स्थापित हुन थाल्यो हराएको हुड्के नाच पञ्चेबाजा

कालीकोट – कालीकोटसँगै साविकको कर्णालीमा चर्चामा रहेको हुड्के नाँच पञ्चेबाजा फेरि स्थापित हुन थालेको छ । दश वर्षसम्म चलेको आन्तरिक द्वन्द्वको समयमा दलित समुदायको श्रम शोषण भएको भन्दै तत्कालीन नेकपा (माओवादी)ले हुड्के नाँच्न र दमाह बजाउन रोक लगाएको थियो। माओवदी शान्ति प्रक्रियामा आएसँगै हुड्के नाच र पञ्चेबाजा बजाउने पेसाले पुनः महत्त्व पाएको हो । विवाह ब्रतवन्ध, घरमा नयाँ सन्तानको जन्म भएपछि खुसीका साथ बजाउने गरिन्छ ।
पछिल्लो समय विवाह, ब्रतवन्धदेखि राजनीतिक दलका सभा सम्मेलनमा समेत पञ्चेबाजा र हुड्के नाचको माग बढ्न थालेपछि आम्दानी पढ्न थालेको कलाकारले बताएका छन् ।
हुड्के कलाकार नैन दर्जी पछिल्लो समय आम्दानीको स्रोत बढेको बताउनुहुन्छ। एउटा विवाहमा जाँदा खाना खाएर एक जनाको दुई हजारको दरमा ज्याला लिने उहाँको भनाइ छ । रास्कोटका नयाँ दमाइले आफू सानै उमेरमा हुड्के नाच्ने भए पनि बीचमा रोकिँदा सोचे जस्तो विकास नभएको अनुभव बताए। कक्षा ५ पढ्दै आफूले आफ्ना बाजे बुवाबाट हुड्के नाच सिकेको उहाँको भनाइ छ ।
पञ्चेबाजासँगै नाचिने हुँड्के नाचमा नैन र नयाँलाई निकै चर्चित मान्ने गरिएको छ । नाम पनि मिलेका र नाच्नमा खप्पिस नैन र नयाँलाई विवाहको सिजनमा घर बस्ने फुर्सद हुँदैन् । कालीकोटसँगै दैलेख, अछाम, मुगु, बाजुरा र जुम्लासम्म हुड्के नाच नाच्न गएको उनकाे अनुभव छ।
चार जना स्वर मिलाउने (सलाई स्वरे भनिन्छ) र दुई जना नाच्ने गरी ६ जनाको समूह एक लाख सम्मको सम्झौतामा अन्य जिल्ला जाने गरेका छन्। आम्दानीसँगै संस्कृतिको संरक्षण हुँदा सबै खुसी छन् । स्थानीय तह र जिल्ला समन्वयले पनि पञ्चेबाजा संरक्षणका लागि कार्यक्रम बनाउने गरेका छन्। रास्कोट नगरपालिका पूर्व प्रमुख कासिचन्द्र बरालले आफ्नो पालामा हुड्के कलाकार र पञ्चेबाजा संरक्षणका लागि बजेट नै विनियोजन गरेको बताए । एउटा समिति बनाएर बजेट दिने गरेको उनले बताए । सेतो दौरा लगाएर नाचिने यो नाच निकै राम्रो र सन्देश मुलक हुन्छ ।
ई-कर्णाली खबर
१९ फाल्गुन २०७९, शुक्रबार ११:२८