जसले कृत्रिम खुट्टाका भरमा चढे सगरमाथा
काठमाडौं – रोल्पाका हरि बुढा मगरले सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनी जति बेला ब्रिटिस सेनामा कार्यरत थिए। उनै पूर्वब्रिटिस गोर्खा सैनिक मगरले त्यसको करिब १३ वर्षपछि कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।
उनले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथा चुचुरोमा पाइला टेकेका थिए। त्यससँगै उनी सगरमाथा चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्न सफल भएका हुन्। मगरले (प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले आरोहण गरेका हुन्। उनलाई झन्डै पाँच वर्षको प्रयासपछि सफलता मिलेको हो।
शारीरिक अशक्तता भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै साथीहरूमा जगाउन सगरमाथाको सफल आरोहण महत्वपूर्ण रहेको उनले बताए। ‘मेरो परिवार, मेरा सहयोगी साथीहरू र धेरै जनताको साथबिना सगरमाथा आरोहण गर्न सम्भव थिएन’, उनले भने।
रोल्पाको थबाङ गाउँपालिका मिरुल घर भएका मगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। उनले लडाइँमा दुवै खु्ट्टा गुमाएपछि दुई वर्ष मानसिक तनावमा बिताए। ‘परिवार र साथीहरूको प्रेरणाले कमजोर भएर बस्नु हुन्न भन्ने मनोबल बढ्यो र विस्तारै खेलमा हात हालें। त्यसले आत्मबल दियो’, उनले सगरमाथा आरोहणमा जानुपूर्व भनेका थिए, ‘धेरै समय खेल र साहसिक खेलमा बिताएपछि, यदि समय र परिस्थितिसँग अंकमाल गर्न सकियो भने असम्भव केही रहेनछ भन्ने थाहा पाएँ।’
उनले बेलायती सेनामा भर्ना हुनुअघि नै सगरमाथा आरोहण गर्ने सपना पालेका थिए। बल्ल आफ्नो सपना साकार पारेका उनी सगरमाथा चुचुरोमा पुगेपछि खुसीले चिच्याए। उनले भनेका थिए, ‘हामी सफल भयौं।’ उनले यसअघि मोन्ट ब्लांङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर)लगायत हिमाल आरोहण गरेका थिए। साथै सगरमाथा आधारशिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ (घोडा माथिबाट दुवै अंगविच्छेदन) को रेकर्ड उनको नाममा छ।
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सन् १९५३ मेमा विश्वको अग्लो चुचुरोमा पुगेका थिए। त्यसपछि ७० वर्षपछि मगर र उनको टोलीले सगरमाथा आरोहण गरेको हो। शेर्पा र हिलारीले सगरमाथा चढेका बेला बेलायती महारानी एलिजावेथ द्वितीयको राज्यरोहण चलिरहेको थियो। यसपटक राजा चाल्र्स तृतीयको राज्यरोहणकै महिनामा मगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।
‘मैले पहिलो पटक २०१८ (सन्) मा यो आरोहणको योजना बनाएको थिएँ। तर, सगरमाथाको पहिलो आरोहणको ७०औं वार्षिकोत्सव मनाउन पाउँदा अलिक बढी विशेष लाग्छ’, उनले भने।
जसले पाँच वर्षअघि नै सगरमाथा चढ्ने योजना बनाए पनि कानुन बाधक बनेको थियो। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ (२क)मा पर्वतारोहणको अनुमति नदिइने व्यवस्था छ। २क (ग) मा लेखिएको छ, ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्ने।’
संविधानको धारा १८ (२) मा अपांगता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने व्यवस्था भएकाले त्यहीअनुरूप अदालतले मार्गप्रशस्त गरेपछि उनी सगरमाथा आरोहणमा लागेका थिए।
मगरले अबको अधिकांश समय नेपालमा बिताउने योजना बनाएका छन्। नेपालमा अपांगता सचेतना र आर्थिक विकासको क्षेत्रमा योगदान गर्ने उनले सुनाए। ‘यो मेरो सफलता विश्वभरका अपांगता भएका व्यक्तिको सफलता हो। नेपालको सपना हो’, उनले भने, ‘नेपाल आमाको काखमा हुर्केको मैले जवानी वेलायतको लागि व्यतित गरेँ। अब अलिक धेरै नेपाल आमाको सेवामा लाग्ने योजना छ।’ उनले आरोहणमा सहयोग गर्ने बेलायत सरकार, नेपाल सरकार, विश्वभरका दाता, आफन्त शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन्।
रोल्पाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिएका उनी उनी गोर्खा वेलफेयर ट्रस्टका सद्भावना राजदूतसमेत हुन्। सन् १९६९ मा स्थापित ट्रस्टले गोर्खा भेट्रान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायलाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ। जन्मथलो मिरुल, रोल्पा जिल्ला र साविक राप्ती अञ्चल केन्द्रित कार्यक्रममा व्यक्तिगत रूपमै सञ्चालन गर्दै आएका उनी नेपालको ठूलो व्यावसायिक समूहमा पर्ने गोरखा गु्रपसँग पनि आबद्ध छन्।
मगरको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा ‘एक्सपिडिसन लिडर’का रूपमा छन्। थापाले ब्रिटिसको स्पेसल यअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए।
ई-कर्णाली खबर
१० जेष्ठ २०८०, बुधबार ०१:१४