Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

उच्च तहका नेताहरूको सम्पत्ति छानविन गर्न आयोग गठन गर्छौं : कानुनमन्त्री गुरुङ

काठमाडौं –  कानुनमन्त्री धनराज गुरुङले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताएका छन्। वीपी स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा उनले सुशासन स्थापित गर्न उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताए।

‘सुशासन स्थापित गर्ने हो भने उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। नीति तथा कार्यक्रममा उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा लेखिसकेपछि मैले भन्नैपर्छ नेपाल सरकारले ढिला चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन आयोग गठन गरेरै छाडिन्छ,’ उनले भने।

उनले रुपान्तरण यहीँबा सुरु हुने प्रस्ष्टाए। ‘रुपान्तरण व्यक्तिको अनुहारबाट गरिने होइन। रुपान्तरण सिद्धान्त, विचार, व्यवहारबाट गर्न सक्नुपर्छ,’ उनले भने।

उनले नेताहरूको सम्पत्ति छानबिन नगर्ने हो भने आफूहरू पनि उही ड्यांगको मुला सावित हुने बताए। उनले चुनौती दिँदै भने, ‘धनराज गुरुङ र शेखर कोइराला फरक कांग्रेस हो भने हामीले भन्नैपर्छ पहिले हाम्रो सम्पत्ति छानविन गरेर देखाउ सरकार।’

उनले सरकारले भ्रष्टाचारका ठूल्ठूला फाइलहरू खोल्दै जाने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि मन्त्रीको हैसियतमा भेटेर यो कुरा सुझाव दिएको उनको भनाइ छ।

‘एउटा मन्त्रीको हैसियतमा प्रधानमन्त्रीजीलाई अघि बढ्नुस् भनेको छु। एउटा पछि अर्को फाइल खोल्दै जाने हो। जो जो पर्छन् पर्छन्। कांग्रेस, एमाले, माओवादी को को पर्छन् मलाई थाहा छैन। तर एकपछि अर्को गरी फाइल खोल्ने हो? ठोक्दै जाने हो। भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर भनेको छु,’ उनले भने।

उनले यसका निम्ति आफू मन्त्री पद छाड्न पनि तयार रहेको बताए। ‘साथीहरूले भन्नुहोला कतै यो ढलपल गर्‍यो कि। तर मे ज थिएँ मन्त्री हुँदा पनि त्यही छु। मन्त्री पद छाड्न परे छाडौंला। तर आफ्नो निष्ठा छाडिन्न। आफ्नो सिद्धान्त छाडिन्न। विचार छाड्दिनँ,’ उनले भने।