Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

कर्णालीमा किशोरी गर्भवती बढे

सुर्खेत – कर्णाली प्रदेशमा किशोरी गर्भवतीको संख्या बढेको छ । २० वर्षभन्दा कम उमेरमै गर्भवती बनने किशोरी बढेका हुन् । प्रजनन स्वास्थ्यको दृष्टिले सानै उमेरमा गर्भवतीहुनु जोखिम मानिन्छ, तर कर्णालीमा भने सानै उमेरमा गर्भवती हुनेको संख्या बढ्दै गएको पाईन्छ ।

नेपाल पारिवारीक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार कर्णालीमा किशोरी गर्भवतीको संख्या १६ प्रतिशतबाट बढेर २१ प्रतिशत पुगेको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समुहका २१ प्रतिशत किशोरी गर्भवती हुनेगरेको तथ्याँकमा उल्लेख छ । तर २०१६ को सर्वेक्षण अनुसार कर्णालीमा १५ देखि १९ वर्ष उमेर समुहका १६ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेका थिए । राष्ट्रिय रुपमा हेर्दा कम उमेरमै गर्भवती हुनेको संख्या देशभर १४ प्रतिशत रहेको छ ।

नेपाल पारिवारीक स्वास्थ्य सर्वेक्षण २०१६ मा भने देशभर १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुनेगरेको तथ्यांक थियो । यसरी हेर्दा राष्ट्रिय स्तरमा कम उमेरमा गर्भवती हुनेको प्रतिशतमा केही सकारात्मक सुधार देखिएपनि कर्णालीको तथ्यांक चिन्ताजनक छ । सानै उमेरमा बिहे गर्ने र सानै उमेरमा गर्भवती भई बच्चा जन्माउनेको संख्या बढ्दै गएकाले २० वर्ष पूरा भइसकेपछि मात्र बिहे गर्दा उपयुक्त हुन्छ । नेपालमा मातृमृत्युको कारण समेत सानै उमेरमा बिहे गरी बच्चा जन्माउनपुग्नु हो । यसको असर कर्णालीमा झन धेरै छ ।

समस्याको जड बालविवाह २०७४ भदौदेखि लागू भएको मुलुकी देवानीसंहिताको दफा ७० को (घ) मा विवाहका लागि केटा र केटिको उमेर २० वर्ष पूरा हुनुपर्ने कानूनी व्यवस्था छ । तर कानुन विपरीत बाल विवाह गर्नु, परिवार नियोजनका अस्थायी साधनको सही प्रयोग नगर्नु, यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु पनि किशोरी अवस्थामा गर्भवती हुनु र सन्तान जन्माउनु प्रमुख कारण बनेको छन् । सानै उमेरमा बिहे गरेकै कारण जुम्ला तातोपानी–४ की पार्वती कामीले आठ कक्षामै पढाई छाड्न पर्यो । १४ वर्षकै उमेरमा विवाह गरेकी उनले पढाइलाई त निरन्तरता दिन सकिनन् तर स्वास्थ्य पनि कमजोर बनेको बताउँछिन् । जुम्लाबाट एसएलसी पास गर्ने पहिलो दलित महिला चल्लि कामीको समेत विहेपछि उच्च शिक्षा पढ्ने सपना अधुरै रह्यो । माध्यामिक तह पढ्दै गर्दा विवाह गरेकै कारण वर्षेनी कर्णालीका हजारौ किशारीको उच्च शिक्षा अध्ययन गर्ने सपना पनि अधुरै रहने गरेको छ ।

गरिबि र सामाजिक संस्कारका कारण सानैमा विहे गर्ने र पछि पछुताउने किशोरीको पीडा नत आफन्तले सुन्छन् । नत श्रीमानले नै । सुर्खेत वीरेन्द्रनगर—१० की मनिसा कठायतले भनिन्, ‘मेरो उमेरका अधिकांश किशोरीले पढ्दै गर्दा विहे गरिन्, पछि घरधन्दा चलाउँदै बालबच्चा स्याहार्नु परेपछि पढाइ नै रोकियो ।’ उनीजस्तै हतारमा विवाह गर्ने अधिकांश किशोरीको पीडा उस्तै छ । अधिकारकर्मी लक्ष्मीकन्या बुढाले विहेपछि पनि किशोरीलाई सहजै पढ्न पाउने बातावरण सृर्जना गर्न आवाश्यक रहेको बताइन् । यता कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बालविवाह न्युनिकरण गर्नुका साथै हतारमा विवाह गरेर पढाइ रोकेका गरिब तथा विपन्न किशोरीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउन आवाश्यक कार्यक्रम लागुगरेको छ । तर अवस्था सुधारोन्मुख छैन । समस्या समाधानको बाटो अशिक्षा, गरिबीका कारण सानै उमेरमा विवाह गरी सन्तान जन्माउँदा महिलामाथि विभिन्न रोग सिर्जना हुने गरेको चिकित्सकहरु बताउछन् ।

कम उमेरमै गर्भवती हुने र योजना नबनाई बच्चा जन्माउँदा किशोर किशोरीको भविष्य अन्धकारतिर धकेलिने गरेको छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउदा कर्णालीका किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत शारीरिक र मानसिक अवस्था समेत कमजोर बन्दै गरेको पाइन्छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत बरिष्ठ नर्सिङ अधिकृत दिपा भट्टराईका अनुसार कम उमेरमा बिहे गरी बच्चा जन्माउँदा आमा र बच्चा दुबैको स्वास्थ्यमा असरपर्ने बताईन् । उनका अनुसार कम उमेरमा बिहे गरी बच्चा जन्माउदाँ रक्तश्राप हुने, तौल नपुगेको वा समय अघि नै बच्चा जन्मिने र गर्भपतन हुने संभावना उच्च रहन्छ । भने महिलाको प्रजनन स्वास्थ्यमा समेत असर पर्ने संभावना हुन्छ । ‘सानै उमेरमा बच्चा जन्माउँदा पाठेघर परिपक्व हुदैन’ उनले भनिन्, ‘यस्तो अवस्थामा गर्भवती तथा सुत्केरी हुँदा आमा र बच्चा दुवैकोे स्वास्थ्य जोखिम हुनसक्छ ।’

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले किशोरी गर्भवती संख्या घटाउन तथा गर्भवती भईहालेमा आउने समस्याबाट जोगिन मन्त्रालयले सबै स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम गरिरहेको बताए । उनका अनुसार किशोरीहरुलाई तालिम, परिवार नियोजनका साधानहरु सहज रुपमा उपलब्ध, सुरक्षित गर्भपतन सेवा लगाएतका जनचेतनामुलक कार्यक्रम भइरहेका छन् ।