Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

कर्णालीका तीन मन्त्रीको सम्पती बिबरण सार्बजानिक


सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेकपा माओबादी नेतृत्वमा सहभागी भएका नेपाली कांग्रेसबाट मन्त्री बनेका तीनजना मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बीसीले मुन्त्री पदमा नियुक्ति पाएको सय दिन नकट्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कांग्रेसबाट उनीहरू तीनै जना गत वैशाख ७ गते मन्त्री पदमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरणअनुसार कांग्रेसका तीन मन्त्रीमध्ये सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह देखिएका छन् । उनीसँग विभिन्न कम्पनीका दुई लाख मूल्य बराबरका १० वटा मोबाइल छन् । जाजरकोटको बारेकोट गाउँपालिका घर भएका अर्थमन्त्री सिंहसँग सोही गाउँपालिकाको वडा नम्बर ८ मा पुख्र्यौली २ वटा घर, जाजरकोटकै भेरी नगरपालिका–३ मा साढे तीनतलाको पक्की घर छन् । मन्त्री सिंहले बारेकोट–८ मा अंश भागबाट ३ रोपनी जग्गा र बाँकेको कोहलपुर–६ मा १.५ कठ्ठा जग्गा ऋण सापटबाट प्राप्त गरकोे उल्लेख गरेका छन् । उनको चल सम्पत्तिमा २० तोला सुन र १५ तोला चाँदी छ भने सुन विभिन्न स्रोतबाट ५ लाखमा र चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ ।
यस्तै उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबी बैंक सुर्खेतमा सेवा सुविधाबापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उनले धितोपत्र, सेयर वा ऋणपत्र विवरण शीर्षकमा सेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने खुलाएका छैनन् । उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेन्डर गाडी छ भने ३२ लाख पर्ने बोलेरो जिप र २ लाख ५० हजार बराबरको स्कुटर व्यवसायबाट जोडेको देखाएका छन् ।
यस्त दैलेख गुराँस गाउँपालिका–६ घर भएका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले गुराँस गाउँपालिका–६ मा ३ हजार ७ सय ८० वर्ग मिटर क्षेत्रफलमा घर र वीरेन्द्रनगर–१० सुर्खेतमा २ वटाघर रहेको र ती सबै पुख्र्याैली सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग गुराँस गाउँपालिका–६ दैलेखका तीन ठाउँमा, वीरेन्द्रनगर–१० सुर्खेतका दुई स्थानमा जग्गा रहेको र त्यसको स्रोत पनि उनले पैत्रिक सम्पत्ति नै उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा छ । त्यो पनि पैत्रिक सम्पत्ति भएको उनले जनाएका छन् । तीनवटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उनीसँग त्यो भन्दा बढी ऋण रहेको दाबी गरेका छन् । सम्पती बिबरणमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख ऋण लिएको र त्यसमध्ये अहिलेसम्म ११ लाख रुपैयाँ मात्र तिरिएको छ । एनएमबी बैंकबाट पनि उनले २० लाख नै ऋण लिएको उल्लेख गरेका छन् । त्यसमध्ये अहिलेसम्म १ लाख मात्र ऋण तिरेका छन् ।
सुर्खेतको सिम्ता गाउँपालिका–६ घर भएका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलसँग नौ स्थानमा जग्गा छ । पोखरेलसँग सिम्ता–६ मा पैत्रिक सम्पत्तिबाट प्राप्त एउटा घर र सिम्ता गाउँपालिकाका ९ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री पोखरेलसँग २५ तोला सुन र ६० तोला चाँदी छ । सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति भएको उनले उल्लेख गरेका छन् । यस्तै चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति रहेको उनले जनाएका छन् ।
सुर्खेतस्थित लक्ष्मी बैंकमा १ लाख ७० हजार रकम मौज्दात रहेको जानकारी दिँदै मन्त्री पोखरेलले सो रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन् । यस्तै मन्त्री पोखरेलले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेको बताएका छन् । उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टीभी, २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन् । उक्त सामग्री विभिन्न ठाउँबाट खरिद र उपहार आएको उनले उल्लेख गरेका छन् ।