कर्णालीमा मनाईयो रोपाई दिवस

सुर्खेत – कर्णालीका दश वटै जिल्लाहरुमा बिभिन्न कार्यक्रम गरी असार १५ रोपाई दिवस मनाईएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा किसान महासंघले आयोजना गरेको रोपाई दिवसका अवसरमा रोपाई खेतमै पुगेर नेपाली कांग्रेसका प्रदेश संसदिय दलका नेता एवं पुर्व मुख्यमन्त्री जीबनबहादुर शाहीले किसानहरुसँगै धान रोपे । रोपाई ड्रेसमा धान रोप्दै कर्णालीमा कृषि क्षेत्रको विकास बीना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । उनले भने, कर्णालीको प्रमूख पेशा कृषि भएकाले यसलाई व्यवसायिक रुपमा अगाडी बढाउनुपर्ने बताए ।
उनले कर्णाली अन्न भण्डार भएपनि धान उत्पादन प्रयाप्त नहुँदा भातमारीको समस्या रहेको बताए । कर्णालीमा भोकमारी भनेर गलत प्रचार गरिन्छ । यहाँ भोकमारी हैन । धान उत्पादन कम हुने भएकाले भात खानका लागि चामल खरिद गर्नु परेको हो । अब यहाँको धान खेती हुने सबै जमीनमा प्रयाप्त धान खेति गरी उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए । यस्तै कृषि मन्त्रालयले आयोजना गरेको रोपाई दिवसमै सहभागी बनेकी प्रदेश सरकारकी जलश्रोत तथा उर्जा विकास मन्त्रालयका मन्त्री उर्मिला विश्वकर्माले असारमा मानु छरेर मुरी उत्पादन गर्ने समय भएकाले सबैले खेतिपातीमा सक्रिय हुन आग्रह गरिन् । उनले कर्णालीले बहुआयामिक कृषि खेतीलाई व्यवसायीक र आधुनिकिकरण गर्दा यहाँको जीबनस्तर उकास्न सहयोग पुग्ने बताईन् ।
कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, दैलेख, जाजरकोट, रुकुम, सल्यान, जाजरकोटमा पनि कृषि विकास कार्यालयको आयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरी रोपाई दिवस मनाईएको छ । रोपाई दिवसका अवसरमा किसानसँगै खेतमा हिलो खेल्ने र कृषि खेती प्रति उत्साह थप्न रोपाई दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय कालिकोटका प्रमूख बालाराम देवकोटाले बताए ।
कर्णालीमा ३९ प्रतिशत धान रोपाई सकियो
कर्णालीमा असरको दोस्रो सातासम्म ३९ प्रतिशत रोपाई सकिएको छ । प्राय हरेक बर्षहरुमा असार दोस्रो सातासम्म ७० प्रतिशत रोपाई गरिने कर्णालमिा यस बर्ष समयमै बर्षा नहँदा खडेरीका कारण रोपाई ढिलो भएको हो ।
कृषि विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तिलक पाण्डेका अनुसार कर्णालीमा असार दोस्रो सातासम्म ३९ दशमलव २५ प्रतिशत रोपाई सकिएको छ । उनका अनुसार जिल्ला अनुसार सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमीनमा धान रोपाई हुँदै आएकोमा हालसम्म ७ सय ६२ हेक्टर जमीनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमीनको ५ प्रतिशत मात्र हो । बाँकी ९५ प्रतिशत खेतमा धान रोपाई हुन बाँकी छ । यस्तै दैलेखमा कुल धान खेती हुने जमीन ८ हजार ५ सय १२ हेक्टर मध्य हालसम्म ६ सय २७ हेक्टरमा रोपाई सकिएको छ । धान खेती हुने जम्ममा ३ हजार ४८ हेक्टर जमीनमा ९ सय ७५ हेक्टरमा रोपाई सकिएको छ ।
यस्तै जाजरकोटमा धान खेती हुने जम्मा ३ हजार ६५ हेक्टर जमीनमा ६ सय १३ हेक्टर जमीनमा धान खेती सकिएको छ । सल्यानमा कुल ७ हजार ७२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ४ सय ७५ हेक्टर जमीनमा धान रोपाई सकिएको छ । हिमाली जिल्ला डोल्पामा जम्मा २ सय ७६ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म २ सय ७ हेक्टर जमीनमा रोपाई सकिएको छ । यस्तै मुगुमा कुल ९ सय २१ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म ३ सय ६८ हेक्टर जमीनमा धान रोपाई सकिएको छ । जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ५ सय ७ हेक्टर जमीनमा रोपाई सकिएको छ । यस्तै कालिकोटमा जम्मा ३ हजार १९ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार हेक्टर जमीनमा रोपाई सकिएको छ । यस्तै हुम्लामा १ हजार २ सय ८४ हेक्टर जमीनमा धान खेती हुँदै आएकोमा हालसम्म ७ सय ३४ हेक्टर जमीनमा रोपाई सकिएको छ ।
यस्तै कर्णालीका दश वटै जिल्लाहरुमा प्रतिशतका आधारमा सुर्खेतमा ५, दैलेखमा ७, जाजरकोटमा २०, रुकुममा ३२, सल्यानमा ३५, हिमाली जिल्ला डोल्पामा ७५, हुम्लामा ५७, मुगुमा ४०, जुम्लामा ८५, कालिकोटमा ३६ प्रतिशत रोपाई सकिएको छ । धानको उत्पादन वृद्धि हुँदा कूल ग्राह्रथ्य उत्पादनमा टेवा पुग्छ । तर हरेक बर्ष खडेरीका कारण धान उत्पादनमा ह्रास आईरहेको छ । धानको उत्पादन घट्दा आर्थिक स्थिति घट्छ । जसका कारण कर्णालीका हरेक जिल्लामा स्थानिय नागरिकहरु बजारको खाद्यान्न खरिद गर्न बाध्य छन् ।









ई-कर्णाली खबर
१५ असार २०८०, शुक्रबार १०:३८