Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

प्रहरी स्रोत भन्छ-नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियोमा सत्यता छैन

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई जोडेर सार्वजनिक भएको अडियोको जाँच रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ । डा. देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धान भइरहेको बेला आफूलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य,तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले आइतबार सार्वजनिक गरेको उजुरी छानविनको प्रगति विवरणमा उक्त अडियो दाङका सन्देश शर्मासँग मिलेको उल्लेख छ । शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसुर मुद्धामा अनुसन्धान भइरहेको छ। प्रहरीले उजुरी छानविनको प्रगति विवरण सार्वजनिक गरेसँगै आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीसँगको बयानमा शर्माले भुटानी शरणार्थी प्रकरणमा डा. राणाको कहिंकतै संलग्न नहरेको बयान दिएका थिए । काठमाडौं जिल्ला अदालतमा समेत शर्माले प्रहरीलाई दिएको बयानलाई निरन्तरता दिएका थिए ।

‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरूले हामीलाई समस्यामा पारिसके निजहरु आएको समयमा हामी तपाईंलाई फोन गछौं, सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनुभयो भने हामी बाच्छौं भनी पहिले नै निजहरुको नाम लिइ पैसा दिएको हो भन्नु भनेको हुँदा निजहरुले भने अनुसार आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिइ मैले रकम बुझाएको हो भन्ने  कुरा गरेको हो,उक्त कुरा वास्तविक होइन,जाहेरवालाले भन्नू भने अनुसार मात्र भनेको हुँ,मैले निजहरुलाई चिनेको छैन,नचिनेको व्यक्तिलाई यति धेरै रकम विना काम दिने कुरै भएन,’सन्देस शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त शर्माले प्रहरीसँग वैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो वैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो ।

डा .देउवाले अडियो सार्वजनिक भएपछि वैशाख २७ गते अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।  डा. देउवाका बारेमा आएको अडियो झुट भएको प्रहरी स्रोतले जनाएको  छ।