Loading... आजः ३ असार २०८१, आईतवार

आउँदो मनसुनमा कम वर्षा हुने


काठमाडौं – आउँदो मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने देखिएको छ। यसको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ। यसको असर जलस्रोेत, ऊर्जा, कृषिलगायत क्षेत्रमा देखिन सक्ने विज्ञ बताउँछन्। सम्बन्धित निकायहरूले पूर्वतयारी अपनाउनुपर्ने सुझाव उनीहरूले दिएका छन्।
जेठ १८ देखि असोज १३ सम्म चार महिना अवधिलाई मनसुन भनिन्छ। त्यसबेला औसतभन्दा कम वर्षा हुँदा तापक्रम वृद्धि हुने आकलन गरिएको छ। तराईका जिल्लामा गत अप्रिलमा ४२ डिग्री तापक्रम पुग्दा हिटवेभ सामना गर्नुपरेको थियो। आउँदो मनसुनमा पनि हिटवेभको सामना गर्नुपर्ने हुन सक्ने आकलन विज्ञले गरेका छन्। तर, ठाउँअनुसार फरक–फरक संभावना देखिएका छन्।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार औसतभन्दा कम वर्षा हुँदा मोटामोटी सबै क्षेत्रमा असर गरे पनि कृषिमा धेरै प्रभाव पर्छ। यस आकलनले कम पानीमा कस्ता धान लगाउने अथवा के गर्ने भन्ने विषयमा योजना बनाउन सहयोग हुने उनको भनाइ छ।

‘प्रत्येक दिन होइन चार महिनामा समग्र वर्षा कम हुन्छ भन्ने हो। १५ दिन मज्जाले पानी परेर तीन महिना खडेरी हुन सक्छ’, पौडेलले भने, ‘एक महिना पानी परेर तीन महिना सुक्खा हुन सक्छ।’ पानी कम पर्छ भनेर चुप लागेर बस्ने अवस्था नरहेको उनले बताए।

विश्व मौसम संगठन, अन्तर्राष्ट्रिय मौसममा अनुसन्धान गर्ने वैज्ञानिकले निकालेको आकलनअनुसार नेपालले पनि आकलन गरेको जनाइएको छ। ‘कृषिलगायत विभिन्न क्षेत्र, नीति निर्माणमा काम लागोस् भन्ने हो। मनसुनलाई नजिकबाट नियालेर अपडेट पनि गर्ने छौं। अर्को महिना पुनः विज्ञप्ति निकाल्छौं’, पौडेलले भने।

उनका अनुसार मनसुनमा सरदरमा १५ सय मिलिमिटर पानी मुलुकभरि पर्छ। तर, प्रत्येक जिल्लाअनुसार सरदर निकालिन्छ। उदाहरणका लागि सयलाई औसत वर्षा मान्दा ९० अथवा १ सय १० भए औसत नै मानिने उनको भनाइ छ। तर, ९० भन्दा कम भए औसतभन्दा कम र १ सय १० भन्दा बढी भएको औसतभन्दा बढी मानिन्छ।

वर्षा कम हुँदा, बादल कम लाग्छ। बादल कम भएपछि अधिकतम तापक्रम बढ्छ। मनसुनमा सामान्य वर्षा हुँदा जति तापक्रम हुन्छ। वर्षा नहुँदा जमिन बढी तातिने हुन्छ। त्यसले हिटवेभले समस्या हुन सक्छ।

विभागका अनुसार कर्णाली प्रदेशको प्रायजसो भूभाग, गण्डकीको धेरैजसो भूभाग, सुदूरपश्चिमको मध्य र उत्तरका केही भूभाग, लुम्बिनीका मध्य तथा पश्चिमी भूभाग, कोसीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने संभावना ४५ देखि ५५ प्रतिशत छ। कोसीको पश्चिमी भूभाग, बागमतीका धेरैजसो ठाउँ, लुम्बिनीका केही भाग र सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, बैतडी, बझाङमा सरदरभन्दा थोरै वर्षाको संभावना ३५ देखि ४५ प्रतिशत छ ।

