क्यानको बिरुद्ध जानेलाई निलम्बन गर्ने चेतावनी
सुर्खेत- नेपाल क्रिकेट संघ क्यानले संस्था बिरुद्ध जानेलाई निलम्बन गर्ने चेतावनी दिएको छ । क्यानको सुर्खेतमा भएको केन्द्रीय साधारणसभाले केन्द्रीय सदस्यहरु संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीलाई स्पष्टीकरण सोध्न र चित्त बुझ्दो जवाफ नआए निलम्वन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिएको हो ।
संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गई संघलाई नै बदनाम र निलम्वन गराउने उद्देश्यले विभिन्न क्रियाकलापहरु भइरहेकोप्रति यो साधारणसभा खेद प्रकट गर्दछ । साधारणसभाको निर्णयबारे जानकारी दिदै क्यान अध्यक्ष चतुरबहादुर चन्लले भने, कार्यसमिति सदस्यहरुले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकार अनुसार काम नगर्ने, कार्यसमिति बैठकमा उपस्थित नहुने, संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामासमेत उपस्थित नभएर बाहिर संस्थाको बिरुद्ध गतिबिधि गर्न कसैलाई पनि छुट छैन् । त्यसैले क्यानको केन्द्रीय समितिले उहाँहरुलाई अविलम्व स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्वनसमेतको कारवाही गर्न हामी बाध्य भएका छौँ ।
साधारणसभाले बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात र काठमाडौं जिल्ला क्रिकेट संघलाईसमेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बस्न्यातले फागुन १४ गते नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिएका थिए भने काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय साधारणसभामा प्रतिनिधि पठाएको थिएन् ।
यस्तै (क्यान)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगीताको मुख्य साझेदार भारतको सेभेन–थ्री स्टाट्र्स प्रालिसँगको संझौता रद्द गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए । उनका अनुसार साधारणसभाले पहिलो संस्करण आयोजना हुँदाको संझौता अनुसार सेभेन–थ्रीले दिनुपर्ने भुक्तानी रकम असुल उपर गर्नका लागि केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरेको छ । नेपाल टी–२० लिगको कर्मसीयल र रणनीतिक साझेदार भारतको सेभेन–थ्री स्पोट्र्स प्रा.लि.सँग २०७९ पुस ७ गते भएको सम्झौता अनुसार कार्य नगरेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको छ । नेपाल टी–२० लिगको पहिलो संस्करणका दौरान स्पट फिक्सिङमासमेत कम्पनीका सञ्चालक जतिन आह्लुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको देखिएकाले आठौं संस्करणसम्मका लागि भएको सम्झौता रद्द गर्ने निर्णय गरिएको हो ।
नेपाल क्रिकेट संघलगायतलाई भुक्तानी गर्न बाँकी रहेको वक्र्यौता रकम असुल उपर गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन पनि केन्द्रीय कार्यसमितिलाई साधारणसभाले जिम्मेवारी दिएको छ । क्यानका केन्द्रीय सदस्य पदमबहादुर खड्काले भने, भारतीय कम्पनी सेभेन–थ्री स्पोट्र्स प्रा.लि.बीच आठ संस्करणको सम्झौता भएको थियो । क्यानले २०८० साउनभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने भएको छ । साधारणसभाले आइसीसीसँग समन्वय गरी संघको विधान संशोेधन गरेर साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिएको छ ।
यस्तै संघको विधान संशोधनका लागि केन्द्रीय सदस्य पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ भने बाग्लुङ र पर्वतलाई जिल्ला क्रिकेट संघको मान्यता दिने निर्णय पनि गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै सन् २०२३ को वार्षिक कार्यक्रम र बजेट संशोधनसहित पारित गरेको छ । साथै साधारण सभाले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई गरेको अनुसासनको कारबाही फुकुवा गर्ने निर्णय समेत गरेको छ ।
ई-कर्णाली खबर
१५ फाल्गुन २०७९, सोमबार ११:३५