Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

कर्णालीमा युवा स्वरोजगारको लगानी, बालुवामा पानी


सुर्खेत- सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरुलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रुपैयाँ ऋण लियो । सहकारीमा आवद्ध एक जना युवालाई बिभिन्न पेशा व्यवसाय गर्नका लागि विना धितो दुई लाख रुपैयाँसम्म ऋण दिएर स्वरोजार बनाउने उद्देश्य थियो । तर उक्त सहकारीले आफ्नो उद्देश्य अनुसार काम गरेन् । सहकारीकै अध्यक्ष र केही पदाधिकारीले कोषबाट प्राप्त रकम व्यक्तिगत भोकचलन गरेर दुरुपयोग गरे । चार वर्षभित्र ऋण चुक्ता गर्ने भनेर सहकारीले कोषबाट लिएको ५० लाख रुपैयाँ अहिले ब्याजसहित जोड्दा ८० लाख बढी पुगिसकेको छ । मासिक किस्ता र व्याज नबुझाउँदा कोषले ऋण लिँदा राखेको ज्याथा लिलामीको सूचना निकालिसकेको छ । सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी एक वर्षदेखि कोषको सम्पर्कमा छैनन् ।
ऋण लिएको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेग्मी वर्ष दिनदेखि सम्पर्कमा छैनन्, कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले भनिन्, अमरज्योतिले २०६९ मंसिरमा ५० लाख रुपैयाँ ऋण लिएको हो । उक्त ऋण कोषले २०७३ असार मसान्तभित्र तिरिसक्नुपर्ने थियो । तर हालसम्म पनि उक्त ऋण चुक्ता भएको छैन् । सहकारीका उपाध्यक्ष जीतबहादुर घर्तीले कोषबाट लिएको ऋण अध्यक्ष रेग्मीले हिनामिना गरेको बताए । उनले भने, अध्यक्षले कोषबाट लिएको ऋण मात्रै होइन, शेयर सदस्यले बचत गरेको रकम पनि हिनामिना गरेर सम्पर्कमा छैनन । कोषले सहकारीलाई कालो सुचिमा राखेर सूचना प्रकाशित गरेको छ ।
कोषको रकम सबै अध्यक्षले झ्वाम पारे
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ गुमीका प्रेमा घर्ती, दिलसरी पुन र मनमाया पुनलाई अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले १० वर्षअघि २०६९ चैतमा सामूहिक कुखुरा पालनका लागि भन्दै ब्रोइलरका २ सय चल्ला किनेर दियो । चल्ला दिँदा दाना पनि उपलब्ध गराउने, औषधि उपचारसँगै हुर्किएका कुखुरा बिक्रीको ग्यारेन्टी पनि लिने भनियो । तर किसानहरुलाई दाना र औषधि नदिँदा कुखुराका चल्ला मर्न थाले । बचेका केही चल्ला उनीहरूले सहकारीका उपाध्यक्ष जितबहादुर घर्तीको जिम्मा लगाए ।
स्थानिय किसान दिलसरीले भनिन्, सहकारीका अध्यक्ष रेग्मीले चल्ला दिँदा दाना र औषधि उपचार गरिदिन्छौं भनेका थिए । कुखुरा हुर्किएपछि आफैं खरिद गर्ने समेत बताए । तर हामीलाई दाना र औषधि समेत नदिएपछि कुखुरा मर्न थाले । मरेर सबै सकिने भएपछि बाँचेका १ सय ५० जति कुखुरा उपाध्यक्षलाई फर्कायौँ । त्यसको सात वर्षपछि २०७६ भदौमा सहकारीका अध्यक्ष खड्कबहादुर रेग्मी गाउँ फर्किए । उनले चल्ला लिएकाहरूलाई साँवा र ब्याज बुझाउन ताकेता गरे । सरकारको पैसा हो, तिरेनौं भने सबैलाई जेल पठाउँछु भनेर धम्की पनि दिए । बाध्य भएर लिँदै नलिएको पैसाको साँवा र ब्याज तिर्न बाध्य भयौ ं। प्रेमा, दिलसरी र मनमायाले २ सय वटा चल्ला बापत साँवा १ लाख ३ हजार १ सय २५ रूपैयाँ तिरे । झण्डै ६ वर्ष ६ महिनाको ब्याज बापत १२ हजार ३ सय २५ रूपैयाँ अध्यक्षलाई बुझाए ।