तापक्रम पनि सरदरभन्दा धेरै हुने आकलन छ। सुदूरपश्चिमको पूर्वी, दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पूर्वी, पश्चिमी तथा उत्तरी भाग, गण्डकीको दक्षिणी तथा मध्यभूभाग, बागमतीको मध्य तथा दक्षिणी भूभाग र मधेस प्रदेशको पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने संभावना ४५ देखि ५५ संभावना रहेको छ। अन्य भूभागमा ३५ देखि ४५ प्रतिशत छ।

औसतभन्दा कम वर्षा हुँदा मोटामोटी सबै क्षेत्रमा असर गरे पनि कृषिमा धेरै प्रभाव पर्छ। यस आकलनले कम पानीमा कस्ता धान लगाउने अथवा के गर्ने भन्ने विषयमा योजना बनाउन सहयोग पुग्नेछ।

– वरुण पौडेल, मौसमविद्

विभिन्न सामुद्रिक, भूमण्डलीय र जैविक प्रणालीमा निर्भर हुन्छ। यस आकलन तयार गर्दा नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपहरूको मनसुन सिजनको आकलन, युरोप, एसियामा गत हिउँदमा परेको हिउँ, अन्तर ऋतु परिवर्तनशीलता लगायतको मध्यनजर गरिएको छ।

जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठका अनुसार विभिन्न विश्वव्यापी मोडल हेरेर विश्वासनीय मोडल सेन्टरहरूबाट तथ्यांक केलाएर आकलन गरिन्छ। आकलन गरिएको तथ्यांक निकाल्नुको कारण अनुकूलनका कामलगायत अन्य सन्देश दिन खोजिएको हो। वर्षा कम हुने संभावना नेपालभरि नै छ। नदीनालामा पानी कम हुने, जलस्रोत, ऊर्जा, खानेपानीलगायतका विषयमा ध्यान दिनुपर्ने हुन्छ।

कृषिमा बीउ लगाउँदा सुक्खा सहने खालको लगाउनुपर्ने हुन्छ। लगाइ सकेको बालीलाई जोगाउन कृषि विशेषज्ञको सुझाव लिने, पानी नभए त्यसको विकल्प के हुन्छ ? यस आकलनले यस्ता समस्याको सम्बोधन गर्न सक्नेछ। श्रेष्ठका अनुसार सरदर वर्षा र तापक्रम कम विभिन्न कुरामा निर्भर हुन्छ।

प्रशान्त महासागरको समुद्र तटहको तापक्रममा भर पर्छ। यो परिवर्तनशील हुन्छ। विभिन्न महासागरको समुद्री सतहको तटहमा पनि भर पर्छ। युरोपियन हिमशृंखलामा औसत हिउँ कति छ त्यसले भर पर्छ। माथिल्लो तहको वायुमण्डलमा पनि भर पर्छ। विभिन्न कुरामा भर पर्ने भएकाले कहिलेकाहीँ १ सय प्रतिशत मिल्छ भन्ने होइन। तर, पनि आकलन मिल्दै आएको छ ।

‘तर औसतभन्दा कम वर्षा हुनु भनेको मौसम कमजोर गराउने तत्वहरू सक्रिय हुनु हो। तर, यसै बीचमा पनि एउटा, दुइटा चरम मौसमी घटना हुन सक्छ’, श्रेष्ठले भनिन्, ‘विपद्का संख्या कम होलान। तर, विपद् हुने संभावना हुनसक्छ।’

सरदरभन्दा कम पानी पर्नुलाई जलवायु परिवर्तनको असर भन्न नमिल्ने श्रेष्ठले बताइन्। मनसुनमा हरेक वर्ष एउटै कहिल्यै हुँदैन। कहिले सरदरभन्दा बढी र कम हुन्छ। मौसमको आन्तरिक परिवर्तनशीला (इन्टरनल भेरीबिलिटी) का कारण भएको हो। तर, औसत नै परिवर्तन भयो भने चाहिँ जलवायु परिवर्तनको असर भन्न मिल्ने जनाइन्। उनले थपिन्, ‘मनसुनको सुरु हुने र अन्त्य हुने समय फरक भएको छ। त्यो कुरा जलवायु परिवर्तनको संकेत हुनसक्छ। तर, अध्ययन गरेरै मात्रै भन्न सकिन्छ।’

मनसुनमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी पर्छ। अहिले संसारभरमा (बारम्बारता) फ्रिक्वेन्सी र इन्टेनसिटी (क्षति बढी गर्ने खालको) वर्षा हुने गरेको पनि उनले जनाइन्।