Loading... आजः १३ माघ २०७९, शुक्रबार

सरकारी चालकलाई ट्राफिक नियम सिकाउदै प्रहरी


सुर्खेत- ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेतका सम्पुर्ण सरकारी कार्यालयका सवारी चालकहरुलाई ट्राफिक नियमका बिषयमा अभिमुखीकरण गरेको छ । प्रदेश ट्राफिक कार्यालय कर्णाली प्रदेशको समन्वयमा प्रहरीले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना जोगाउन सुर्खेतका सरकारी सवारी चालकहरुलाई अभिमुखीकरण गरेको हो ।
कर्णाली प्रदेश ट्राफिक प्रमूख एसपी प्रज्वल महर्जन र जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमूख इन्सपेक्टर नेत्रबहादुर कुवरले सुर्खेतका सरकारी सवारी चालकहरुलाई ट्राफिक नियमका बिषयमा प्रशिक्षण दिएका हुन् । राजमार्ग बढ्दो गाडीको चाप, भिआईपी सवारले साँघुरो सडकमा सहज यातायात सेवा संचालन गर्नका लागि सरकारी सवारी चालकहरुलाई सोमबार ट्राफिक नियमका बिषयमा अभिमुखीकरण गरिएको प्रदेश ट्राफिक कार्यालय प्रमूख एसपी प्रज्वल महर्जनले बताए । उनले भने, आज सरकारी कार्यालयका सवारी चालकहरुलाई ट्राफिक नियमका बिषयमा अभिमुखीकरण गरेका छौँ । यससँग यहाँका सबै शैक्षिक संस्था र नीजी सवारी साधनहरुका चालकहरुलाई पनि ट्राफिक नियमका बिषयमा अभिमुखीकरण गर्ने योजना छ ।
सुर्खेतमा बढ्दो सवारी चाप, चालकको लाप्रबाही र साँघुरो सडकका कारण सडक दुर्घटनाको जोखिम बढिरहेका बेला ट्राफिक नियम सम्बन्धित अभिमुखीकरण गर्दै चालकलाई सचेत बनाउने अभियान थालिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमूख नेत्रबहादुर कुवरले बताए । उनले भने, सरकारी तथा नीजि सबै गाडीका चालकहरुलाई ट्राफिक नियम सिकाउदै सर्बसाधारणसम्म सचेतना जोगाउछौँ । यसले दुर्घटनाको जोखिम कम हुने हाम्रो अनुमान छ । विगतमा बिद्यालय र सर्बसाधारणलाई मात्र ट्राफिक नियम सम्बन्धि अभिमुखीकरण गर्ने गरिएको भन्दै त्यसले मात्र दुर्घटनाको जोखिम न्यूनिकरण गर्न सकिएन् । अब गाडी चालक, गाडी धनी, सर्बसाधारण सबैलाई सचेत बनाउने अभियान सुरुवात गरेका छौँ । यो प्रभावकारी हुने विस्वास गरेका छौँ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण गर्नेका लागि बिभिन्न सचेतनाका कामहरु गर्दै आएको छ । आईतबार मात्र भेरी नजीकै जीप दुर्घटना हुँदा ४ जना स्वास्थ्यकर्मीको ज्यान गएको थियो । गत साउन यता मात्र सुर्खेतमा १२ वटा सडक दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा १३ जनाको मृत्य र १६ जना घाईते भएका छन् ।