Loading... आजः ११ चैत्र २०७९, शनिबार

विपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमको सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर चार जना अतिविपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर औपचारिक रुपमा कार्यक्रमको सुरु गरिएको हो ।
वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गर्दै कार्यक्रमको थालनी गरेकी छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्ने लक्ष्य लिएको थियो । त्यसै अनुसार बजेटको पनि व्यवस्थापन गरेको थियो । नगर प्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई कार्यन्वयन गर्न नगरपालिकाले महत्वकांक्षी योजनाका रूपमा बीमा कार्यक्रमको शुभारम्भ गरेको बताइन् । उनले भनिन्, स्वास्थ्य सेवा सबैको पहुँचमा पुगाउने र नेपालको संविधानले समाजवादको नीति लिए अनुरुप राज्यबाट प्रवाह हुने सेवा सुविधाहरु सबै नागरिकहरुलाई सहज रुपमा दिनका लागि पनि यो कार्यक्रम थालनी गरेका हौँ । नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले पनि स्वास्थ्य बिमाबाट न्चित हुनु नपरोस भनेर निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको हो ।
स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बीमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने उनको विश्वास छ । स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने ३ हजार ५ सय बराबरको रकम आफै भुक्तानी गरिदिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय बिपन्न परिवारले बीमाका लागि निवेदन दिएका छन् ।