जति बेला ब्रोइलर कुखुराको प्रति चल्ला २५ रूपैयाँ पथ्र्यो । स्थानिय किसान मनमाया पुनले भनिन्, एक महिना पालेर १ सय ५० चल्ला फिर्ता गर्दा पनि हामीबाट साँवा र ब्याजसहित सहकारीका अध्यक्ष रेग्मीले १ लाख १५ हजार ४५० रूपैयाँ असुले । रेग्मीले कुखुराका चल्ला दिँदा गाउँलेबाट जमिनको लाजपुर्जा पनि लिएका थिए । साँवाब्याज चुक्त गरिसक्दा पनि गाउँलेले लालपुर्जा पाएका छैनन् । अहिले फेरी कोषले उक्त सहकारीले लिएको ऋण तिरेको छैन् भनेर भन्दा उनीहरु आचार्यचकित छन् । कुखुरा दिँदा सहकारीले जग्गाको पुर्जा लिएको थियो । पैसा नदिए बैंकले जग्गा लिलाम गर्ने धम्की दियो । अध्यक्ष रेग्मीले ऋण असुल गर्दा युवा स्वरोजगार कोषमार्फत रकम प्राप्त नगर्दै लगानी गरेको भरपाई बनाएका रहेछन् । घरघर आएर तपाईंको साँवाब्याज तिर्नुहोस्, नभए बैंकले जग्गा लिलामी गर्छ भन्दै धम्की दिए । स्थानिय किसान प्रेमाले भनिन्, हामीले पैसा देख्नै नपाएर ऋण बुझाँयौँ । ब्रोइलर चल्ला लिएका थियौं, डर र धम्कीले भनेजति रकम ऋण सापट गरेर फिर्ता गरियो । कति सदस्यहरुले त मासिक रूपमा सहकारीमा जम्मा गरेको रकम पनि पाएका छैनन् । पैसा असुल गरेर अध्यक्ष सम्पर्कविहीन भएपछि सदस्यहरुले बचत गरेको रकम पनि पाएनन् ।
सहकारीका अध्यक्ष रेग्मीले ३८ जनाबाट कुखुरापालन, खुद्रा पसल, बंगुरपालन, भैंसीपालन तथा साना उद्योगमा लगानी गरेको भन्दै ३० लाख ५२ हजार ३ सय २८ साँवा र २० लाख ९८ हजार १९३ ब्याज गरी ५१ लाख ५० हजार ५ सय २१ रूपैयाँ असुल गरिसकेका छन् । सहकारीले १० वर्षअघि युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट तीन किस्ता गरेर ५० लाख रूपैयाँ ऋण ल्याएको थियो । सुरुको र दोस्रो किस्ता आउँदासम्म कृषकहरूलाई नगदै नदिए पनि कुखुरा र बंगुरका चल्लाहरू सहकारीले दिएको थियो । स्थानीय जसबहादुर सुनारले भने, तेस्रो किस्ताबापतको २० लाख रूपैयाँ लिएदेखि अध्यक्ष सम्पर्कमा आएनन् । अध्यक्ष रेग्मीले संस्थाका सेयर सदस्यका नाममा नक्कली हस्ताक्षर गरेर पनि कोषको रकम हिनामिना गरेका छन् ।
सहकारीका उपाध्यक्ष घर्तीका अनुसार सेयर सदस्य दलबहादुर खड्का, कल्पना सुनार, हरिमाया पुन, प्रेमबहादुर गुरुङ, डम्बरबहादुर घर्ती र रेशमबहादुर नेपालीका नाममा नक्कली हस्ताक्षर र तमसुक बनाएर ५ लाख ८२ हजार १ सय ३५ रूपैयाँ निकासा गरेका थिए । उनले भने, अध्यक्ष रेग्मीले कृषकहरूबाट उठाएको र कोषबाट ऋण ल्याएको सहित ९४ लाख ८१ हजार २ सय ५५ रूपैयाँ सहकारीबाट लिएका छन् । कोषबाट लिएको ऋण तिर्ने सर्तमा हामीले कृषकहरूबाट उठेको साँवा र ब्याजसहित सहकारीमा रहेको रकम पनि अध्यक्षको जिम्मा लगाएका हौँ । तर अध्यक्षले कोषको साँवा र ब्याज नतिर्दा सहकारीलाई कालोसूचीमा मात्रै राखिएन, सहकारीका पदाधिकारी र सेयरधनी सदस्यहरूको जमिन लिलाम हुने अवस्थामा पुगेको छ ।
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिकाको मुलपानी कृषि तथा पशुपालन सहकारी संस्थाले पनि सोही वर्ष कोषबाट ४० लाख रुपैयाँ ऋण लिएको थियो । चार वर्षभित्र उसले कोषबाट लिएको ऋणको सावाँ र ब्याज चुक्ता गरिसक्नुपर्ने थियो । तर सहकारीका पदाधिकारीहरुले उद्देश्यविपरित कोषबाट लिएको ऋण आफैले खर्च गरेर हालसम्म पनि ऋण फिर्ता गरेका छैनन् । कोषले पटक पटक सावा र ब्याज चुक्ता गर्न ताकेता गरेको छ । यस्तै चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीलाई कालोसुचिमा राखेर ऋण लिँदा राखिएको अचल सम्पत्तिबाट असुल–उपर गर्ने प्रक्रिया सुरु गरेको छ । कोषका अनुसार चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीले ४० लाख रुपैयाँ ऋण लिएको छ । उसले कोषलाई २२ लाख २७ हजार ९ सय ५९ रुपैयाँ तिर्न बाँकी छ । कोषले १० वर्ष पुगेका ऋणीहरुको अचल सम्पत्तिबाट असुल गर्नका लागि सुचना जारी गरेको छ ।
कर्णालीका ३६ सहकारीले तिरेनन् कोषको रकम
