Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल पार्छौं : गृहमन्त्री

 

गोरखा – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा गठबन्धनभित्र,बाहिरबाट आफ्नो राजीनामा माग्नुलाई आफूले आश्चर्य नठान्ने बताएका छन् ।

मंगलबार गृहजिल्ला गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै भ्रष्टाचार विरोधी आफ्नो अभियानमा लाग्नेहरूलाई असफल बनाएर छाड्ने बताएका हुन् ।

‘भ्रष्टाचार विरोधी अभियान सुरु-सुरु अघि बढ्छ भन्ने नठान्नु होला । भ्रष्टाचारीहरूको नेक्सस पनि ठूलै छ । त्यसकारण विभिन्न ढंगबाट यो अभियानलाई रोक्न खोज्नु स्वभाविक छ, तर त्यो अभियानलाई हामी असफल पार्छौं,’उनले भने,’हुनसक्छ कि,हाम्रो पार्टी नै शुद्ध छ भन्ने नै छैन । नेपाली कांग्रेससहित हाम्रो गठबन्धन के शुद्धैशुद्ध छ ? भन्न त सकिन्न नि । तर, मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समिकरणको सरकार भ्रष्टाचारविरुद्ध, सुशासनको अभियान अगाडि बढाउन र संवृद्धिको लक्ष्य हाँसिल गर्न प्रतिवद्ध छौँ ।’

मूल ट्रेनमा कुनै समस्या नभएको भन्दै उनले यताउता जोडिएको हुनसक्ने बताए ।  एकपछि अर्को प्रकरण आइरहँदा पुराना प्रकरण ओझेलमा नपर्ने पनि उनले दावी गरे।

‘नयाँ नयाँ अनुसन्धानमा लाग्दा पुराना अनुसन्धानमा बिराम लाग्यो नभन्ठान्नु होला,’ मन्त्री श्रेष्ठले भने, ‘बिराम लागेको छैन । अनुसन्धान जारी छ । अनुसन्धानले तथ्य खोज्दै जान्छ, जहाँसम्म पुग्नुपर्छ पुगेरै छाड्छ । ठूलो होस् कि सानो होस् हामीलाई मतलब छैन । दोषी छ, अपराध गरेको तथ्य प्रमाण पुग्छ भने कानूनी दायरामा आउँछ । जरैसम्म, यसको नेक्सससम्म पुग्ने निर्देशन दिएका छौँ । त्यसका आधारमा सबैलाई कारबाहीको आधारमा ल्याइन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण तथा सय किलो सुन प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको उनको भनाइ छ।  ‘फलाना पात्र पनि संलग्न होलान्, फलानालाई पनि पक्राउ गर्दिए त हुन्थ्यो नि भनेर कसैलाई लागेको होला’, उनले भने, ‘तर प्रहरी प्रशासनले अनुसन्धान गर्दा धेरै मान्छेले यस्तो कुरा भनेका छन् भनेकै आधारमा, कसैलाई लागेकै आधारमा पक्राउ त गर्दैन नि । अनुसन्धानले जे तथ्य प्रमाण भेट्छ, त्यसकै आधारमा अघि बढ्नु पर्‍यो ।’

प्रहरी अहिले गम्भीर अनुसन्धानमा रहेको उनले बताए । ‘एयरपोर्टको सबै निकायहरूलाई समन्वय गरेर नयाँ ढंगले सुरक्षा व्यवस्था मिलाउँदैछौँ । प्रारम्भिक कक्षमा कहीँ पनि लगेजको  स्क्रिनिङमा होस् वा कार्गोको स्क्रिनिङमा होस्, प्रहरीको उपस्थिति नै नहुने जुन अहिलेको अवस्था छ, त्यसलाई परिवर्तन गरेर त्यहाँ प्रहरीको उपस्थिति गराउने र अरुको हकमा चाहिँ प्रविधिसहित नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ,’ उनले भने ।