Loading... आजः ३ जेष्ठ २०८१, बिहीबार

अर्थतन्त्र चलायमान हुने संकेत देखिन थालेका छन् : अर्थमन्त्री

काठमाडौं  – अर्थमन्त्री डा.प्रकाश शरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन्।  मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेको दावी गरेका हुन्।

उनले कुनै पनि मुलुकको अर्थतन्त्र समस्यामुक्त नहुने र त्यसका लागि समाधानको बाटो पहिल्याउँदै जानुपर्ने बताए।  ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ,’उनले भने,’समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’

अर्थमन्त्री महले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा रहेको बताए।  अर्थमन्त्री डा महतले भने, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ । केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं । समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं ।’

राजश्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन नसकेको उनको भनाइ छ। ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी उठाउन सक्छौं,’मन्त्री डा. महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’
उनले आयात कम र आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा लक्ष्यअनुसार भन्सार नउठेको बताए। ‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं ।’
आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतले बताए। क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाइ छ। ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं । यसबाट हामी पछाडि फर्किन सक्दैनौं, उनले भने,‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं ।’

प्रशासनिक खर्च घटाउन लाग्न मन्त्री डा, महतले आग्रह गरे। उनले भने,’‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’