युवा स्वरोजगार कोषको ऋण लिएर फिर्ता नगर्ने कर्णालीका ३६ वटा सहकारी छन् । कोषका सूचना अधिकारी सुर्यप्रकाश तिवारीका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा कोषले ऋण लगानी गरेका ३ सय १५ सहकारीमा १ अरब १० करोड ४१ लाख २० हजार लगानी गरेको छ । जसमध्य ३६ वटा सहकारीहरुले कोषबाट लिएको करोडौँ रकम हिनामिना गरेर समयमै फिर्ता गरेका छैनन् । उनीहरु सबैको तिर्ने भाका नाघेर ताकेता गर्दा पनि ऋण असुलि भएको छैन् । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित घरेलु उद्योग सहकारी संस्था, वडा नं. ६ स्थित नागरिक सहकारी संस्था, वडा नं. १७ स्थितआदर्श ग्रामिण बहुउद्देश्य सहकारी संस्था, बराहताल गाँउपालिका वडा नंं ५ स्थित सोधखोला बचत तथा ऋण सहकारी संस्था, चिंङगाड गाँउपालिका वडा नंं ४ स्थित मालिका कृषि तथा पशुपालन सहकारी संस्थाले कोषको रकम फिर्ता गरेका छैनन् ।
यस्तै दैलेखको भैरबी गाँउपालिका वडा नं. ६ स्थित उज्यालो साना किसान कृषि सहकारी संस्था, वडा नं. ८ स्थित चन्द्रसुर्य सामाजिक कृषि बहुमुखी सहकारी संस्था, नारायण नगरपालिका वडा नंं १ स्थित शुभकामना बहुउद्देश्य सहकारी संस्थाले युवा स्वरोजगार कोषको रकम फिर्ता गरेका छैनन् । यस्तै कालिकोटको तिलागुफा नगरपालिका वडा नंं ४ स्थित लालिगुराँश कृषि सहकारी संस्था, खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित रातो गुराँश बचत तथा ऋण सहकारी संस्था, ग्रामिण पर्यटन व्यवसायी सहकारी संस्था, कर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाले कोषको रकम हिनामिना गरेका छन् ।
यस्तै जाजरकोटका शिवालय गाँउपालिका वडा नं. ६ स्थित बिहानी बहुउद्देश्य सहकारी संस्था, वडा नं. १ स्थित संगम बचत तथा ऋण सहकारी संस्था, भेरी गाँगा नगरपालिका वडा नं ४ स्थित धनबन्तरी जडिबुटी सहकारी संस्था, कस्तुरी बहुउद्देश्य सहकारी संस्था, वडा नं. ३ स्थित कुशे घरेलु सहकारी संस्था, वडा नं. १३ स्थित जनजागरण बहुउद्देश्य सहकारी संस्था, नलगाड नगरपालिका वडा नं. ५ स्थित पञ्चाशे बहुउद्देश्य सहकारी संस्थाले कोषको रकम तिरेका छैनन् । यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नंं १ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था, बलिदान जनकृषि सहकारी संस्था, चौरजहारी नगरपालिका वडा नं. ३ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था, त्रिवेणी गाँउपालिका वडा नं. ६ स्थित लालीगुराश कृषि सहकारी संस्था, उत्तरगंगा गाँउपालिका वडा नंं २ स्थित जङगला उपभोक्ता सहकारी संस्था, सानी भेरी गाँउपालिका वडा नं. ११ स्थित सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले कोषको रकम फिर्ता गरेका छैनन् ।
यस्तै मुगुको सोरु गाँउपालिका वडा नंं ३ स्थित अनन्त जडिबुटी उत्पादन संकलन प्रसोधन सहकारी संस्था, वडा नंं १० स्थित दहलेख जडिबुटी उत्पादन तथा प्रसोधन सहकारी संस्था, खत्याड गाँउपालिका वडा नंं ७ स्थित युवा जागरण जडिबुटी सहकारी संस्था, वडा नंं ९ स्थित नवज्योती जडिबुटी सहकारी संस्था, वडा नंं ११ स्थित जगतमाता जडिबुटी सहकारी संस्थाले कोषको रकम तिरेका छैनन् । यस्तै डोल्पा जिल्लाको ठुलो भेरी नगरपालिका वडा नंं ३ स्थित डोल्पो हिमालयन बचत तथा ऋण सहकारी संस्था, वडा नं. ७ स्थित लेकवेशी कृषि तथा पशुपालन सहकारी संस्था र हुम्ला जिल्लाको सर्केगाड गाँउपालिका वडा नं. ५ स्थित कर्मयोगी बचत तथा ऋण सहकारी संस्थाले युवा स्वरोजगार कोषको रकम हिनामिना गरी फिर्ता गरेका छैनन् । ती ३६ वटै सहकारीहरुको नाममा युवा स्वरोजगार कोषले २०७९ कात्तिक १५ गते र २०७९ फागुन १६ गते गरी दुई पटक छापामा नाम प्रकाशीत गरी रकम तिर्न ताकेता लगाएको थियो ।