Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

महावै गाउँपालिका पुर्णखोप सुनिश्चितता दिगोपना घोषित


कालिकोट – कालिकोट जिल्लाको महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो ।
घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन् । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ सेवा व्यवस्थापक कटक महत, गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले संयुक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरेका हुन् । पालिकामा १ देखि ७ वटै वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरुले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको महावै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नन्दी शाहीले बताईन् । उनका अनुसार, अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ ।
महाँवै गाउँपालिका, जिल्ला अस्पतालले अनुगमन गर्दा गाँउपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको शाहीको भनाइ छ । सामुदायिक बिद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको समेत उनले बताईन् । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।
उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरु बताउछन् । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ । खोप लगाउनु अनिवार्य हो । स्वस्थ समाज बनाउन खोप अनिवार्य छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याईएको बताए । स्वास्थ्य सेवा कार्यालले खोप उपलब्ध गराउदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोहि पनि बालबालिका बाहिर नरहेको उनले बताए । महावै विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहे पनि स्वास्थ्यकर्मीहरूले जिल्लाकै पहिलो पुर्णखोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको छ ।