Loading... आजः ११ चैत्र २०७९, शनिबार

अभिभावकले बनाईदिन्छन् शैक्षिक सामग्री

कालिकोट- कालिकोटको नरहरीनाथ गाँउपालिका वडा नं. १ स्थित नुवादेबी आधारभुत बिद्यालयमा अभिभावकहरुले नै धेरै शैक्षिक सामग्रीहरु बनाईदिएका छन् । बिद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी एवं व्यवहारीक र जीवनउपयोगी बनाउन शिक्षण सिकाई क्रियाकलापका लागि आबश्यक पर्ने शैक्षिक सामग्रीहरु अभिभावक आफैले बनाएर बिद्यालयलाई हस्तान्त्रण गरेका हुन् ।
विगतमा बिद्यालयले शैक्षिक सामग्रीको प्रयोगलाई प्राथमिक्ता दिदैनन् थिए । आफुलाई पनि शैक्षिक सामग्रीको बिषयमा खासै जानकारी थिएन् । स्थानिय अभिभावक माता बिष्टले भनिन्, प्लान इन्टरनेशनलबाट आएका कर्मचारीहरुले बिद्यालयमा छोरो छोरीको पढाईका लागि चाईने शैक्षिक सामग्रीहरुको बिषयमा छलफल गरे । ती सामग्री निर्माण गरेर बिद्यालयलाई दिनुपर्छ भनेर सल्लाह दिए । अनी हामीले गाँउमा पाईने निगालो, काठ, माटो जस्ता कचा पदार्थहरुबाट डोको, सुपो, कुटो, कोदालो, हला जु, गोरु लगायतका शैक्षिक सामग्रीहरु बनाएर बिदालयलाई हस्तान्त्रण गरेका छौँ । बिद्यालयमा शिक्षकहरुले पढाउने बेला ती सामग्रीहरु प्रयोग गरुन । आफुसँग भएको सीपको प्रयोग गरेर बनाएका स्थानिय शैक्षिक सामग्रीहरुले आफ्ना नानी बाबुहरुको सिकाईमा सुधार ल्याहोस भन्ने उद्देश्य हो ।
प्लानले पढाई लेखाई सुधार परियोजना मार्फत बिभिन्न शैक्षिक क्रियाकलापहरु गर्ने घरमा पढाई कुना निर्माण गर्ने जस्ता कार्यहरु गर्न लगाउदा आफ्नो छोराको पढाईमा पनि निकै सुधार भएको अर्की अभिभावक सितला दर्जीले बताईन् । उनले भनिन्, बालबालिकाहरुलाई पढ भनेर मात्र नहुने रहेछ । उनीहरुलाई पढाईमा आकर्षित गर्न र ध्यान लगाउने बाताबरण पनि हामीले बनाउनुपर्ने रहेछ । पहिले छोरालाई जति पढ्न कर गर्दा पनि मन नलगाउने समस्या थियो । अलिे आफै पढाईमा ध्यान दिन थालेको छ । घरमा पढाई कुना र बिद्यालयमा शैषिक सामग्री सहितको शिक्षण सिकाई क्रियाकलाप हुन थालेपछि छोराको पढाईमा निकै सुधार भएको उनको अनुभव छ ।
स्थानिय शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाईमा नयाँ आयाम ल्याएको नन्दादेवी आधारभुत बिद्यालयका बिद्यालय सम्पर्क शिक्षक धनराज बिष्टले बताए । उनले भने, शैक्षिक सामग्रीले शिक्षण सिकाई क्रियाकलाप गर्न सहज हुनुका साथै बालबालिकाहरु रमाउदै सिक्दै गर्न थालेका छन् । जसको कारण बिद्यालर्थीहरुमा नियमित बिद्यालय आउने दर पनि निकै बढेको छ । बिगतमा बिद्यालय नआउने बालबालिकाहरु पनि अहिले नियमित आउछन् । यस्तै बिद्यालयका प्रधानाध्यापक रणबहादुर बिष्टले बिद्यालयमा अभिभावकहरुले बनाएका शैक्षिक सामग्री प्रदर्शनीले बिद्यालय, बिद्यार्थी र अभिभावकहरुसँग सम्पर्क बढेको र जसको प्रतिफल बालबालिकाहरुको सिकाईमा सक्रियता बढेको बताए । उनले भने, बालकालिकाहरुको खुसीको लागि डोको, डोलो, हलो, घर जस्ता स्थानिय शैक्षिक सामग्रीहरु बनाउदा शिक्षकहरुलाई शिक्षण कार्यलाई बालबालिकामैत्री बनाउन ठुलो सहयोग पुगेको छ ।
