको बताए । उनले यो तालिमलाई सबै बिदालय स्तरमा किशोर किशोरीहरुलाई दिनु आबश्यक रहेको बताए ।
आवाज संस्थाले कर्णाली प्रदेशका १० वटा जिल्लामा किशोरी शसक्तिकरण कार्यक्रम संञ्चालन गर्दै आईरहेको छ । दैलेख जिल्लामा ३ वटा किशोरी समुह, ३ वटा किशोर समुह समुह रहेका छन् । सुर्खेत जिल्लामा ६ वटा किशोरी समुह, ४ वटा किशोर समुह, २१ वटा किशोर किशोरी समुह र पञ्चपुरी नगरपालिका ११ वटा वडामा वडा स्तरिय किशोर किशोरी संञ्जाल गठन गरी यस्ता तालिम दिएको छ । हालसम्म संस्थाले २ सय ५० जना किशोर किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिईसकेको संस्थाका व्यवस्थापक शुशिल कार्कीले बताए । संस्थाले गठन गरेका सबै समुहका किशोर किशोरीहरुलाई आत्मरक्षा, जिवनको लक्ष्य निर्धारण तालिम, जिवन उपयोगी सिप विकास तालिम, राम्रो छुवाई र नराम्रो छुवाई जस्ता सम्बन्धि तालिम संञ्चालन गर्ने गरेको छ ।
सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकाका केही विद्यालयमा पनि अन्य बिभिन्न संघ संस्थाहरुले बिद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम लिइसकेका छन् । आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले बालिकामाथि हुने सबै खाले हिंसा नियन्त्रण गर्न आत्मरक्षा तालिम फलदायी हुने बताईन् । उनले भनिन्, बालबालिकाहरु माथि कुनै बेला पनि हिंसा हुने जोखिम छ । हामीले स्कुलमै पुगेर आत्मरक्षा गर्ने उपाय सिकाएपछि किशोरीहरू प्रतिकार गर्न सक्ने भएका छन् । हरेक किशोरीहरुलाई यस्तो तालिम आवश्यक छ । तालिममा बालबालिकामाथि हिंसाको प्रयास गर्ने व्यक्तिको आँखामा दबाई दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने, हात दोबारेर पछाडीबाट ढाल्ने, वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय सिकाईएको छ ।