तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक

चौतारा – आयातमात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ। तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ। तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो।
भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो। तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो। विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए। त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो।
ई-कर्णाली खबर
५ फाल्गुन २०७९, शुक्रबार ०२:०४