शिक्षक अभिभावक मिलेर बिभिन्न शैक्षिक सामग्रीहरु बनाई बिद्यालयमा तीनको प्रयोग सहित शिक्षण हुने थालेपछि आफुहरुलाई पनि सीक्नका लागि सहज भएको नुवादेबी आधारभुत बिद्यालयमा कक्षा सातमा अध्यायनरत छात्रा प्रगति बिष्टले बताईन् । उनले भनिन्, सधै पढेर नबुझ्ने कुरा पनि शैक्षिक सामग्रीको माध्यमबाट शिक्षकले पढाएपछि बुझ्न सजिलो हुदो रहेछ । शैक्षिक सामग्रीले गर्दा बिद्यालयमा रमाउदै पढ्ने गरेको उनले बताईन् । बिद्यालयमा राखिएका शैक्षिक सामग्रीहरु र खेलौनाहरुले आफुलाई बिद्यालय कति बेला जाँउ जस्तै लाग्न थालेको बिद्यार्थी सुमन बिष्टले बताए । उनले भने, विगतमा बिद्यालयमा बिदा भन्दो खुसी लाग्थ्यो । अहिले बिद्यालय जाने भने पछि खुसी लाग्ने भएको छ ।
नुवादेबी आधारभुत बिद्यालय मात्र होईन । प्लान नेपाल र किर्डाक नेपालको सहजिकरणमा नरहरीनाथ गाँउपालिकाका मात्र १२ वटा बिद्यालयहरुमा नमुना बनाउने हिसाबले अभिभावक र शिक्षकहरुको सहकार्यमा शैक्षिक सामग्री निर्माण गर्ने गरिएको प्लान नेपालको पढाई लेखाई सुधार परियोजना संयोजक दिक्षा भाटले बताईन् । उनका अनुसार बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्न नरहरीनाथ गाँउपालिकाका नन्दादेवी मावि, रुपादेवी आबि, नुवादेवी आबी, चौथीकोट आबि, जनजागरण आबि, जनप्रिय आबि, रामारोशन आबि, शान्ति आबि, नेपाल राष्ट्रिय आबि, बिश्वकुना आबि लगायत १२ वटा बिद्यालयहरुमा अभिभावकहरुले स्थानिय स्तरमा पाईने शैक्षिक सामग्रीहरु निर्माण गरी बिद्यालयलाई हस्तान्त्रण गर्ने गरेका छन् । अभिभावकहरुले बिद्यालयलाई हस्तान्त्रण गरेका सामग्रीहरुको प्रयोग शिक्षकहरुले शिक्षण सिकाई क्रियाकलापमा गर्ने गरेका छन् ।
नरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बिद्यालयमा शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गर्न निकै सहयोग पुगेको बताए । उनले भने, प्लान र किर्डाक नेपालले नरहरीनाथका १२ वटा बिद्यालयमा नमुनाका हिसाबले काम गरेको छ । अब गाँउपालिकाले पालिकाभरीका सबै बिद्यालयहरुमा यसलाई प्रयोगमा ल्याउन जोड दिनेछौँ । बिद्यालयमा आबश्यक पर्ने शैक्षिक सामग्रीहरु बनाउन अभिभावकहरुलाई जिम्मा दिदा बिद्यालयसँग अभिभावकहरुको सम्पर्क बढ्ने, बालबालिकाहरु नियमित बिद्याय आउने र शिक्षकहरुले पनि बालबालिकाहरुको पढाईमा थप सक्रिय हुने हुँदा यसले पालिकाको सिकाई उपलब्धि पनि बृद्धि हुने उनको बिस्वास छ ।