Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

रुपान्तरण अभियानले पार्टीलाई वीपीको मार्गमा हिडायाे : कांग्रेस युवा नेता केसी

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियान गुटरहित रहेको बताएका छन् । सोमबार नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा बोल्दै नेता केसीले पार्टीलाई वीपीकै बाटोमा हिडाउँनका लागि आफूहरु लागेको बताए ।
‘रुपान्तरण अभियान कुनै गुुटको होइन । रुपान्तरण अभियान गुुटरहित छ । हामी जहाँ जान्छौँ त्यहाँ जिल्लाका सभापति, प्रदेशका सभापति वडाका सभापतिको सहभागितामा छलफलमा हामी अघि बढिरहेका छौँ ।’ नेता केसीले भने ।
नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने, हरेक २ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा त्यही नगरेर केन्द्रले नै विधान मिचेको आरोप लगाए । साथै रुपान्तरण अभियानकै असर स्वरुप २७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको दाबी गरे ।
‘नेपाली कांग्रेसको विधानले हरेक २ महिनाभित्र नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्छ । तर आज ११ महिना १२ महिनापछि यही रुपान्तरण अभियानले बुढानिलकण्ठ पुगेछ ।’ नेता केसीले भने, ‘२७ गते केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।’
यही अवस्थाले नेपाली कांग्रेस चल्न नसक्ने भन्दै पार्टीलाई विधान अनुसार चलाउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुुपर्ने बताए ।
विभिन्न काण्डमा मुछिएकाहरुलाई कांग्रेसले किन निलम्बन गर्दैन ? भन्दै प्रश्न गरे । साथै पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको नेतृत्व गर्न आग्रह गरे ।
आफूहरुले शुरुबाटै गठबन्धन गलत रहेको बताउँदा पनि नेतृत्वले नमान्दा अहिलेको अवस्था आएको बताए ।