समयमै कार्यसम्पन्न गराउन नियमित अनुगमन
कालिकोट- कालिकोटको पचालझरना गाँउपालिकाले विकासी योजनाहरुको समयमै कार्यसम्पन्न गराउन नियमित अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । गाँउपालिका उपाध्यक्ष अल्कीना बमले पालिकाबाट बिभिन्न वडामा निर्माणाधिन अवस्थामा रहेका विकासी योजनाहरुको समयमै कार्यसम्पन्न गराउन नियमित अनुगमन गर्न थालिएको बताईन् ।
गाँउमा विकासी योजनाको उपभोक्ता समिति गठन गर्दा नै बिबाद भएर विकास निर्माणका काम ढिलो हुने, स्टमेट अनुसार काम नहुँदा बजेट फ्रिज जाने समस्या हुन्छ । उपाध्यक्ष बमले भनिन्, पचालझरना गाँउपालिकामा विकासको जिम्मा लिएर विकास नगर्ने छुट कसैलाई पनि छैन् । समयमै कामको थालनी गराएर समयमै कार्यसम्पन्न गराउन पालिकाले कडाईका साथ अनुगमन गर्छ । गाँउपालिका भित्र निर्माणाधिन रहेका सबै योजनाहरुमा कामको मुल्यांकनका आधारमा मात्र भुक्तानी हुन्छ । काम नभएका योजनाहरुमा बजेट भुक्तानी हुँदैन् । कागजी काम गरेर बजेट भुक्तानी लिने विगतका समस्याहरु हामी दोहोरीन दिदैनौँ । राज्यको श्रोत र साधनको सदुपयोग गर्नका लागि स्थानिय नागरिकहरुलाई पालिकाले पहल लिन्छ ।
पचालझरना गाँउपालिका ७ स्थित नानिकोटको खडेन्चि घोरेटो बाटो निर्माण, पंगेली माविको फिल्ड निर्माण, वडा नंं ८ स्थित थामिढुंगा प्राबी खडितोलीको भवन निर्माण, वडा नं. ६ स्थित जनप्रिय मावि बोलुगाँउको ६ कोठे भवन निर्माण लगायतका विकासी योजनाहरुको अनुगमन गर्दै उपाध्यक्ष बमले गुणस्तरिय काम गर्नका लागि उपभोक्ता समितिहरुलाई सुझाव दिईन् । उनले भनिन्, समयमै गुणस्तरिय काम सम्पन्न गर्नका लागि नियमित काम गर्नुस । दोस्रो चौमासिकमा सुरुवात भएका सबै विकासी योजनाहरु बैशाख महिना भित्र काम सम्पन्न गरी पालिकाबाट भुक्तानी लिनुपर्छ । समयमै काम सम्पन्न गर्दा भुक्तानी लिनका लागि असार मसान्त कुर्नु पर्दैन् । हामीले पटक पटक योजनाको अनुगमन गर्न र प्राबिधिकहरुलाई पनि काम गर्न सहज हुन्छ ।
पचालझरना गाँउपालिका अध्यक्ष देबराज शाहीले पचालझरना गाँउपालिकाले सुशासन सहितको विकास गर्नका लागि योजनाको सुरुवातीदेखी निर्माण सम्पन्न गर्दासम्म प्रभावकारी अनुगमनको नीति लिएको बताए । उनले भने, हामी समयमै गुणस्तरिय काम गराउनका लागि संस्थागत रुपमा लागिरहेका छौँ । विकासका लागि गाँउमा गएको बजेट विकास गरेर श्रमिकको खातामा जाने बाताबरण बनाएका छौँ । विगतमा बिचौलियाले विकास बजेट खल्तीमा हाल्ने गरेको गुनासो आउने गरेको थियो । अब त्यसो हुँदैन् । हामी सुशासनयुक्त गाँउ, समाज हुँदै पालिका बनाउन लागिपरेका छौँ ।
ई-कर्णाली खबर
१२ माघ २०७९, बिहीबार ०२:०७